मन प¥यो, मन दुख्यो, मन पोल्यो, मन भारी भयो, मन थाम्न गाह्रो भो, मन पग्लियो, मनै म¥यो, मनै बिभ्mयो, मन छोयो, मन खायो आदि इत्यादि सुनियो तर यो ‘मन’ भन्ने जिनिश चै कहाँनेर कस्तो हुन्छ मैले भेट्दै भेटिन ।
‘मन’ भन्नासाथ मुटु पनि जोडिएर आउछ, मुटु भन्यो कि ‘मन’ टाँसिएर आउँछ । साँच्ची मन र मुटु दाजुभाई हुन् कि श्रीमान्श्रीमती ? कि गर्लफ्रेण्ड र ब्वायफ्रेण्ड ? कि नङ र मासु ? तपाई यो छुट्याउदै गर्नुहोस् म चै ‘मन’ कहाँनेर हुँदो रैछ खोज अनुसन्धानतिर लाग्छु । कसैले केही नराम्रो भन्यो कि हाम्रो मन दुख्छ र चित्त दुख्छ । पित्त थाहा छ तर यो चित्त भन्ने कुरा हाम्रो शरिरमा कहाँनेर हुन्छ ? बरु पित्त दुख्यो भने उपचार हुन्छ यो चित्त दुख्यो भने उपचार हुन्न रे । चित्तसँगै मान्छेको मन पनि दुख्छ भन्छन् । आफूलाई भने यहाँ ‘मन’ कहाँनेर हुन्छ भन्नेसम्म अत्तोपत्तो छैन । मन दुख्ने बित्तिकै छाम्छु तर कही भेटिदैन । कहाँ मात्र छाम्नु !
आफ्नो शरिरको सबै एक्सरे गरेर हेरे । मुटुसँगै टाँसिएको हुन्छ कि भनेर पनि हेरे, त्यहाँपनि रैनछ । शिरदेखि पाउसम्म नियाल्दा पनि ‘मन’ लाई भेटिन । मेरो शरिरमा मात्रै नभएको हो कि भनेर नजिकको मान्छेको शरिरको पनि स्क्यान गरियो, उसकोमा पनि रहेनछ । बंशानुगत गुणले हाम्रो सन्ततीमा ‘मन’ भन्ने अंग नभएको होलाकि भनेर टाढाका एक चिनारुको स्क्यान गरियो, उसकोमा पनि ‘मन’ भन्ने कुरा भेटिन । अनि ठूलाठालुको शरिरमा मात्रै हुने हो कि भन्ने लाग्यो । एकपटक तालु नियाल्दै एक ठालुलाई जि हजुरी गरेर खोजतलास गरे तर उनकोमा पनि ‘मन’ भन्ने तन्तु नै भेटिन । ‘गरिबहरुको मन फराकिलो हुन्छ’ भन्ने कतै सुनेको थिए त्यसैले रत्नपार्कको आकाशेपुलमा माग्न बसेका भाईलाई फकाईफुकाई एक्स रे गराए । बिचराको शरिरमा त ‘मन’ मात्रै होईन मासु पनि रहेन छ ।
अनि लाग्यो पृथ्वीमा बस्नेको मात्रै ‘मन’ नहुने होला । त्यै भएर अस्ती मंगल ग्रहमा घडेरी किन्ने नेपालीदेखि चन्द्रमामा बसाई सर्ने खैरेसम्मको स्क्यान अध्ययन गरे । बरु मेरो भए भरको पसिना र पैसा सकियो तर यो ‘मन’ भन्ने अंग कहीकतै कसैकोमा पनि फेला पार्न सकिन ।
