नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको सुरुवात अब मात्र चार दिन बाँकी छ । मंसिर १ गतेदेखि टियू क्रिकेट मैदानमा फ्लडलाइटको उज्यालोमा हुने यो प्रतियोगिताले नेपाली क्रिकेट प्रेमीहरूलाई उत्साहित बनाएको छ । पहिलो संस्करणको अपार सफलतापछि यो सिजनमा दर्शकहरूले प्यारापिटमा बसेर खेलको मज्जा लिन पाउने छन्, जसमा दैनिक दुई खेल र कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा खेलाइने छन् । यस माहोलमा आठ टोलीमध्ये उपाधि जित्न सक्ने एक प्रमुख दाबेदार टोली काठमाडौं गोर्खाज पनि हो ।
पहिलो सिजनमा पाँचौं स्थानमा सीमित भएको यो टोलीले यसपटक च्याम्पियन बन्ने लक्ष्य राखेको छ । अभ्यास खेलमा विराटनगर किंग्सलाई १०१ रनले हराएपछि टोलीको आत्मविश्वास उच्च रहेको छ । यस्तोमा जम्मा ४ दिनपछि उद्घाटन खेलमै अघिल्लो सिजनको विजेता जनकपुरको सामना गर्नुपर्ने काठमाडौं गोर्खाजले प्रतियोगिता नै जित्न कस्तो तयारी गरिरहेको छ, टोली संरचना कस्तो छ, रणनीति कस्तो बनाइरहेको छ ?
काठमाडौं गोर्खाजले यस सिजनका लागि बलियो टोली तयार पारेको छ । टोलीले ६ खेलाडीलाई रिटेन गरेको थियो, जसमा कप्तान करण केसीसहित भिम सार्की, शाहब आलम, दिपेश कँडेल, रासिद खान र प्रतिक श्रेष्ठलगायत छन् । यी खेलाडीहरूले घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन् । करण केसी नेपाली राष्ट्रिय टोलीका अलराउन्डर हुन्, जसले बल र ब्याट दुवैबाट योगदान दिन सक्छन् ।
भिम सार्की र रासिद खान जस्ता खेलाडीहरूले काठमाडौंको मिडल अर्डरलाई मजबुत बनाउने अपेक्षा गरिएको छ । त्यस्तै काठमाडौंले अक्सनबाट ५ खेलाडी आदिल आलम, उत्तम मगर, आकाश त्रिपाठी, तुलबहादुर थापा र सन्तोष यादवलाई अनुबन्ध गरेको छ । यीमध्ये आदिल आलम र उत्तम मगर जस्ता खेलाडीहरूको आक्रामक ब्याटिङबाट टोलीलाई फाइदा पुग्ने देखिन्छ । यसबाहेक, ट्यालेन्ट हन्टबाट पनि काठमाडौंले नेत्रजन शाहलाई समेटेको छ ।
त्यसैगरी काठमाडौं गोर्खाजको यस सिजनको प्रमुख हतियारका रुपमा ६ जना विदेशी खेलाडीहरू भित्राएको छ । जसमा नामिबियाका जेरार्ड एरासमस, अमेरिकाका मिलिन्द कुमार, इङ्ल्यान्डका बेन चाल्र्सवर्थ, इङ्ल्यान्डकै जोन सिम्पसन, इङ्ल्यान्ड तथा दक्षिण अफ्रिकाका रिकार्डो भास्कोनेसेलोस र अमेरिकाको सन्नी पटेल रहेका छन् । माथी उल्लेख गरिएका सबै ५ खेलाडीहरूले विश्वका विभिन्न लिगहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । जसमध्ये नामिबियाका कप्तान जेरार्ड एरासमसले ओडीआईमा ६३ खेलबाट २ हजार १७८ रन बनाएका छन् भने टी–२०आईमा ७७ खेल खेल्दै १ हजार ८ सय ३३ रनसहित अलराउन्डर प्रदर्शन गरेका छन् । गत सिजन पनि गोर्खाजबाट खेलेका उनले यसपटक पनि नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।
