कीर्तिपुर । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत विराटनगर किंग्सले रोमाञ्चक जित दर्ता गरेको छ । कीर्तिपुर मैदानमा आज भएको दोस्रो खेलमा विराटनगरले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको हो ।
विराटनगरको यो पाँचौं खेलमा चौथो जित हो । उसले अघिल्लो ४ खेलमध्ये तीन खेलमा विजयी हुँदै ६ अंक जोडेर अंक तालिकाको दोस्रो स्थान कायम राखेको थियो । यो जितसँगै ८ अंक जोडेर प्लेअफ यात्रा बलियो बनाएको छ । विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले, दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेटले, तेस्रो खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको थियो। चौथो खेलमा विराटनगर चितवन राइनोजसँग ४८ रनले पराजित भएको थियो।
यता कर्णालीको भने यो चौथो खेलमा तेस्रो हार हो । कर्णालीले पहिलो खेलमा चितवन राइनोजससँग ४ विकेटले पराजय ब्यहोरेको थियो। दोस्रो खेलमा लुम्बिनी लायन्सलाई ९ विकेटले हराउँदा तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले पराजित भएको थियो।
आज भएको खेलमा कर्णालीमाथि जित निकाल्न विराटनगरले अन्तिम ओभरसम्मै कुर्नुपर्यो । कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले एक बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्यो । विराटनगरको जितमा बसिर अहमद नायक बने । उत्कृष्ट ब्याटिङ गर्दै उनले ४३ बलमा ६२ रन बनाएर अविजित रहे । अन्तिम दुई बलमा चार रन चाहिएको स्थितिमा विराटनगरका बसिर अहमदले कर्णालीका नन्दन यादवलाई छक्का प्रहार गर्दै टोलीलाई जिताए।
नारायण जोशीले २५ रन बनाउँदा शाहिल पटेलले १९ रन तथा साम हिजलेटले १६ रन जोडे । साथै लोकेश बम ६ रन, मार्चेन्ट डि लिङ २ रन, र प्रतिश जिसी ६ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ६ रनमा अविजित रहे ।
बलिङमा कर्णालीका कप्तान सोमपाल कामी र गुल्सन झाले समान दुई विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६० रन जोडेको थियो । कर्णालीका लागि ओपनर प्रियाङ्क पञ्चाल र मध्यक्रमका ब्याट्सम्यान विलियम बोसिस्टोले उत्कृष्ट अर्धशतकीय साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोर्याएका थिए।
पञ्चालले सर्वाधिक ६३ रन जोडे। उनले ४७ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे। अर्का ब्याट्सम्यान विलियम बोसिस्टोले ४८ बलमा ४ चौकासहित ४८ रन बनाएर अविजित रहे।
तीव्र गतिमा रन जोड्ने क्रममा गुलशन झाले केवल १० बलमा २० रन बनाए, जसमा २ चौका र १ छक्का समावेश थियो। विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले ४ ओभरमा मात्र २४ रन खर्चेर १ विकेट लिए र सबैभन्दा किफायती बलर बने। मार्चेन्ट डी लाङ्गेले पनि २९ रन खर्चेर १ विकेट लिए।
बसिर अहमद र साम हेजलेटले पनि आफ्नो ४, ४ ओभरको स्पेलमा क्रमशः २५ र ३२ रन खर्चे पनि कुनै विकेट लिन सकेनन्।































प्रतिक्रिया