आफूले यहाँ ‘मन’ नभेटेर असिनपसिन भैरा’बेला मान्छेहरु चै ‘मन’ लाई साक्षात भेटेर हात मिलाएर आएको जसरी ‘फलानाको मन नै सानो छ’ भन्छन् । पक्कै देखेरै छोएरै त ‘मन’ सानो भनेर थाहा पाएका होलान् भन्ने लागेर एक जनालाई सोधिहाले– ‘मन सानो भनेको कति ग्रामे, कति पाउ, कति किलोर कत्रो, कहाँ हुन्छ ?’ बिचरा अवाक भए । बडो हावातालमा ‘मन’ सानो भन्दो रै’छ भनेर थर्काएर आईयो ।
अनि सोच्न थाले– ‘अब हुँदै नभएको ‘मन’ चै कसरी दुख्दो रै’छ ?’ किटकिट दुख्छ कि भतभती दुख्छ ? चिरचिर दुख्छ कि बिस्तारै दुख्छ ? दुखेपछि घाउ जसरी पाक्छ कि पाक्दैन ? पिप निस्किन्छ कि रगत ? मन दुखेपछि पोल्छ कि पोल्दैन ? दुखेको मनमा मल्हम लगाउने कि सुई घोच्ने ? ट्याब्लेट दिने कि झोल ? अप्रेशन कसरी गर्ने ? कहानेर औषधि ग¥यो भने दुखेको मन निको हुन्छ ? न मैले ‘मन’ लाई भेटे न यी सब जिज्ञासा मेटिदिने मान्छे नै भेटे । ममा मनको जिज्ञासा भने ज्वालामूखीको ज्वारभाटा जसरी उम्लेको छ ।
फेरि कोही कोही भन्छन् ‘फलानाको मन त एकदमै फराकिलो छ ।’ फराकिलो भनेको च्याउ जत्रो कि नाङलो जत्रो ? कलेजो जत्रो कि पैताला जत्रो ? नाङलो जत्रो हुने भए चै मेरा ज्यानमा ‘मन’ नभएकै होला भन्ने लाग्यो किनकी आप्mनो ज्यानमा नाङलो जत्रो मन अट्ने स्पेश नै छैन । ‘मन फराकिलो हुन्छ’ भन्ने कुरालाई आधार मानेर एकपटक हात्तीको अप्रेशन पनि गरियो तर त्यो प्रयास पनि बेकार भो । मेरो बेकारे अप्रेशन देखेर हात्तीको ‘नभएको मन’ पनि दुख्यो होला सायद । अझ कोहीकोही त यति फटाहा हुन्छन कि ‘मान्छेको हृदय एकदम फराकिलो हुनुपर्छ’ भनेर दर्शन छाटिरहेका हुन्छन् । हृदय भनेको मुटु । यतिसानो मुटु त बस्ने ठाउँ नभएर कोचिएर बसिरहेका हुन्छ, नाङलो जत्रो फराकिलो भयो भने त हाम्रो ज्यान कत्रो हुने होला ! सम्झी सम्झी रुन मन लाग्छ भन्या ।
एकदिन मनमाया बहिनीले मेरै अगाडि ‘मन पोल्यो’ भनिन् । मैले ‘ए नानी मन पोल्दा कहाँनेर पोल्छ ?’ भनेर सोधे । नानीले झर्किदै ‘यी यहाँनेर पोल्छ’ मात्र भनिन् तर ठाउँ देखाईनन् । भर्खरका नानीहरुको सदाबहार शब्द ‘यी हो, यी छ, यी यहाँ’ भन्ने शब्दले नै अप्ठेरै पार्ने रैछ । नानीको त्यो त थेगो रैछ । आफू त सोझो मान्छे, झन्डै ‘खै कहाँनेर भनेर सोध्न खोजेको’ । नानी उफ्रेर गैहाली र बाँचियो । सोधेको भए बित्यास पो पर्ने रहेछ !
