काठमाडौं
अविरल बर्षाका कारण मुलुकभर गएको बाढी र पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने करोडौको भौतिक क्षती भएको समाचार प्राप्त भएको छ । बाढी र पहिरोका कारण राजधानी जोडिने अधिकांश सडक अवरुद्ध भएका छन् भने देशभरका मुख्य राजमार्ग अवरुद्ध हुंदा हजारौं यात्री बीच बाटोमा नै अलपत्र परेका छन् ।
अबिरल बर्षाका कारण तराईका बिभिन्न क्षेत्र डुवानमा परेका छन् भने मुलुक भरका प्रमुख नदीहरुमा पानीको बहाव अत्याधिक मात्रामा बढेका कारण स्थानीय प्रशासनले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन निर्देशन समेत दिएको छ । अबिरल बर्षापछि आएको बाढीमा परी राजधानीको महादेव खोलाले बगाउदा धर्मस्थलीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रकाश पुर्कुटी रहेका छन् । उनको शवलाई प्रहरीले पोष्टमार्टमका लागि अस्पताल लगेको छ ।
यता अबिरल बर्षाका कारण ५ नम्वर प्रदेशको प्रमुख ब्यापारिक शहर नेपालगन्ज ढुवानमा परेको छ । बाँकेका बिभिन्न भागमा आएको बाढी र पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलाबहादुर बुढा, लोकबहादुर सुनार, रिमादेवी यादव र रन्जित पासीको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।
अविरल वर्षापछि राप्तीपारीको नरैनापुर गाउँपालिकाको सदरमुकाम नेपालगञ्जसँग सम्पर्क टुटेको छ । राप्ती नदीमा बाढी आउन सक्ने संभावनालाई मध्यनगर गर्दै जिल्ला दैवी प्रकोप उद्धार समितिले उद्धार टोली र तयारी खाद्यान्न तयारी अवस्थामा राख्न निर्देशन दिइसकेको छ । राप्ती नदीमा भारतले बनाएको लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र सडक जस्तो बाँधका कारण वर्षेनी डुब्दै आएको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरिसकेको छ ।
रोल्पामा सोमबार बिहान पर्खाल भत्कीदा च्यापिएर १ नाबालक सहित ३ जनाको मृत्यु भएको छ । जिल्लाको रूण्टीगढी गाउँपालीका ५ सैबाङमा अबिरल बर्षा पछी स्थानिय अशोक घर्तीको पर्खाल भत्किएर भान्सा कोठा पुरिदा च्यापिएर मृत्यु भएको हो । यता पर्साको पर्सागढी नगरपालिकास्थित पन्थी नदीमा आएको बाढीले बगाउँदा एक विद्यार्थीको मृत्यु भएको छ । अर्का एक विद्यार्थी बेपत्ता भएका छन् भने पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट, रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पहिरो जाँदा जीप पुरिएको छ । लु १ ख २३४३ नम्बर जीप पहिरोले परेको थियो । समयमै उद्दार भएको कारण मानवीय क्षती भने हुन पाएन ।
त्यस्तै कैलालीमा अबिरल बर्षाको कारण कच्ची घर भत्किएर पुरिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका ९ धनचौरीकी दुथा राना रहेकी छिन । अविरल वर्षासँगै बगेको पहिरोका कारण नुवाकोटको म्यागङ गाउँपालिका–४ साविक किम्ताङ गाउंपालिका ७ को १७ परिवार विस्थापित भएका छन् ।
केही दिनयताको निरन्तर झरी अझै जारी रहने भएको छ । आज मंगलबार मुलुकको पूर्वी र मध्यभेगका तराई र पहाडी क्षेत्रमा मध्यम देखि अध्याधिक भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया