सरस्वती क्याम्पसले शैक्षिक सुधार र आर्थिक पारदर्शितामा जोड दिनुपर्ने

सरस्वती क्याम्पसले शैक्षिक सुधार र आर्थिक पारदर्शितामा जोड दिनुपर्ने

केन्द्रबिन्दु
78
Shares

काठमाडौं । कुनै समय काठमाडौं उपत्यकाभित्रका उत्कृष्ट क्याम्पसहरुमध्ये पर्ने काठमाडौं ठमेलमा रहेको सरस्वती बहुमुखी क्याम्पसको इतिहास जोगाउँदै गुणस्तरीय शिक्षा र सुशासनयुक्त व्यवस्थापन कायम राख्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

विक्रम संवत २०१६ सालमा स्थापना भएको क्याम्पसमा प्रविधिमैत्री र समय सापेक्षित शिक्षा जोड दिनुपर्ने वक्ताहरुको भनाइ थियो । सोमबार आयोजना गरिएको क्याम्पसको साधारण सभा २०८२का क्रममा क्याम्पस प्रशासन, प्राध्यापक, शिक्षक संगठन, विभिन्न विद्यार्थी संगठनलगायत सरोकारवालाहरुले शैक्षिक सुधार र आर्थिक पारदर्शितामा जोडदिन क्याम्पस प्रशासनलाई सुझाब दिए ।

कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका कार्यवाहक अध्यक्ष मनिषराज बस्नेतले विद्यार्थी संगठन, प्रशासन र शिक्षक तथा प्राध्यापकहरुले सबैले आफ्नो जिम्मेवारी सम्हाल्नुपर्ने, विद्यार्थीहरुका समस्या र हकहितका लागि संगठनहरुले काम गर्नुपर्ने बताए । साथै क्याम्पस प्रशासनले आर्थिक पारदर्शिता र शैंक्षिक सुधारका लागि काम गर्नुपर्नेमा उनले जोड दिए ।

अनेरास्वव्यु क्रान्तिकारीका अध्यक्ष राजेशबाबु बगालेले पनि विद्यार्थीहरुको शैक्षिक गुणस्तरलाई माथि उकास्न क्याम्पस प्रशासन र विद्यार्थी संगठनहरु लाग्नुपर्नेमा जोड दिए । आफ्नो उज्ज्वल भविष्यको योजना बनाएर क्याम्पसमा अध्ययन गर्न आउने हरेक विद्यार्थीहरु योग्य नागरिक बनाउने काममा क्याम्पस प्रशासनले काम गर्नुपर्ने बताए ।

अनेरास्वव्युका अध्यक्ष लोकमणी जोशीले क्याम्पसमा विद्यार्थीहरुको संख्यामा वृद्धि गर्न क्याम्पस प्रशासनले शैक्षिक सुधारमा ध्यान दिनुपर्नेमा जोड दिए । उनका अनुसार विद्यार्थीहरुको हकहितका लागि पनि क्याम्पसले काम गर्नुपर्नेछ र क्याम्पसमा हुने आर्थिक अनियमितता हटाउन नवनियुक्त क्याम्पस प्रमुखले काम गर्नुपर्ने उनले बताए ।

प्रगतिशिल प्राध्यापक संघका अध्यक्ष रुद्रहरी ज्ञवालीले पनि कार्यक्रममा बोल्दै साधारण सभाले सरस्वती बहुमुखी क्याम्पसलाई कसरी नयाँ दिशामा लैजाने र कसरी क्याम्पसको शैक्षिक गुणस्तर बढाउने भन्ने बारेमा निष्कर्ष निकाल्नुपर्ने र सोहि अनुसार काम गर्नुपर्ने बताए ।

क्याम्पस प्रशासनले पनि विद्यार्थी संघ संगठनहरुका जायज मागलाई सम्बोधन गर्नुपर्ने र संगठनहरुले पनि क्याम्पस प्रशासनसँग हातेमालो गर्दै क्याम्पसलाई सहि दिशामा अघि बढ्न सहयोग गर्नुपर्ने बताए । साधारण सभामा उठेका सवालहरुको जवाफ दिदै क्याम्पस प्रमुख डा.ठाकुर प्रसाद वाग्लेले सरोकारवाला निकायहरुको राय सुझाब लिएर सोहि अनुसार क्याम्पसको हकहितका लागि काम गर्ने योजना बनाएको बताए ।

कार्यक्रममा बोल्दै उनले क्याम्पसको आर्थिक पारदर्शिता, शैक्षिक सुधार, र भौतिक पुर्वाधार निर्माण लगायतका काममा जोड दिने बताएका छन् । क्याम्पसमा हुने गरेका आर्थिक अपारदर्शितामा तथा शैक्षिक व्यवस्थापनसम्बन्धी अनियमितताप्रति उनले कडा असन्तुष्टि जनाउँदै सुधारका लागि कडा नीतिहरू लागू गर्ने घोषणा गरेका हुन् ।

क्याम्पस प्रमुखले ३० वर्षको संस्थागत अनुभव सुनाउँदै क्याम्पसमा देखिँदै आएको ‘लुट्न सके लुट’ प्रवृत्तिले संस्था कमजोर बन्दै गएको बताए । उनले राजनीतिक दबाब, व्यक्तिगत सम्बन्ध र आर्थिक अनियमितताका कारण क्याम्पसको मूल शैक्षिक चरित्र कमजोर भएको भन्दै अब कडा नियमनमार्फत सुधार अनिवार्य भएको बताए ।

क्याम्पस प्रमुखले आर्थिक पक्षमा कडाइ आवश्यक रहेको उल्लेख गर्दै विचार समूह, प्राध्यापक संघ, कर्मचारी युनिट तथा वित्तीय जिम्मेवारीमा रहेका सबैलाई सो सम्बन्धी कागजात सार्वजनिक गर्न आग्रह गरे । आर्थिक पारदर्शिता नहुँदा संस्थामाथि नै गम्भीर प्रश्न उठेको उनले बताए ।

क्याम्पसमा मध्यस्तरको सबैभन्दा ठूलो समस्या ‘मोनिटरिङको कमी’ रहेको बताउँदै उनले अबदेखि सबै विभाग प्रमुखले मास्टर रुटिन तयार गरी क्याम्पस प्रशासनमा बुझाउन अनिवार्य हुने जानकारी दिए ।एकै प्राध्यापकले एउटै कक्षामा दुई विषय पढाउन नपाइने, कक्षा वितरण क्षमताका आधारमा हुने र डाइरेक्टर तथा डिपुटी डाइरेक्टरले सीमित कक्षा मात्र लिन पाउने नियम लागू गरिएको उल्लेख गरे ।

उनका अनुसार रिसर्च विषयको गुणस्तर सुधार्न रिपोर्ट राइटिङ तथा प्रपोजल तयारी एउटै प्राध्यापकबाट गराउने परम्परा तोड्दै नयाँ प्राध्यापक चयन गर्ने व्यवस्था अनिवार्य गरिएको छ । एमबीएस, एमफिल तथा पीएचडीमा विद्यार्थीको स्तर उकास्न ‘हाउ टु पास टीयू सेवा आयोग’ विशेष कक्षा सञ्चालन गरिने पनि उनले बताए ।

‘७५ जनामा पाँच जना मात्रै पास भइरहनु क्याम्पसका लागि लज्जास्पद हो,’ भन्दै उनले आन्तरिक करार, मोरल बिल्डिङ र विशेषज्ञद्वारा विशेष प्रशिक्षणमार्फत सेवा आयोग पास दर बढाउने घोषणा गरे ।

Logo