काठमाडौं
व्यवसायिक फुटबलमा विश्व हल्लाएका स्टारहरुको सधै साथ पाउने गरेको फ्रान्सले विश्वकप जित्न नसकेको दुई दशक पूरा भएको छ । घरमै १९९८ को संस्करण आयोजना गर्दा च्याम्पियन बनेको टोली त्यस यता विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा सधै निराश हुँदै आएको छ । अझ दुई वर्ष अघि आफैले आयोजना गरेको युरोपियन च्याम्पियनसिपमा पनि फ्रान्सले पोर्चुगलसँग फाइनलमा पराजय भोग्नुपरेको थियो ।
यसपाली रुसमा जारी विश्वकप फ्रान्सका लागि दोस्रो पटक विश्व च्याम्पियन बनाउन उपयुक्त थलो बन्न सक्छ । छनोट चरणमा इतिहासकै सर्बोत्कृष्ट नतिजा निकाल्दै रुसको टिकट पक्का गरेको फ्रान्सले शनिबार अष्ट्रेलियासँग खेल्दै विश्वकपको यात्रा थाल्नेछ । समूह ‘सी’ को पहिलो खेलमा जित हासिल गर्न सके नकआउट चरण सहज हुने डिडियर डेशच्याम्पसको टोलीलाई राम्ररी थाहा छ । यसपाली उपाधि जित्ने लक्ष्यमा रहेको टोलीको मनोबल कायम राख्न पनि फ्रान्स सामू जितको विकल्प छैन ।
चार वर्षअघि ब्राजिल विश्वकपको पहिलो खेलमा होन्डरुस विरुद्ध ३–० को सहज जित हात पार्दा प्रशिक्षक डेशच्याम्पससँग अग्रपंक्तिमा धेरै विकल्प थिए। यसपाली पनि डेशच्याम्पसको टोलीमा एन्टोनी ग्रिजम्यान, ओलिभर जिरौड र किलियन एमबाप्पे जस्ता स्टार खेलाडीको साथ छ । मिडफिल्डमा पाउल पोग्बा लयमा फर्कनु डेशच्याम्पसका लागि अर्को सुखद पक्ष बन्न सक्छ । तर रक्षक बेन्जामिन मेन्डे घुँडाको चोटका कारण खेल्नेमा दुविधा छ । जुन प्रशिक्षकका लागि चिन्ताको विषय हो । २००६ को उपविजेता फ्रान्स सन् २०१० र २०१४ को विश्वकपमा भने समूह चरणबाटै बाहिरिएको थियो ।
नागरिकबाट































प्रतिक्रिया