अहिले अवार्ड कार्यक्रमको एउटा ट्रेण्ड नै चलेको छ । देशमा आयोजना हुदै आईरहेका अवार्ड कार्यक्रमहरु विदे़शमा समेत आयोजना हुदै आईरहेका छन । यो राम्रो पक्ष हो । निकै प्रतिष्ठित भारतीय सिनेमा अवार्ड “आईफा” पनि विदेशमै आयोजना हुन्छ । आईफा सयौं करोड रुपियाको खर्चमा आयोजना हुने प्रतिष्ठित कार्यक्रम हो र त्यसका प्रत्यक्ष दर्शक नै दशौं हजार हुन्छन र टिकट दर महंगो हुन्छ अनि ‘डीजीटल राईट्स’ पनि करोडौंमा बिकेका समाचारहरु पढ्न पाईन्छ । ठूलो ‘स्टारकाष्ट’ महंगो तामझाम र अत्यधिक लोकप्रियता आईफाका विशेषता हुन् ।
तर नेपाली म्युजीक अवार्डको हकमा विदेशमा आयोजना हुने अवार्डको चर्चा खासै राम्रो सुनिदैन । नेफ्टा अवार्ड विदेशमा गर्दा भएका कमजोरीहरुका आलोचनाहरु बेलाबेला ताजा हुने गरेको छ । ट्राभल चेकविना यात्रा गरेको भनेर कलाकार ट्राण्जीटमा रोकिएको अथवा लगानी नै नउठेर अवार्ड कार्यक्रममा भएको खर्च तिर्न नसकेर प्रायोजक जेल नै परेको समाचारहरु हामीले पढ्दै आएका छौ । अहिले साना साना म्युजिक भिडीयो अवार्डहरु समेत विदेशमा आयोजना गर्ने प्रचलन बढ्दो छ ।
एकजना कलाकार छन गायीका । उनी सानैदेखि कलाकार हुन । उनले स्कुल स्तरीय प्रतियोगीताहरु पनि निकै जितेकी हुन तर सांगेतिक जगतको मुलधारले उनलाई अझै चिन्न सकेको छैन फेरि पनि उनी विदेश तिर हुने अवार्ड कार्यक्रमहरुमा गई रहन्छिन् र अवार्ड पनि जिती रहन्छिन् ।
अर्की गायीका छन उनका गीतहरु खासै लोकप्रिय छैनन र स्वर पनि वाह भन्ने खाले छैन र प्रस्तुतिमा पनि खासै दम छैन तर उनी पनि अवार्ड कार्यक्रमहरुमा विदेश यात्रा गरिरहेकी हुन्छिन् र अवार्ड जितीरहेकी पनि हुन्छिन् ।
अर्काछन एकजना ब्यबसायी गायक जोसंग मनग्य सम्पत्ती छ । शौखको लागि गीत गाउछन तर राम्रै गाउछन । उनको लागि विदेश यात्रा ठूलो कुरै होईन । उनी आफु खासै अवार्ड कार्यक्रममा जादैनन तर अवार्ड पाईरहेका हुन्छन ।
त्यस्ता कार्यक्रमहरुमा मुलधारमा रहेर संगीत साधना गरिरहेका र चर्चाको शिखरमा रहेका गायक/गायीका हरुको उपस्थिति अत्यन्तै न्युन हुन्छ अर्थात् नभए बराबर हुन्छ तर कार्यक्रममा देखाउनकै लागि भएपनि एकदुई जना लोकप्रिय कलाकारलाई उपस्थित भने गराएकै हुन्छन । आखिर कसरी सम्भव छ त दर्जनौं कलाकार बोकेर विदेश गएर अवार्ड कार्यक्रम गर्नलाई ?
