निर्मल पौडेल,पर्वत । यहाँको रैथाने धानका जात मध्येकै स्वादिलो र औषधीय मूल्य बोकेको अनदी धान लोपोन्मुख अवस्थामा पुगेको छ । रातो र सेतो गरी २ प्रकारमा रैथाने बालीको रुपमा रहेको अनादी लोपोन्मुख अवस्थामा पुगेको हो । अनदी सँगै पहेँलो झिनुवा लगायत अन्य धानहरु पनि लोपोन्मुख भैसकेका छन् ।
बढी फल्ने वर्णशङ्कर (हाइव्रिड) र उन्नत जातका धानको खेतीलाई किसानले बढावा दिन थालेपछि रैथाने अनदी धान लोपोन्मुख अवस्थामा पुगेको हो ।
फलेवास नगरपालिका ७ लिमिठाना आँटिघरका किसान भुवानीप्रसाद पौडेल ढिकीमा कुटेको अनदी धानको च्युरा र जाँतोमा पिसेको अनदीको लट्टेको मिठो स्वाद कहिल्यै बिर्सन नसकिने बताउँछन् । ‘सानो उमेरमा चुलोमा अनदीको धान भुटेर ढिकीमा कुटेर तयार गरिएको च्यूरा खाएको सम्झना अझै ताजा छ,’ उनले भने, ‘अनदीको च्युरा निकै मिठो हुन्थ्यो, गुरुकुल जाँदा खल्तीभरी त्यही च्यूरा भरेर खादै पुग्ने गर्दथ्यौँं, ती दिन अब सम्झनामा मात्रै बाँकी रहे ।’ अहिले अनदी धान पाउनै मुस्किल हुन थालेको उनको भनाइ छ । उनका अनुसार पहिले अनदी धानको चामल,चिउरा र सिरौँला कोशेलीको रुपमा समेत प्रयोगमा आउने गर्दथ्यो ।
बढी उत्पादन दिने हाइब्रिड र उन्नत जातका धानको आकर्षणमा परेर किसानले अहिले अनदी धानको खेती छाडेको उनी बताउँछन् । विशेष गरी लट्टे बनाएर खाने, सिरौँला, च्यूरा, रोटी जस्ता परिकारमा यसको प्रयोग हुने गर्दथ्यो, यो धान औषधीको रुपमा समेत प्रयोगमा आउने गर्दथ्यो । हातखुट्टा सड्के मर्केमा ज्यान दुखेमा यसको परिकार बनाएर खाए छिट्टै निको हुने उनी बताउँछन् । तर अहिले अनदी धानको बीउ पाउनसमेत मुस्किल भइसक्यो ।’
‘यसको चालमको खीर निकै स्वादिलो हुने भएकाले प्राय खाइन्थ्यो’ उनले भने । अहिलेका धानको चामलको खीर अनदीको चामलको जस्तो नहुने गरेको उनको अनुभव छ ।
आँटिघरकै अर्का किसान इश्वरीप्रसाद पौडेलका अनुसार अनदी धान थोरै पानीमा पनि सुख्खा क्षेत्रमा राम्रो उत्पादन दिने जात हो तर सिमखेतमा उग्रै फल्थ्यो । उनले भने, ‘यो धान हामीले बीउको रूपमा जोगाउन सके, अहिलेको जलवायु परिवर्तनका चुनौतीबीच पनि खेतीका लागि उपयुक्त हुनसक्छ ।’
पहिले अनदी धान दुई चार वटा गह्रामा छुट्टै लगाइन्थ्यो, किसान पौडेलले भने, ‘अहिले त हाइब्रिड धानका कारण बीउ नै पाउन गाह्रो भएको छ ।’ उनका अनुसार यो धान किसानले लगाउन छाड्दै जान थालेको झण्डै दशक बढीनै बित्न लागेको छ । अनदीसहित थुप्रै रैथाने प्रजातिका धान हराउँदै गएका छन् । रैथाने प्रजातिका पँहेलो झिनुवा, गौरिवा,मानापाथी, आईयार, खुमलचार, जर्नेली,थापाचिनी, मसिनो गुडुडा,काउछे विरमफूले लगायतका थुप्रै धान हराउँदै गएका छन् ।
यी जातहरू माटो, हावापानी र वातावरणसँग अनुकूलित भएकाले उत्पादन स्थिर, स्वादिलो र जैविक दृष्टिले मूल्यवान रहेको किसानहरूको भनाइ छ । कृषि अगुवा आनन्द पौडेलका अनुसार, नयाँ धानका जात तयार गर्दा रैथाने धानको प्रयोग गर्न सके उत्पादन बढाउनेसँगै वातावरणीय सहनशिलतामा पनि सुधार ल्याउन सकिन्छ ।
रैथाने जातका धान खडेरी, सुख्खा र ठूलो बर्षातमा पनि हुर्कन सक्ने भएकाले दीगो कृषि प्रणालीका लागि महत्वपूर्ण स्रोतका रुपमा रहने उनले उल्लेख गरे।
पछिल्ला वर्षमा बजारमुखी कृषि प्रणाली र उच्च उत्पादनमुखी प्रवृत्तिले मौलिक बीउहरूलाई विस्थापित गरेको फलेवास नगरपालिकाका कृषी अधिकृत केदार सापकोटाले बताए ।
अनदीलगायत रैथाने धानको बीउ खोजी, सङ्कलन गरी किसानलाई पुनः खेती सुरु गर्न उत्प्रेरित गर्नुपर्नेमा सापकोटाको जोड रहेको छ ।
युवा जती मुग्लान जानु,गाउँघरमा कामदार समेत नपाउनुले किसानहरुका प्राय खेतीयोग्य अब्बल जमिन, सिमखेत र फाँटहरु बाँझै पल्टिरहनु, झाडीमा परिणत हुनु, धान फल्ने खेतमा बनमारा,बोकेझार र झाडीले ढाकिनुले पनि धान लोपोन्मुख अवस्थामा पुगेको स्थानियहरु बताउँछन् । यस्तै बजारमा आयातित चामलको मूल्य सस्तो पर्ने कारण पनि किसानहरुले खेती गर्न छाडेकोले रैथाने धानहरुको बिउ समेत पाउन मुश्किल भएको देखिन्छ ।





























प्रतिक्रिया