काठमाडौं
सरकारले राष्ट्रिय धान दिवस मनाउन थालेको १५ वर्ष भयो । हरेक वर्ष असार १५ गते धान दिवस मनाए पनि धान उत्पादन वृद्धि नहुँदा वार्षिक अर्बौं रुपैयाँको चामल आयात हुँदै आएको छ । सरकारले चामल लगायतका खाद्यवस्तु आयात प्रतिस्थापन गरी खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गरे पनि चालू आर्थिक वर्ष ०७४,७५ मा साँढे २४ अर्ब रुपैयाँको चामल आयात भएको छ । गत वैशाख सम्म चीन, भारत, थाइल्यान्ड, जापान, इटली लगायतका मुलुकबाट २४ अर्ब ४९ करोड ८० लाखको चामल आयात भएको भन्सार विभागले जनाएको छ ।
सरकारले कृषि क्षेत्रमा लगानी गरेअनुसार उत्पादन वृद्धि नहुँदा खाद्यान्नमा विदेशीको भर पर्नु परेको हो । यहाँ खपत हुने खाद्यान्न उत्पादन नभएपछि चामल सहित मकै, गहुँ, कोदो, फापर लगायत भान्सामा दैनिक प्रयोग हुने ३६ अर्ब ३४ करोड ८४ लाख रुपैयाँका अनाज आयात भएको छ ।
कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयले धान उत्पादन बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरे पनि प्रतिफल कमजोर छ । मौसमका आधारमा धान कति फल्छ भन्ने निर्धारण हुन्छ । चालू आर्थिक वर्ष ०७४,७५ मा ५१ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएको छ । जुन गत आवको भन्दा ७९ हजार मेट्रिक टन थोरै हो । मौसम राम्रो हुँदा गत आव ०७३,७४ मा ५२ लाख ३० हजार टन धान उत्पादन भएको थियो ।
नेपालको जनसंख्यालाई नौ लाख मेट्रिक टन चामल अपुग छ । पोषणका लागि एक व्यक्तिलाई वार्षिक एक सय ३८ किलो चामल चाहिन्छ । त्यसलाई आधार मान्दा दुई करोड ८९ लाख ८२ हजार सात सय ७१ जनसंख्यालाई वार्षिक ३९ लाख ९९ हजार ६ सय २२ मेट्रिक टन चामल आवश्यक पर्छ । चालू आवमा उत्पादन भएको धानबाट करिब ३० लाख ९० हजार ६ सय मेट्रिक टन मात्र चामल तयार हुन्छ ।
धान उत्पादन वृद्धि नहुँदा आयात बढेको धानविज्ञ बताउँछन् । धान उत्पादनमा मौसमको भर पर्नु पर्ने अवस्था छ । धान रोपण क्षेत्रमा वृद्धि हुन सकेको छैन । सिँचाइ, प्रविधि, मल, बिउको राम्रो व्यवस्था नहुँदा धान उत्पादन अपेक्षित वृद्धि हुन नसकेको हो । उत्पादन बढाउन वैज्ञानिक तरिकाले धान लगाउनु पर्ने धानविज्ञ बताउँछन् । सिँचाइ, प्रविधि, मल, बिउ र विज्ञको प्रयोग गर्नु पर्ने धानविज्ञ भोलामानसिंह बस्नेतले बताए । ‘परम्परागत रूपमा धानखेती गरेकाले उत्पादन बढ्न सकेको छैन,’ बस्नेतले भने, ‘राम्रो बिउको प्रयोग गरेर १५ देखि २० प्रतिशत उत्पादन बढ्छ ।’ धानखेती मौसमको भर पर्नु पर्ने अवस्था रहेको पनि बस्नेतले बताए ।
नागरिकबाट





























प्रतिक्रिया