काठमाडौं
सत्तारुढ दल नेकपासँग अचल सम्पत्ती मात्रै कम्तीमा तीन अर्ब रहेको देखिएको छ । तत्कालीन एमाले र माओवादीका नाममा देशभरि रहेको जमिन, भवन, कार्यालय आदिको चलनचल्ती मूल्य तीन अर्ब भन्दा बढी हुने देखिएको हो । नेकपासँग काठमाडौंमा मात्रै करोडौं मूल्यका ५ वटा भवन छन् भने भारतको उत्तमनगरमा समेत एक करोड भन्दा बढी मूल्य पर्ने जग्गा रहेको छ ।
पूर्ववत दुवै पार्टीका नाममा रहेका चल, अचल सम्पत्ति एकीकृत पार्टीको नाममा ल्याउने नेकपाको पहिलो केन्द्रीय समितिको निर्णयका आधारमा अहिले दुवैतर्फका चल,अचल सम्पत्तिको तथ्यांक संकलन गर्ने काम भइरहेको नेकपा केन्द्रीय सदस्य तथा ७ नम्बर प्रदेशका कार्यदल सदस्य कर्ण बहादुर थापाले बताए ।
‘दुवै पार्टीका चल,अचल सम्पत्ति नेकपाको नाममा ल्याउने केन्द्रीय समितिको निर्णयका आधारमा अहिले त्यस्तो सम्पत्तिको लगत संकलनको काम प्रदेशस्तरमा पार्टी एकीकरण गर्न गठित कार्यदलले गरिरहेको छ,’ थापाले भने, ‘त्यस्तो सम्पत्तिको लगत हामीले हाम्रो प्रदेशमा भने करिब करिव सकेका छौं ।’
चलअचल सम्पत्तिको अहिले लगत संकलन गर्ने र तल्लो तहसम्म पार्टी एकता भएसँगै त्यसलाई नेकपाको नाममा स्थानान्तरणको काम हुने उनले बताए । काठमाडौं उपत्यका भित्रै नेकपाका ठूला भवन, कार्यालय र जग्गा रहेका छन् । पेरिसडाँडामा पूर्वमाओवादीको मजदुर संगठनको नाममा रहेको २ रोपनी जग्गामा बनेको दुईवटा भवन, पूर्वएमालेको बल्खुमा नौ रोपनी एक आना जग्गा र त्यसमा रहेको भूकम्पले भत्काएको भवन, पुतलीसडकमा मनमोहन मजदुर भवनको नाममा जिफन्टको कार्यालय रहेको जग्गा र भवन, ललितपुर च्यासलमा तुल्सीलाल स्मृति प्रतिष्ठान भवन र काठमाडौं रानीबारीमा पुष्पलाल प्रतिष्ठानको नाममा रहेको भवन छन् ।
पार्टीको चलअचल सम्पत्तिको लगत राख्ने काममा पूर्वएमाले व्यवस्थित देखिएको छ भने माओवादीको लगत तथ्यांक लथालिंग रहेको पाइएको छ । पूर्वमाओवादीमा जिल्ला तहमा पार्टीका नाममा चलअचल सम्पत्ति के कति छ भन्ने विवरण समेत केन्द्रीय कार्यालयसँग छैन ।
अन्नपूर्णबाट





























प्रतिक्रिया