कर्णालीमाथि सुदूरपश्चिमको सानदार जित

कर्णालीमाथि सुदूरपश्चिमको सानदार जित

केन्द्रबिन्दु
66
Shares

काठमाडौं । सुदूरपश्चिम रोयल्सले जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले कर्णाली याक्समाथि ४५ रनको सानदार जित निकालेको हो ।

१४० रनको सामान्य विजयी लक्ष्य पछ्याउने क्रममा कर्णाली १९.२ ओभरमा अलआउट हुँदै ९४ रनमा समेटिएको हो ।

कर्णाली याक्सको सुरुवात निराशाजनक रह्यो। प्रारम्भिक ब्याट्सम्यानहरू प्रियन्क पाँचाल शून्य, मार्क वाट १७ रन, विलियम बोसिस्टो ९ रन, र नजिबुल्लाह जद्रान १ रनमा पेभेलियन फर्किएपछि कर्णालीको स्कोर ५.२ ओभरमा २९/४ को नाजुक अवस्थामा पुगेको थियो।

कर्णली याक्सका लागि पवन सर्राफले सर्वाधिक २७ रन बनाए पनि उनले २६ बलको सामना गरेका थिए, जसले गर्दा टोलीको रनरेटमा दबाब पर्यो। तीव्र गतिमा रन बनाउने प्रयासमा मार्क वाटले १० बलमा २ छक्कासहित १७ रन प्रहार गरे पनि उनी धेरै बेर टिक्न सकेनन्।

त्यस्तै, सोमपाल कामीले १४ तथा गुलशन झाले १३ रनको योगदान दिए। टोलीको शीर्ष क्रमका ब्याट्सम्यानहरू खासै जम्न सकेनन्।

सुदूरपश्चिमका बलरहरूले कर्णली याक्सका ब्याट्सम्यानहरूलाई क्रिजमा टिक्नै दिएनन्। कप्तान दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए। यसैगरी स्कट कुगलेइन र हरमित सिंहले अत्यन्तै किफायती र धारिलो बलिङ गरे। कुगलेइनले ४ ओभरमा मात्र ९ रन खर्चेर १ विकेट लिए भने हरमितले ४ ओभरमा १९ रन दिएर महत्त्वपूर्ण २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक रन बनाए । उनले २८ बलको सामना गर्दै २ चौका र १ छक्कासहित ३९ रनको महत्त्वपूर्ण पारी खेले। मध्यक्रममा आरिफ शेखले २५ बलमा २७ रन जोडे भने ओपनर क्रिस लिनले २० बलमा १८ रनको योगदान दिए । सुदूर पश्चिमका ब्याट्सम्यानहरूले राम्रो सुरुवात पाए पनि ठूलो साझेदारी बनाउन नसक्दा स्कोर धेरै माथि पुग्न सकेन ।

कर्णाली याक्सका बलरहरूले कसिलो बलिङ गर्दै रोयल्सलाई ठूलो स्कोर बनाउनबाट रोकेका थिए । कर्णालीका कप्तान सोमपाल कामीले आफ्नो ४ ओभरको स्पेलमा ३२ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए ।

यसैगरी, नन्दन यादव सबैभन्दा किफायती बलर रहे । उनले ३ ओभरमा मात्र ११ रन दिएर २ विकेट हात पारे। अन्य बलरहरू युनिष ठकुरी, विलियम बोसिस्टो र जिशन मक्सूदले पनि १/१ विकेट लिए।

यसअघि सुदूरपश्चिमले पोखरा र काठमाडौंमाथि जित दर्ता गरेको थियो । गत संस्करण उत्कृष्ट प्रदर्शनका बाबजुद फाइनलमा स्तब्ध बनेको सुदूरपश्चिम यस पटक उपाधि जित्ने दाउमा छ ।

Logo