काठमाडौं ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता एक वर्ष लम्ब्याएको छ । कोरोना भाइरसको महामारीको कारण आईसीसीले चार वर्षको एकदिवसीय मान्यतालाई एक वर्ष थप गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) को पहिलो वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष चतुर बहादुर चन्दले नेपालको एकदिवसीय मान्यता एक वर्ष थप भएको जानकारी गराए । चन्दले आईसीसीले नेपालको मान्यता सन् २०२३ को मार्चसम्म लम्ब्याएको बताएका हुन् ।
‘नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई आईसीसीले एक वर्ष थप गरेको छ,’ चन्दले भर्चुअल सभामा भने, ‘कोरोना महामारीको कारण क्रिकेट ठप्प भएको कारण आईसीसीले सन् २०२३ को मार्चसम्म लम्ब्याएको छ ।’ नेपालले सन् २०१८ मा एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको थियो । जिम्बाबेमा भएको एकदिवसीय विश्वकप छनोटबाट नेपालले उत्कृष्ट ४ एसोसियट राष्ट्रको रुपमा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।
नेपालले हालसम्म १० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छ । जसमा ५ जित र ५ हार बेहोरेको छ । विश्वकप छनोट अन्तर्गतको नेपालले खेलिरहेको क्रिकेट विश्वकप लिग–२ समेत कोरोनाको कारण स्थगित अवस्थामा रहेको छ ।
लिगमा नेपालले ४ खेल खेलेको छ जसमा २ जित र २ हार बेहोरेको थियो । लिग अन्तर्गत नै सन् २०२० को सुरुवातमा नेपालले पहिलो पटक घरेलु मैदानमा अमेरिका र ओमानको आतिथ्यता गर्दै त्रिवि मैदानमा पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।
नेपालले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता ४ वर्षका लागि हुने गर्छ । सन् २०१८ मा पाएको नेपालको मान्यता सन् २०२२ मा सकिंदै थियो । तर, कोरोनाको कारण एक वर्ष खेर गएको भन्दै सन् २०२३ सम्मका लागि आईसीसीले मान्यता दिएको हो ।





























प्रतिक्रिया