काबुल । अफगानिस्तान र पाकिस्तानबीच हालै भएको दुर्लभ र रक्तपातपूर्ण झडपपछि इस्लामाबादले भारतमाथि द्वन्द्व भड्काएको आरोप लगाउँदै कडा असन्तुष्टि प्रकट गरेको छ ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतले अफगान तालिबानलाई ‘उक्साएको’ दाबी गरे भने रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले अफगान सरकारले भारतको ‘प्रोक्सी’ जस्तो व्यवहार गरेको आरोप लगाए ।
सन् १९४७ मा ब्रिटिश शासनको अन्त्यसँगै भएको विभाजनपछि भारत र पाकिस्तान कट्टर प्रतिद्वन्द्वी बनेका हुन् । यी दुवै मुलुकले बारम्बार युद्ध र एकअर्कामाथि आतङ्कवादको आरोप आदानप्रदान गर्दै आएका छन् । तर पछिल्ला महिनाहरूमा अफगानिस्तानसँगको सम्बन्ध कमजोर हुँदै गए पनि पाकिस्तानले भारत–तालिबान सम्बन्धलाई सहज रूपमा बढ्दै गएको रूपमा हेरेको छ ।
गत अक्टोबर ९ मा तालिबानका विदेशमन्त्री आमिर खान मुत्ताकी नयाँदिल्ली पुगेपछि भारत–तालिबानबीचको कूटनीतिक निकटता औपचारिक बन्यो । यो सन् २०२१ मा तालिबान पुनः सत्तामा फर्किएपछि उच्चस्तरीय तालिबान नेताको भारत भ्रमण हो ।
भारतले मुत्ताकीका लागि रातो कार्पेट ओछ्याएको दिनै काबुल र पाकिस्तान सीमासँगै बजार क्षेत्रमा विस्फोट भएको थियो ।
अफगान विशेषज्ञ वाहिद फकिरीका अनुसार भारत–तालिबानको यो मेलमिलापले पाकिस्तानलाई तीव्र प्रतिक्रिया दिन बाध्य बनाएको हो । उहाँका शब्दमा, “नयाँदिल्लीले मुत्ताकीलाई आमन्त्रित गरेर पाकिस्तान र अफगानिस्तानबीचको तनाव झन् बढाउने उद्देश्य राखेको छ ।” त्यो विस्फोटको जिम्मेवारी कसैले नलिए पनि तालिबान सरकारले इस्लामाबादमाथि ‘अभूतपूर्व आक्रमण’ गरेको आरोप लगायो र त्यसको प्रतिशोधस्वरूप आक्रमण गर्यो ।
यसपछि तोपखाना र ड्रोन आक्रमणको आदानप्रदान हुँदै दुवै मुलुकबीच वर्षौंयताकै भीषण हिंसा फैलियो । प्रारम्भिक युद्धविराम भङ्ग भएपछि अक्टोबर १९ (आज) मा दोस्रो युद्धविराम सम्झौता गरिएको छ ।































प्रतिक्रिया