यस्ता अवार्ड कार्यक्रमका लागि बजेट ब्यबस्थापनको खेल गीत दर्ता प्रकृयादेखी नै सुरु भएको हुन्छ । एउटा गीतलाई दर्जनौं विधामा दर्ता गर्न मिल्छ । गीत दर्ता शुल्क नै बजेट तर्जुमाको पहिलो चरण हो । आजसम्म अवार्ड नपाएका अथवा अहीलेसम्म विदेश नगएका कलाकारलाई अवार्ड प्रदान गर्ने झाँसा दिएर यौटै गीत पाँचदेखी एक दर्जन विधामा दर्ता गर्न लगाई पाँचदेखि बाह्र हजार रुपैया शुल्क सुरुवाती समयमै उठाउछन ।
यो हिसावमा हेर्दा एउटा समुहमा पाँच गीत मनोनयनमा परेका हुन्छन । कमसेकम बिस या त्यो भन्दा बढी नै समुहमा अवार्ड प्रदान गरिन्छ । न्युनतम एक डेढ सय वटा गीत त अनिवार्य दर्ता भएकै हुन्छन दर्ताको आँकडा त्यो भन्दा माथी पनि हुनसक्छ । न्युनतम पाँच हजारका दरले पनि पाँच सातलाख रुपैया दर्ता शुल्क नै उठ्छ । यो औशत अनुमान मात्र हो ।
मनोनयनमा पर्नु अगावै अवार्ड कसलाई प्रदान गर्ने भन्ने निर्क्योल आयोजकले गरीसकेका हुन्छन । अन्य ब्यबसाय गरेर शौखको लागि गीतमा लगानी गरेर कलाकार भएका गायक गायीकाहरु । अवार्ड पाएको देखाएर अमेरीकाको भिषा लाग्छ कि भनेर आशावादी भएका कलाकारहरु अनि सजीलो पैसामा रमाईरहेका केही चर्चित कलाकारहरु समेत अवार्ड भनेपछि मरीहत्ते गर्न थाल्छन । उनीहरुले अवार्डकालागि सजिलै पैसा तिर्छन । एकजना गायिकाले त आफ्नो ब्यबसायी बाबु संग अवार्डको लागि आयोजकलाई तिर्न भनेर पैसा मागेको खवर समेत बाहिरियो । छोरीको खुशीको लागि ति बाबुले पनि अवार्डको लागि आयोजकसंग आँफै कुरा गरे र छोरीलाई विदेश पठाए ।
विदेश जाँदा आउदा हुने खर्च “प्याकेज” अवार्ड पाउने कलाकारले आफै बेहोर्न पर्ने सुरुवाती सर्त चाहीं हुन्छ । त्यो रकम त्यती ठूलो हुँदैन । दुबईमा आयोजना भएको एउटा अवार्ड कार्यक्रममा प्याकेज पचपन्न हजारको मात्र रहेको थियो । अवार्ड प्राप्त गर्ने कलाकारसंग वार्गेनीङ गरेर रकम निश्चित भईसकेपछी सबैभन्दा पहिले पुरै प्याकेजको पैसा लिन्छन । घुम्न गएपनि खर्च त भईहाल्छ त्यो भन्दा कमसेकम अवार्ड कार्यक्रमको लागि भनेर गएपछि प्रोफाईलमा यौटा विदेश भ्रमण पनि थपिन्छ र अवार्ड पनि थपिन्छ । त्यहि लालचको पछि लागेर कलाकारहरु खुरुखुरु पैसा बुझाउछन ।
विदेशमा अवार्ड कार्यक्रम पनि टिकट बेचेरै गरिन्छ । टिकटको पुससेलको लागि स्थानिय कलाकारहरुलाई प्रयोग गरिन्छ । ब्याबसायीहरुबाट प्रायोजन शुल्क समेत उठाईन्छ । प्रायोजन बापत प्रायोजकलाइ धन्यवाद ज्ञापन गरिन्छ । दोसल्ला ओढाएर सम्मान गरिन्छ । त्यसरी नेपाली कार्यक्रमहरु प्रायोजन गर्ने स्थानीय नेपाली ब्यबसायीहरु नै हुन्छन । ठूला कम्पनीको प्रायोजन पाएको भए पनि त्यो प्रायोजक कम्पनि र अवार्ड आयोजकको बिचमा कुरा मिलाइदिने र हालीमुहाली गर्नेहरु नेपाली नै हुन्छन । उनीहरु पनि खादाका हकदार हुन्छन । स्थानीय कलाकारलाई टिकट बेचे बापत एकादुई अवार्डहरु प्रदान गरिन्छ ।
केही चर्चित कलाकारलाई भने आयोजककै खर्चमा “फोकल प्वाईन्ट” बनाएर विदेश लगिन्छ । कार्यक्रमको विश्वसनियताको लागि दुई तिन जना कलाकारको खर्च चाहीं आयोजकहरुले व्यहोर्छन् । शंकर विसी, कोमल ओली, जितु नेपाल जस्ता कलाकारहरुलाई पारिश्रमीक समेत दिएर अवार्ड कार्यक्रममा सहभागी बनाएका छन । किनकी उनीहरुको नाममा टिकट बेच्न सजीलो हुन्छ ।