त्यस्तै, अर्का अमेरिकाका अलराउन्डर मिलिन्द कुमारले ओडीआईमा १० खेलबाट ३ सय ६४ रन बनाएका छन् भने टी–२०आईमा १२ खेलबाट १७२ रन र १८ विकेट लिएका छन् । तेस्रो विदेशी खेलाडीका रुपमा इङ्ल्यान्डका युवा ब्याट्सम्यान बेन चाल्र्सवर्थले फस्र्ट–क्लास क्रिकेटमा ५७ खेलबाट २ हजार ७ सय ५४ रन बनाएका छन् भने टी–२०मा ४४ खेलबाट ७ सय ७६ रनसहित आक्रामक ओपनरका रुपमा काठमाडौंको सुरुवात गर्ने संकेत दिएका छन् ।
चौथो विदेशी खेलाडीका रुपमा इङ्ल्यान्डका विकेटकिपर–ब्याट्सम्यान जोन सिम्पसनलाई भित्राएको काठमाडौंले पाँचौ विदेशी खेलाडीको रुपमा विकेटकिपर–ब्याट्सम्यान भास्कोनेसेलोस र अमेरिकाका लेग स्पिनर सन्नी पटेललाई भित्राउको छ । यी खेलाडीहरूले गोर्खाजलाई विश्वस्तरीय लिगहरूको अनुभव ल्याएका छन् । गत सिजनमा विदेशी खेलाडीहरूले राम्रो प्रदर्शन नगर्दा टोली प्रभावित भएको थियो, तर यसपटक भने काठमाडौंले टप अर्डरलाई मजबुत बनाइएको छ ।
गोर्खाजले यस सिजनका लागि कडा तयारी गरेको छ । मंगलबार मुलपानी मैदानमा भएको अभ्यास खेलमा विराटनगर किंग्सलाई १०१ रनले हराएको थियो । गोर्खाजले १४४ रन बनाएपछि विराटनगर ४३ रनमा अलआउट भएको थियो । काठमाडौंका लागि शाहब आलम एक्लैले ४ विकेट तथा दिपेश कँडेलले ३ विकेट लिएका थिए । मुख्य प्रशिक्षकका रुपमा राष्ट्रिय टोलीका पूर्व मुख्य प्रशिक्षक मोन्टी देशाईलाई भित्राएर सनसनी मच्चाएको काठमाडौंले सहायक प्रशिक्षकका रुपमा बसन्त शाहीलाई अनुबन्ध गरेको छ ।
पहिलो सिजनमा काठमाडौं गोर्खाजले ७ खेल खेलेर ४ जित निकालेको थियो, तर नेट रन रेटका कारण लिग चरणबाटै बाहिरिएको थियो । टोलीका लागि सबैभन्दा बढी रन बनाउने खेलाडी सुमित महर्जन थिए । उनले ४ इनिङ्सबाट ८७ रन बनाएका थिए । त्यस्तै टोलीका लागि सबैभन्दा बढी विकेट स्टिफन एस्किनाजी र जेरार्ड एरासमसले लिएका थिए । तर टोलीको प्रमुख विकेट टेकर शाहब आलम थिए । उनले विराटनगर, जनकपुर र अन्य टोलीविरुद्ध विकेट लिएका थिए ।
विदेशी स्टार, अनुभवी कोचिङ स्टाफ र युवा–अनुभवी खेलाडीहरूको मिश्रणले काठमाडौं गोर्खाजलाई च्याम्पियन दाबेदार बनाएको छ । उद्घाटन खेलमा जनकपुर बोल्ट्सविरुद्धको भिडन्तबाटै टोलीका लागि अग्नि परीक्षा हुनेछ । नेपाली क्रिकेटको यो महाकुम्भमा गोर्खाजले कस्तो प्रदर्शन गर्ला त्यो भने समयले नै बताउने छ ।





























प्रतिक्रिया