सुर्खेत
सरकारले वरिष्ठ चिकित्सक डा गोविन्द केसीको स्वास्थ्य अवस्थामा बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघ आन्दोलित भएको छ । चिकित्सा क्षेत्र सुधारका लागि अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रिदै जाँदा पनि सरकारले अस्पतालमा उपचार समेत गर्न नदिएको भन्दै संघले कर्णाली जुम्ला सडकमा अर्धनग्न जुलुस निकालेर विरोध प्रर्दशन गरेको हो ।
चिकित्सा क्षेत्रमा देखिएका बेथिति हटाउन र जनताका लागि न्याय गर्ने डा केसीलाई अस्पतालमा उपचार समेत गर्न नदिएको विरोधमा पहिलो दिन अर्धनग्न भएर सडक आन्दोलनमा उत्रेको संघका उपाध्यक्ष डा प्रवीणकुमार गिरीले बताए । उपाध्यक्ष गिरीले भने, “चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका अभियान्ता प्रा डा केसीको जीवन रक्षाका लागि सुविधा सम्पन्न अस्पतालमा स्थानान्तरण गर्न दिएको २४ घण्टे समयसीमा भित्र प्रशासनको कुनैपनि पहल नभएपछि हामी आन्दोलनमा उत्रेका हौँ ।”
उनले आज देखि प्रदेशस्तरका आकस्मिक कक्ष बाहेक सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चिकालीन बन्दका लागि आह्वान गरिएको पनि बताए । यता प्राडा केसीले आफूले राखेका माग सरकारले पूरा नगरे सम्म जीवनमरणको लडाई जारी राख्ने बताएका छन् । नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले जनताका हितमा बोल्ने सच्चा नागरिक माथि दमन र अपमान गरेर सरकारले नेपाली जनता माथि अन्याय गरेको बताए । सरकारले संविधानको मौलिक हक कुण्ठित गरेको औँल्याउँदै उनले डा केसीको मानवअधिकार हरण गरिएको गुनासो गरे ।
चिसो र अँध्यारो ठाउँमा राखिएकाले डा केसीको स्वास्थ्य निकै कमजोर बन्दै गएको मेडिकल डाइरेक्टर डा पूजन रोकायाले बताए । उनका अनुसार डा केसीको मुटुको ढुकढुकी बढ्ने, छाती दुख्ने, रिंगटा लाग्ने, हातखुट्टा बाउँडिने, सुन्निने, टाउको दुख्ने समस्या बढ्दै गएको छ । उनले पर्याप्त स्वास्थ्य सामग्रीको अभावमा डा केसीको स्वास्थ्य अवस्था नाजुक बनेको पनि जानकारी दिए ।
रासस





























प्रतिक्रिया