हेटौंडाबाट सुमार्गीको घोषणा- आफ्ना संरचना आफैं भत्काउँछु तर पीडितले न्याय पाउनुपर्छ

हेटौंडाबाट सुमार्गीको घोषणा- आफ्ना संरचना आफैं भत्काउँछु तर पीडितले न्याय पाउनुपर्छ

केन्द्रबिन्दु
27
Shares

हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष तथा मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अरुणराज सुमार्गीले हेटौँडा सडक विस्तारलाई सहज बनाउन २५–२५ गज सीमा भित्र पर्ने आफ्ना निजी संरचना स्वयं भत्काउने घोषणा गरेका छन् ।

शुक्रबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा उनले आफू सडक विस्तारका पक्षमा दृढ भएको स्पष्ट पारे । सुमार्गीका अनुसार झण्डै नौ वर्षअघि नै सडक विस्तारको प्रारम्भिक सूचना आएपछि आफूले घर खाली गरिसकेको बताए । तर निजी सम्पत्ति प्रयोग गर्दा राज्यले कानुनअनुसार मुआब्जा दिनुपर्ने भएकाले त्यसका लागि आफूले लडाइँ जारी राख्ने स्पष्ट धारणा राखे ।

‘सडक विस्तार रोक्ने पक्षमा छैन, तर पीडितले न्याय पाउनै पर्छ,’ सुमार्गीले भने ।

उनले सो क्षेत्रमै पाँच हजारभन्दा बढी व्यवसायी रहेको उल्लेख गर्दै ती सबैको व्यवस्थापनका लागि हेटौँडा उपमहानगरपालिकाले अहिलेसम्म स्पष्ट योजना नल्याएको आरोप लगाए । कर संकलनका समयमा व्यवसायीलाई खोज्ने तर समस्या पर्दा व्यवस्थापनमै उदासीन रहने उपमहानगरपालिकाको व्यवहारप्रति उनले असन्तोष व्यक्त गरे।

सडक डिभिजन कार्यालय हेटौँडाले मंसिर ५ गते जारी गरेको सूचनामा रातोमाटेदेखि बुद्धचोक–राप्ती पुल र बुद्धचोक–सामरी पुलसम्मका सडक किनारका २५–२५ गज भित्रका सबै संरचना मंसिर १९ गतेभित्र हटाउन निर्देशन दिएको छ । सो अवधिभित्र संरचना नहटाए कानुनी कारबाही अघि बढाइने चेतावनी समेत सूचनामा उल्लेख छ ।

सडक विस्तार प्रभावित स्थानीय र व्यवसायीले भने मुआब्जा नदिई संरचना हटाउन दवाब दिँदा आफूहरू सुकुम्बासी बन्ने अवस्थासम्म आइपुगेको गुनासो गरेका छन्। ‘मुआब्जा नदिएर अघि बढे जोखिम उठाउन बाध्य हुनेछौँ,’ स्थानीयले चेतावनी दिँदै सडक विस्तारप्रति विरोधभन्दा बढी न्यायको माग रहेको बताएका छन्।

हेटौँडा सडक विस्तारको मुद्दा चर्किँदै गएको समयमा सुमार्गीको स्वयं संरचना हटाउने घोषणा क्षेत्रका अन्य प्रभावितका लागि सन्देशस्वरूप हेरिएको छ, भने मुआब्जा–व्यवस्थापनको निष्पक्ष समाधान भने अझै कुहिरोमा छ।

Skip This
Skip This
Logo