काठमाडौं । नेवार समुदायले राष्ट्रिय विभूति शंखधर शाख्वाको प्रतिमामा माल्र्यापण गर्दै नेपाल संवत ११४१ लाई स्वागत गरेका छन् । विशेषगरी नेवार समुदायले नेपाल संवत धुमधामका साथ मनाउने गर्दछन् । विगतका वर्षहरुमा मोटर साइकल र्याली, सहर परिक्रमा लगायतका विभिन्न कार्यक्रम गरी नेपाल संवत मनाउने गरिएको भएपनि यो वर्ष कोरोना महामारीका कारण औपचारिकतामा मात्रै सिमित गरिएको हो ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवतको सुरुआत गरेको विश्वास गरिन्छ । विश्वभरी नेपाल समुदायले नेपाल संवत मनाउने गरेका छन् । नेवार समूदायका अगुवाहरुले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा मान्यता दिएर पनि सरकारले आधिकारिक रुपमा प्रचलनमा नल्याएको भन्दै सरकारसँग असन्तुष्टी व्यक्त गरेका छन् । नेपालको आफ्नो संवत हुँदाहुँदै पनि प्रचलनमा नल्याउनु दुःखद भएको नेवार समुदायका अगुवा भनाइ छ ।
नेपाल संवतलाई राष्ट्रिय मान्यता दिँदै आधिकारिक रुपमा प्रचलनमा ल्याउनुपर्ने माग राख्दै विसं २००७ सालदेखि नै अभियान चल्दै आएको छ । अहिले विश्व नै कोरोना महामारीसँग लडिरहेको अवस्थामा ‘कोरोनामुक्त वर्ष ११४१’ होस भन्ने कामनाका साथ शुभकामना आदान प्रदान गरि नेपाल संवत मनाइ रहेको नेपाल संवत (न्हुँद) राष्ट्रिय समारोह समितिका संयोजक रमेश महर्जनले बताए ।
गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए । विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा समेत गरेका थिए । तर आधिकारिक दस्तावेजहरुमा भने राष्ट्रिय संवत भनेर उल्लेख गरेको पाइदैन् ।







































प्रतिक्रिया