काठमाडौं । रूसले विश्व सैन्य इतिहासमा नयाँ अध्याय रच्दै परमाणु ऊर्जाबाट सञ्चालित विश्वको पहिलो क्रुज मिसाइल ‘बुरेभेस्तनिक–९एम७३९’ को सफल परीक्षण गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार एक भिडियो कन्फरेन्समार्फत यो मिसाइलको सम्पूर्ण परीक्षण प्रक्रिया पूरा भएको घोषणा गरेका हुन् ।
‘बुरेभेस्तनिक’ मिसाइलले परमाणु रियाक्टरको प्रयोग गरेर सञ्चालन हुने भएकाले यसलाई ‘असीमित रेन्ज’ भएको हतियार भनिएको छ । रूसी सेना प्रमुख भ्यालेरी गेरासिमोभले अक्टोबर २१ का दिन गरिएको अन्तिम परीक्षणमा यो मिसाइलले १५ घण्टासम्म लगातार उडान भरेर १४ हजार किलोमिटरको दूरी तय गरेको जानकारी दिएका छन् । उनले यो मिसाइलको अधिकतम दूरी अझै धेरै हुन सक्ने र यसको गति १ हजार ३ सय किलोमिटर प्रतिघण्टा (म्याक १.१) रहेको बताएका छन् । यो गति र दूरीले यसलाई परम्परागत मिसाइलहरूभन्दा कयौँ गुणा शक्तिशाली र खतरनाक बनाएको छ ।
राष्ट्रपति पुटिनले यो मिसाइलको विकासलाई रूसको सैन्य प्रभुत्वको प्रमाणका रूपमा प्रस्तुत गर्दै पहिले धेरै विज्ञहरूले यस्तो हतियार बनाउन सम्भव नै नभएको तर आज यो वास्तविकता बनेको बताएका छन् । उनले यो प्रविधि विश्वको कुनै पनि देशसँग नभएको दाबी पनि गरे ।
‘बुरेभेस्तनिक’ परम्परागत क्रुज मिसाइलहरूभन्दा किन पनि फरक छ भन्दा यो परमाणु रियाक्टरबाट सञ्चालित हुन्छ, जसले यसलाई इन्धनको सीमितताबिना नै लामो दूरीसम्म उडान भर्न सक्षम बनाएको छ । सामान्य मिसाइलहरू ठोस वा तरल इन्धनमा निर्भर हुन्छन्, जसले उनीहरूको दूरी र उडान समयलाई सीमित गर्छ । तर बुरेभेस्तनिकको न्यूक्लियर रियाक्टरले यसलाई सैद्धान्तिक रूपमा अनन्त दूरीसम्म उडान भर्ने क्षमता प्रदान गरेको छ ।
‘बुरेभेस्तनिक’ को सफल परीक्षणपछि विश्व सैन्य सन्तुलनमा ठूलो प्रभाव पार्ने सम्भावना छ । यो मिसाइलले रूसलाई संयुक्त राज्य अमेरिकासँगको प्रतिस्पर्धामा रणनीतिक रूपमा शक्तिशाली बनाएको छ ।
अमेरिकी वायुसेनाको एक रिपोर्टअनुसार, यो मिसाइल सेवामा आएपछि रूसले १० हजारदेखि २० हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने क्षमता राख्नेछ, जसले विश्वको कुनै पनि क्षेत्रलाई निशाना बनाउन सक्छ । यो मिसाइलको सबैभन्दा ठूलो विशेषता भनेको यसको एन्टी–मिसाइल डिफेन्स सिस्टमलाई छल्ने क्षमता हो । परम्परागत ब्यालिस्टिक मिसाइलहरू निश्चित मार्गमा उड्छन् र राडारद्वारा सजिलै पत्ता लगाउन सकिन्छ । तर बुरेभेस्तनिकको कम उचाइ र मार्ग परिवर्तन गर्ने क्षमताले यसलाई पत्ता लगाउन र नष्ट गर्न अत्यन्त कठिन बनाएको छ । यसले अमेरिका र नेटोका मिसाइल डिफेन्स सिस्टमहरूलाई गम्भीर चुनौती दिएको छ ।





























प्रतिक्रिया