दुबईमा भएको अवार्ड कार्यक्रमलाई नजिकबाट नियालेका प्रकाश ढकाल भन्छन- ‘दुबईमा भएको म्युजीक भिडीयो अवार्ड कार्यक्रममा आएका प्राय कलाकारहरु आफ्नै खर्चमा यहाँ आएका थिए । ५५ हजार देखी ७० हजारसम्मको टुर प्याकेज उनीहरुलाई बेचीएको थियो । त्यसरी पैसा तिरेर आउने कलाकारको साथमा केही चर्चित कलाकार रुलाई समेत ल्याएका थिए । तिनै चर्चित कलाकारको नाममा हलसम्म दर्शक पनि पुगे तर अवार्ड तिनैले पाए जसले पैसा तिरेका थिए ।’
गीनीज बुकमा नाम लेखाउन भनेर सुरु गरीएको पृथ्वी परिक्रमा अवार्ड होस या अन्य कुनै नामको अवार्ड नै किन नहोस सबै कार्यक्रमको तरिका चाहीं उस्तै हुन्छ । एकादुई चल्तीका अनुहार छाडेर बाँकी सबै विधाका अवार्डहरु पैसा लगानी गर्न सक्ने कलाकारहरुलाई अवार्ड दिईन्छ ।
कलाकारले पैसा हाल्नु र आयोजकले अवार्ड दिनु यो उनीहरुको निजी ब्यापारीक सम्बन्ध हो भनेर पनि परिभाषीत गर्न सकीएला किनकी अचेल हुने अधिकांश अवार्डहरु किनवेच नै हुने गरेका छन भन्ने आरोप लागीरहेकै छ । नेपालमै हुने अवार्ड कार्यक्रमका कमाउ तरिका पनि मिल्दाजुल्दा नै छन ।
विदेशमा अवार्ड थाप्न जाने कलाकारसंग प्याकेज उठाएजस्तै नेपालमा अवार्ड वितरण गर्ने आयोजकले पनि अवार्ड दिने कलाकारलाई लोभ्याउने र पैसा तिराउने गरेका चर्चाहरु यदाकदा नचलेका होईनन । नेपालमा पैसा तिराउने बैधानिक बाटो भनेको ‘एसएमएस भोट’ हो । सोझै “यो पटकको अवार्ड त मलाई है” भनेर आयोजकसंग दावी गर्न सक्ने कलाकारलाई आयोजकहरु भोट पुर्याउनुस एक लाख जतिको अवार्ड तपाईलाई पारौंला भनेर भोट आफ्नै मोबाईलबाट गर्न लगाएका तरिका हरुपनि बजारमा आईरहेकै हुन । यौटा अवार्ड कार्यक्रममा त लेनदेनको मामला बल्झीएर कुटाकुट समेत भयो नाचघरमा । यस्तै बिषयमा एक जना गायीकाले अवार्ड आयोजकलाई सोझै आरोप समेत लगाईन । अवार्डको लागि भनेर पचास हजार मागेका एकजना आयोजक गायीकाले पैसा नदिएपछि बोल्नै छाडे रे ।
त्यो भन्दा लाजमर्दो कुरा चाहीं अवार्ड कार्यक्रममा विदेश गएका कलाकार हरुले गर्ने ब्यबहारको बारेमा हुने चर्चाले गराउछ । दुबईमा भएको एउटा कार्यक्रमको प्याकेज तिन दिनको थियो तर त्यो कार्यक्रममा गएका गायीकाहरु म्याद थपेर उतै बसे । आयोजकहरुलाई पनि आपत्ती भएन । आयोजकहरुसंग नजीक रहेका प्रायोजकहरुले नै त्यसरी केही गायीकाहरुलाई राखे ।
हुन त आधुनिक विश्वमा कुनै युवती एक दुई दिन थप घुम्नको लागि त्यसरी बस्नुलाई कुनै कोणबाट पनि गलत हो भनेर आरोप लगाउन हुदैन र त्यो बसाई गलत थियो भनेर ठोकुवा गर्न हुदैन तर त्यो बसाईलाई कार्यक्रम सकीएपछि आयोजक या प्रायोजक मध्येकै केही ब्यक्तीले कानेखुसीको विषय बनाउदाको क्षणले भने अवार्डको नाममा के के हुन्छ त विदेशमा भनेर प्रश्न उठाउने ठाउँ आलोचकहरुलाई दिने गरेको छ ।
फलानी कलाकार फलानों संग बसेको, आयोजकले दिएको होटलमा नबसेर अन्तै बसेको, एयरपोर्टबाटै फलानी गायीका अन्तै कुलेलम ठोकेको र कार्यक्रम समयमा मात्र आएको भन्ने जस्ता हल्लाले म्यासेन्जरका ईनवक्सहरुमा प्रसस्तै स्थान पाए । यसले ब्यक्तिगत कुराको चर्चा मात्र भएन अवार्डको नाममा उल्टै पैसा तिरेर कुन खाले खेती मौलाईरहेको छ भनेर प्रश्न गर्ने ठाउँ पनि भेटीयो ।
जो जहाँसुकै बसोस या जोसंग बसोस त्यो कलाकारको नितान्त निजी मामला भएको कारण त्यस किसिमका चर्चा हुनु कतै जायज मानिंदैन तर अवार्ड कार्यक्रमको गरीमालाई यस किसीमका हल्लाहरुले घटाएका चाही पक्कै छन ।































प्रतिक्रिया