कोहीकोही फेरि ‘अब त मनै म¥यो’ भन्छन् । ‘मनै म¥यो’ भन्नुको अर्थ ‘म नै मरे अर्थात आफै मरे’ भनेको हो कि के भनेको सोच्दासोच्दै निदाएछु । सपनामा पनि ‘मन’ कै मलामी गएको पो देखे भन्या । ‘मन’ लाई दागबत्ती दिन लाग्दा झल्याँस्स ब्युँझे । साच्ची ‘मन’ मरेको भनेको के हो ? यदि ऊ आफै मरेको भए मरेको मान्छेले ‘म नै मरे’ भनेर कसरी बोल्नु । ‘मन’ भन्ने कुनै जिनिश थियो भने मन मर्दा पनि मान्छे नमर्ने रैछ भनेर बुझियो । किनकी मन मर्दा पनि ऊ त बोलिरहेको छ । ‘मन’ मर्दा पनि मान्छे बाँच्ने रैछ त्यसैले यो ‘मन’ भन्ने जिनिश हुनु र नहुनुको कुनै फरक रहेनछ जस्तो लाग्यो । अनि यो मरेको ‘मन’ लाई कहाँ लगेर अन्तिम संस्कार गर्छन्? शरिरभित्र ‘मन’ हुन्थ्यो भने ‘मन’ लाई मात्रै निकालेर कसरी लाने होला ? कि ‘मन’ लाई शरिरभित्र दागबत्ती दिईन्छ ? शरिरभित्र मनको दाह सस्कार गर्दा मान्छे जल्दैन ? कि मरेको ‘मन’ लाई शरिरभित्रै कुहाएर राख्ने ? अनि साच्चै त्यो कुहिएको ‘मन’ चै गन्हाउदैन भन्या? कोही कोही मान्छे किन अनौठो गन्हाउछन् भनेको उनीहरुको ज्यानभित्र ‘मन’ कुहिएर त होईन ?
‘मन पग्लियो’ मैले सुन्ने गरेको अर्काे अचम्मको शब्द । ‘मन’ चै कसरी पग्लिन्छ ? पग्लिन त जमेको हुनुपर्याे । भनेपछि ‘मन’ भन्ने कुरा हिउँ जस्तै डल्लो हुन्छ, हो ? ल मानौ, मन पग्लियो रे । मन पग्लिएर बगेको रस कता बग्छ ? तलबाट जान्छ कि माथिबाट ? मन पग्लिनेहरुको चुहिएको रसबाट ‘मन’ को अध्ययन गरौ भनेको कतैबाट चुहिएकोसम्म पनि थाहा भएन । अनि ‘मन’ पग्लिनलाई कति डिग्रीको तापक्रम चाहिने हो भनेर सोधिखोजी गरे त्यो पनि कसैलाई थाहा रहेन छ । हिउँ पग्लेर पानी बन्छ भने मन पग्लेर के बन्छ ? भनेर हाजिरीजवाफमा पनि सोधियो तर सबै फेल । कतै ‘मन’ पग्लेर नै मुटु बनेको त होईन ? यो त झनै असम्भव । फेरि भनिन्छ ‘नि ढुंगा पग्लिएला तर मन पग्लिएन रे ।’ कोही मन पग्लियो भनेर गुनासो गर्ने कोही फेरि मन पग्लिएन भनेर गुनासो गर्ने । मैले मात्रै कतिको गुनासो सुन्न हरे शिव !
मलाई सबैभन्दा भयानक लाग्ने अरु कुराहरु जस्तै मन खायो, मन छोयो, मन बिभ्mयो । मन चाँही कसले खायो ? टोकेर खानुपर्ने कि सुर्लुप्पै निल्न मिल्छ ? ‘मन’ नै खाएपछि मान्छे मर्दैन ? आप्mनो मन आफैले खाने कि अरु कसैले ? खाँदाखेरी स्वाद भेज जस्तो हुन्छ कि ननभेज जस्तो ? मासु हो भने भेजहरुले त खान नमिल्ला नि । अनि साच्ची भेजहरुको मन पनि भेज नै हुन्छ कि ननभेज ?बर्षामा पातमा पानी पर्दा निस्किएको पानीको फोका जसरी यस्ता प्रश्नहरु उफ्रेको उफ्रेयै छ ।
