काठमाडौं । प्रतिष्ठित शैक्षिक परामर्शदाता अल्फा बिटाले आयोजना गरेको ‘अष्ट्रेलिया फेम ट्रिप रि–भिजिटेड, एक्स्पिरियन्स सेयरिङ एण्ड क्लोजिङ डिनर’ कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार आफ्नै कम्प्लेक्समा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथीका रुपमा नेपालस्थित अष्ट्रेलियाली दूतावासका मिसन प्रमुख ग्रेग क्लेमको उपस्थिति रहेको थियो । यसबाहेक, नेपालका शीर्ष स्कूल तथा कलेजहरूका प्रतिनिधि, विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयका अधिकारीहरू र शैक्षिक काउन्सलरहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप जीवन्त र प्रभावकारी बनाएको थियो ।

प्रमुख अतिथि क्लेमले कार्यक्रमलाई सम्बोधन गर्दै अष्ट्रेलियाका विश्वविद्यालयहरूले शिक्षा मात्र प्रदान नगरी संस्कृति, संस्कार र वैश्विक दृष्टिकोण पनि सिकाउने जानकारी दिए । उनले यो फेम ट्रिपले नेपाली सहभागीहरूलाई अष्ट्रेलियाको शैक्षिक जगतलाई नजिकबाट बुझ्ने अवसर दिएकोमा पनि सबैलाई धन्यवाद दिएका थिए ।
अल्फा बिटा ग्रुपका कार्यकारी अध्यक्ष द्विराज शर्माले “अल्फा बिटाले सधैं परम्परागत शैक्षिक सीमाहरूलाई पार गरेर नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यमा जोड दिएको जानकारी दिए । अष्ट्रेलिया फेम ट्रिप रिभिजिटेड’ कार्यक्रम त्यसैको मूर्त रूप भएको पनि” उनले जानकारी दिए ।
यो कार्यक्रमको मूल उद्देश्य नेपाल र अष्ट्रेलियाका शैक्षिक संस्थाहरूबीच उत्पादक संवाद र दीर्घकालीन सहकार्यको आधार तयार पार्नु थियो । यस कार्यक्रमले नेपालका प्रमुख शैक्षिक संस्थाहरूलाई एकीकृत गर्दै अष्ट्रेलियाको उन्नत शैक्षिक प्रणाली, उपलब्ध अवसर तथा अध्ययन वातावरणबारे विस्तृत छलफलको अवसर जुटाएको थियो । त्यस्तै कार्यक्रममा सहभागीहरूले अष्ट्रेलियाको बहुसांस्कृतिक समाज, नवीनतम प्रविधिमा आधारित शिक्षण पद्धति र विद्यार्थीकेन्द्रित नीतिहरूबारे पनि गहन बहस गरेका थिए ।

कार्यक्रमको हाइलाइटमा ‘अष्ट्रेलिया फेम ट्रिप’को अघिल्लो संस्करणका सहभागीहरूले आफ्ना रोचक अनुभवहरू साझा गरेका थिए । उनीहरूले अष्ट्रेलियाका प्रमुख शहरहरूको भ्रमण, त्यहाँका विश्वविद्यालयहरूको भ्रमण तथा सांस्कृतिक अनुभवहरूबाट सिकेका पाठहरूबारे जीवन्त कथाहरू सुनाएका थिए । विशेषगरी प्रिमियर स्कूलकी शैक्षिक निर्देशक प्रविना थापाको अनुभव साझेदारी सबैको केन्द्रमा थियो । उनले अष्ट्रेलियाको शैक्षिक प्रणालीले कसरी नवप्रवर्तन र सांस्कृतिक विविधतालाई जोड दिएको छ भन्ने बारेमा विस्तृत रूपमा वर्णन गरेकी थिइन् ।
समग्रमा ‘अष्ट्रेलिया फेम ट्रिप रि–भिजिटेड, एक्स्पिरियन्स सेयरिङ एण्ड क्लोजिङ डिनर’ कार्यक्रमले नेपाल र अष्ट्रेलियाबीचको शैक्षिक सम्बन्धलाई थप सुदृढ बनाउने मात्र नभई, भविष्यका यस्ता कार्यक्रमहरूबाट नेपालको शिक्षा क्षेत्रलाई थप उज्ज्वल र प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ ।





























प्रतिक्रिया