भाटभटेनी आक्रमण कुनै पार्टीको भवन बनाइदिने विषयले भएको हो : मीनबहादुर गुरुङ

भाटभटेनी आक्रमण कुनै पार्टीको भवन बनाइदिने विषयले भएको हो : मीनबहादुर गुरुङ

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । व्यावसायी मीनबहादुर गुरुङले जेन जी आन्दोलन मा भाटभटेनीमाथिको आक्रमण कुनै एउटा पार्टीको भवन बनाइदिने विषयले भएको बताएका छन् । सोमबार राष्ट्रिय कर दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उत्कृष्ट करदाताका तर्फबाट आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् । उनले गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा आफ्ना १२ भाटभटेनी स्टोर पूर्ण रूपमा नष्ट भएको जानकारी दिए । अरू धेरै भाटभटेनीमा ठूलो क्षति पुगेको उनले बताए ।

अझै पनि आफूले हिम्मत नहारेको उनले उल्लेख गरे । उनले अझै अघि बढ्ने अठोट व्यक्त गरे । भाटभटेनीमा दसैँतिहार र छठका निम्ति ‘स्टक’ गरिएका धेरै सामान आन्दोलनका क्रममा लुटिएको र जलाइएको उनले बताए ।

आफूमाथि धेरै युवाको जिम्मेवारी, बैंकको लगानी रहेकाले व्यवसायबाटै अघि बढ्ने निचोड निकालेको उनले सुनाए । नेपालमा विपन्नताकै कारण आन्दोलन भइरहेको भन्दै जिम्मेवार नहुनु पनि त्यसको कारण रहेको उनको बुझाइ छ ।

राज्यलाई कर बुझाइसकेपछि कसलाई सहयोग गर्ने भन्ने आफ्नो इच्छाको विषय भएको भन्दै गुरुङले आफूले डा. भगवान कोइरालाको नेतृत्वमा निर्मित बाल अस्पताल बनाइदिएको, विपन्न र जेहेन्दार विद्यार्थीलाई एमबीबीएस पढाएको पनि उनले बताए ।

व्यवसायी मीनबहादुर गुरुङले सबै जिम्मेवार भएर अघि बढ्न जरुरी रहेको बताएका छन् ।

कार्यक्रममा मीनबहादुर गुरुङको भनाइ
गत भाद्र २३ र २४ गते जेनजी ठूलो आन्दोलन भयो । पहिला–पहिला १५ देखि २० वर्ष लाग्थ्यो, अहिले जेनजीले दुई दिनमै सत्ता उलटपुलट गरिदिए । यसमा हामी सबै अलि गम्भीर हुनुपर्छ । हामी गम्भीर भएनौँ भने अर्को आन्दोलन हुन्छ । अर्को आन्दोलन भए न मेरो भाटभटेनी रहन्छ न कसैको लगानी बाँकी रहन्छ । यो आन्दोलनमा घुसपैठ भएर होला, धेरै ठूलो क्षति भयो । दसैँतिहार, छठ आउँदै गरेकाले ठूलो स्टक राखेका थियौँ । यो दुःखद घटनापछि पनि मैले अघि बढ्ने हिम्मत गरेको छु । म अघि बढ्छु, कारण के भने ममा जिम्मेवारी छ, बैंकको लगानी छ, मसँग आबद्ध हजारौँ भाइबहिनी हुनुहुन्छ । त्योभन्दा ठूलो मेरो देश छ । हामी अलि विपन्न भएको कारणले नै यो विभिन्न समयमा आन्दोलन भइरहेको हो । आन्दोलन हुनुको पछि हाम्रो जिम्मेवारी नहुनु पनि होला । हामी जिम्मेवार भएर देश विकासमा लाग्नुपर्छ । हाम्रो घर कमजोर भयो भने वल्लो घर, पल्लो घरकाले आएर राज गर्न थाल्छन् । जुन घटना भयो यो, १२ वटा भाटभटेनी सखाप नै भए । अरू धेरैमा लुटपाट भए । अब यस्तो घटना हुँदैन होला र सबैले बोध गर्दछन् भन्ने विश्वास छ । भाटभटेनीमाथि किन आक्रमण भयो भन्दा कुनै पार्टीलाई भवन बनाइदिने भयो भनेर रे ! भाटभटेनीको मूल आफ्नो ट्याक्स पे गरिसकेपछिको पैसा उसले दान गर्न चाहन्छ, त्यही भएर डा. भगवान कोइरालाको नेतृत्वमा बनेको बाल अस्पताल हामीले यही मंसिरमा उद्घाटन गरेर बालबालिका राख्ने सोचमा थियौँ, आन्दोलनले केही ढिला भयो । नेपालमा करोडौँ दिने कुरा नौलो कुरा हो । विभिन्न जिल्लाका विपन्न व्यक्तिहरूका बालबालिकालाई मैले एमबीबीएस पढाएको छु । टिचिङ अस्पतालमा पनि राम्रै सहयोग गरेका छौँ, भवन बनाइदिएका छौँ । अहिले पार्टीलाई भवन बनाइदियो भन्ने छ, मेरो आफ्नो पर्सनल कुरा हो । सबै पार्टीलाई तपाईंहरू सुध्रिनुस्, हामी सहयोग गर्छौं भनेको छु । मूल कुरा पार्टीजस्तो लागेको थियो, अहिले अब जेनजी रहेछ । १० जनासँग किन माग्नु म एक्लैले दिइहाल्छु नि भनेर दिएको हो । त्यसका खातिर यो भोग्नुप-यो । मैले उहाँहरूसँग लिने होइन, दिने मात्रै हो ।

Logo