मान्छेहरुले ‘मन छोयो’ भन्छन् । देख्दै नदेखेको ‘मन’ लाई कुन चै विद्धानले कसरी छोएछ ? हातले छुने कि जिब्रोले ? जिब्रोले छुनेहरुले भनिदिनु प¥यो कस्तो टेस्ट आउँछ ? छुँदा जिउ रनक्क तातिन्छ कि थर्कमान हुन्छ ? हातले छुनेहरु भनिदिनु प¥यो । मन हिउ जस्तै चिसो साह्रो हुन्छ कि नौनी जस्तो नरम र चिप्लो हुन्छ कि सुक्या काठ जस्तो खस्रो ? छुँदा हातमा टास्यो कि टाँसेन ? एक जना आमाले ‘मनै बिभ्mयो बाबु’ भन्नुभयो । आफू त सिधा मान्छे, साह्रो माया लागेर आयो । एकातिर माया दर्शाउन नि पाइने अर्काेतिर ‘मन’ भन्ने जिनिश छुन, देख्न, चिन्न पनि पाइने । त्यही भएर ‘खै आमा ‘मन’ मा के बिझेको हो, म बिस्तारै निकालिदिन्छु ।’ भने । त्यही बेलादेखि हाँस्न थालेको आमै अझैसम्म हाँसेको हाँस्यै हुनुहुन्छ । अचेल उहाँले छिमेकीलाई हाँस्य आसन सिकाउन थाल्नु भएको छ ।
बिहेमा केटी हेर्न गएको बेला ससुरा बाले फ्याट्टै भन्नुभयो– ‘केटाकेटीको मन मिले भैहाल्छ ।’ ‘मन’ खोज्दै हिडेको म बबुरोलाई अब के चाहियो र । हुनेवाला बुढीयासँग ‘मन’ रहेछ मज्जाले देख्न पाइने भो भनेर तीन बित्ता उफ्रिए । हुनेवाला बुढीयाले एकदिन फोन गरेर सोधिन्– ‘मलाई हजुर मनैदेखि मन प¥यो, हजुरलाई चै म कस्तो लाग्यो ?’ उनको मुखवाट निस्केको शब्द नै मलाई राम्रो लाग्यो किनकी मेरो हुनेवाला बुढीयासँग ‘मन’ रैछ र त मनैदेखि मनप¥यो भनिन् । बल्लतल्ल ‘मनवाली’ भेटिएको छ त्यो नि फुट्क्यो भने त ‘मन’को अनुसन्धान नै चैट हुन्छ भन्ने लाग्यो त्यसैले मैले पनि हचुवामै भन्दिए ‘मलाई पनि तिमि राम्री लाग्यो’ ।
बिहे गरेर ल्याएकै दिन कहिले एकान्त होला र बुढीयासँग ‘मन’ हेरौ भन्ने लाईराथ्यो । रात छिप्पिदै गयो, उनलाई किन काउगुती लाग्यो थाहा भएन आफूलाई भने कहिले उनको ‘मन’ हेरौँ भन्ने हतार भैरहेको थियो, तर भन्नै सकिन । बल्लतल्ल मुख खोलेर भने– ‘तिमीले मलाई मन त परायौ तर तिम्रो त्यो ‘मन’ चै कहाँ छ, मलाई देखाउन मिल्छ ?’ बिचरीले के बुझिन् कुन्नी । रातभरी हाँसेको हाँस्यै ।
एकदिन त भनिन्– ‘म हजुरलाई मन खोलेर माया गर्छु ।’ माथि भनिहाले नि आफू सिधा मान्छे परियो । माया पनि लागेर आयो र भने– ‘मन खोलेपछि चिसो लाग्ला, नखोल्नु ।’ मन खोल्ने भनेको छाला च्यात्ने भनेको हो कि मनलाई नै टुक्राटाक्री पार्ने भनेको हो ? खोल्न मिल्ने मन भनेपछि त कतै जिपर लाउने तरिका पो छ कि भन्ने पनि लाग्यो । मनलाई खोल्न र लाउन मिल्ने भनेपछि त झनै अचम्म लाग्यो । मनमा जिपर हुन्छ कि ढकनी हुन्छ ?
बुढीयाले नि मलाई ढाट्यो भन्ने लाइराछ । किनभने उनले उहिले नै ‘मन प¥यो’ भनिन् तर अहिलेसम्म त्यो ‘मन’ भन्ने चिज देखाउन सकिनन् । त्यै ‘मन’ भन्ने जिनिश देख्न पाइएला भनेर त्यत्रो धुमघामका साथ बिहे गरियो, अहिले हातमा लाग्यो शून्य । त्यसैले अब ‘मन प¥यो’ भन्नुको सट्टा ‘लभ प¥यो’ भन्नुपर्छ भन्ने सिद्धान्त प्रतिपादन गरेको छु । हुँदै नभएको ‘मन’ कसरी पर्छ ?
एकपटक नारायण पुजामा गएको थिए । पण्डितले ‘मनमनै आफ्नो नाम लिएर ‘म’ ‘म’ भन्नु’ भन्नुभयो । अरु सबै चुप लागेर मनमनै भने क्यारे, माहोल सुनसान बन्यो तर मसँग त ‘मन’ नै थिएन अनि कसरी मनमनै ‘म’ ‘म’ भन्नु र ! त्यही भएर मैले चै मुखैले भन्दिएँ ‘म म रामजी, म म रामजी ।’ मैले मुखैले ‘म’ ‘म’ भनेको सुनेर पण्डित बाजेले खाने म:म सम्झिनु भो कि कुन्नी, मरिमरि हाँस्नु भो । बाजे नै हाँसेपछि भक्तजन सबैले आफ्नो नाम लिएर ‘म’ ‘म’ भन्नुको सट्टा ‘म म रामजी’,‘म म रामजी’ भनेर पो जिस्काउन थाले ।
अचेल पुराण भन्दै गएर ‘म’ ‘म’ भन्ने ठाउँमा पुगेपछि मेरो कथा सुनाउनु हुन्छ रे बाजेले । मलाई त आनन्द भा’छ । बाजेले जहाँ जहाँ पुराण भन्नुहुन्छ त्यहाँ बाजे आफैले मेरो नाम भनिदिनु हुन्छ । मैले मनमनै भनिरहनै परेन । ‘मन’ खोज्नेक्रममा एकदिन मनबहादुर दाईकोमा पनि पुगेँ । ‘मन’ कै बहादुर भनेपछि पक्कै ‘मन’ भेट्छु भन्ने कत्रो आश थियो । तर दाईको जवाफ सुनेर खुत्रुकै भईयो । ‘मन’ नै नभएको दाईको नाम मनबहादुर रे । हुन त यहाँ धनी मान्छेको नाम गरिवनाथ हुन्छ, गरिव मान्छेको नाम धनबहादुर हुन्छ ।
मन मिलेको कुरा चै आईरहन्छ । मन मिलेपछि मान्छे मिल्छ रे, मलाई चै यो कुरा पत्यार लाग्दैन । मान्छे पो सँगै बसेपछि मिल्छ त, देखिदै नदेखिने ‘मन’ कसरी मिल्न सक्छ ? ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ भन्दै एकजना भाई युट्युवमा भाइरल भईरहेका छन् । ति भाईलाई पनि सोधे– ‘भाइ धन भन्ने कुरा त मलाई थाहा छ, तर यो ‘मन’भन्ने कुरा कस्तो हुन्छ, कहाँ हुन्छ, कत्रो हुन्छ ? मलाई पहिले यसको जवाफ देउ अनि म तिमीलाई मन ठूलो कि धन ठूलो भन्ने कुराको जवाफ दिन्छु ।’ भाईले फिस्स हाँस्दै भने– ‘अरे दाई, मैले पनि थाहा नपाएर नै त सोधेको !’ बिचराले आफै मन देखेको रहेनछ, हावातालमा धनसँग तुलना गरेर दुनियाँलाई उल्लु बनाए ।
मैले कोर्षबुकदेखि फेसबुकसम्म, गुगलदेखि बुईंगलसम्म, विकिपेडियादेखि उत्तर कोरियासम्म खोज्दा पनि यो ‘मन’ भन्ने कुरा अझै भेट्न सकिन । यो जुनीमा ‘मन’ भन्ने खत्रा जिनिश हेर्न नपाइने भो भन्ने बडो चिन्ता लाइरा’छ । मनकामना माताले मनोईच्छा पूरा गरिदिन्छिन् रे भन्ने सुन्छु । भगवानले पक्कै ढाट्दैनन् त्यसैले ‘मन’ भएर नै मनकामनाले त्यो मनको ईच्छा पूरा गरिदिने भनेका होलान् । लौ न माता, हजुरले त पक्कै ‘मन’ लाई देख्नु भएको होला । त्यो ‘मन’ लाई देख्ने मेरो मनोईच्छा पनि पूरा गरि देउ प्रभु ।































प्रतिक्रिया