काठमाडाैं । टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र दर्जनौं अन्य इजरायली अधिकारीहरू विरुद्ध “नरसंहार” को आरोपमा पक्राउ पूर्जी जारी गरेको छ।
इस्तानबुलका प्रमुख सरकारी वकिलको कार्यालयले नेतन्याहू, इजरायलका रक्षामन्त्री इजरायल काट्ज, राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन गिभर र सैन्य प्रमुख इयाल जमीर लगायत ३७ जना विरुद्ध पक्राउ पूर्जी जारी गरेको हो।
सरकारी वकिलको कार्यालयका अनुसार ती इजरायली अधिकारीहरूलाई गाजामा र एन्क्लेभमा सहायता पुर्याइरहेको फ्लोटिलाविरुद्ध “मानवता विरुद्धको अपराध” र “नरसंहार” गरेको आरोप लगाइएको छ।
यता इजरायलले भने उक्त पक्राउ पूर्जीलाई तुरुन्तै निन्दा गर्दै खारेज गरेको छ। इजरायली विदेश मन्त्री गिदोन सा’र ले यस कदमलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान को “पीआर स्टन्ट” भनेका छन्।
प्यालेस्टिनी समूह हमासले टर्कीको यस निर्णयको स्वागत गर्दै “टर्कीका जनता र नेतृत्वको महान अडानको पुष्टि गरेको” बताएको छ। टर्कीको यो निर्णयले अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौतालाई कायम राख्नका लागि गाजामा बहुराष्ट्रिय सुरक्षा बलमा टर्कीले कस्तो भूमिका खेल्छ भन्ने विषयमा प्रश्नहरू खडा गरेको छ।





























प्रतिक्रिया