काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरणको निर्णयमा तत्कालीन एमालेका महासचिव ईश्वर पोखरेल र केही प्रभावशाली नेता सहित एक दर्जन नेताले अझै हस्ताक्षर गरेका छैनन् । पार्टी एकता भएको एक महिना बितिसक्दा पनि पोखरेल सहित केही प्रभावशाली नेताले असन्तुष्टि जनाउँदै हस्ताक्षर नगरेका हुन् ।
केही सदस्यको हस्ताक्षर भने विदेश तथा काठमाडौं बाहिर रहेका कारण छुटेको छ । एकता जस्तो ऐतिहासिक निर्णयमा हस्ताक्षर छुटाएको भन्दै पोखरेल सहितका नेताहरूलाई प्रक्रिया पूरा गर्न सुझाउँदै पार्टी केन्द्रीय कार्यालयले ताकेता गरिरहेको छ । तर तत्कालीन एमाले केन्द्रीय कार्यालयसचिव कृष्णगोपाल श्रेष्ठले भने लगभग सबै केन्द्रीय सदस्यले हस्ताक्षर गरिसकेको दाबी गरे । ‘हस्ताक्षर गर्नुपर्ने विषयमा सबैलाई खबर भइसकेको छ,’ श्रेष्ठले भने, ‘खासै छुटेको छैन, लगभग सबैको हस्ताक्षर छ ।’
तर तत्कालीन एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, तत्कालीन एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, तत्कालीन माओवादी केन्द्रको अनुशासन आयोगका अध्यक्ष अमिक शेरचनले एकताको निर्णय पुस्तिकामा हस्ताक्षर गरेका छैनन् । त्यस्तै विदेशमा रहेका कारण तत्कालीन एमाले केन्द्रीय सदस्यहरू चूडामणि जंगली र रचना खड्का तथा उपत्यकाबाहिर रहेका कारण भैरव श्रेष्ठको पनि हस्ताक्षर छुटेको छ । यी बाहेक अरू केही केन्द्रीय सदस्यले पनि एकताको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न छुटाएको स्रोतले जनायो ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया