२०८२ मंसिर १४ देखि २० गतेसम्मको राशिफल ।
ज्योतिष शास्त्रअनुसार ब्रह्माण्डमा मुख्यतः नौ ग्रह छन्—सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु । त्यस्तै, कुल १२ राशि हुन्छन्। वैदिक ज्योतिषमा जन्म समयमा चन्द्रमा रहेको राशिलाई ‘चन्द्र राशि’ भनिन्छ, र यही राशिका आधारमा जातकको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरूको विश्लेषण गरिन्छ।
हामी यही चन्द्र राशि र ग्रहहरूको गोचर अनुसार साप्ताहिक राशिफलको मूल्याङ्कन गरी तपाईंलाई मार्गदर्शन प्रदान गर्दछौं । साप्ताहिक राशिफलको माध्यमबाट तपाईंले जान्न सक्नुहुन्छ कि यो साता तपाईंको लागि कस्तो रहनेछ, के–के नयाँ परिवर्तन आउन सक्छन्, र भाग्यले कति साथ दिनेछ।
हामीले प्रस्तुत गरेका उपायहरू ग्रहजन्य बाधा–विघ्न हटाउन र सप्ताहलाई शुभ बनाउन सहायक हुने विश्वास लिएका छौं। यद्यपि, सबै राशिका जातकहरूलाई सबै कुरा समान रूपमा लागू नहुन पनि सक्छन्, किनभने यी भविष्यवाणीहरू ग्रहहरूको गोचर र त्यसको प्रभावका आधारमा गरिएका हुन्। तर, यदि तपाईंले सुझाइएको उपाय अपनाउनुभयो भने, यो साता तपाईंका लागि अधिक लाभदायक र सफल रहन सक्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल–
मेष राशि
यो सप्ताह मिश्रित तर प्रगतिमूलक रहनेछ । कुनै पनि काम समर्पण र लगनसाथ गर्नुभयो भने मनग्गे सफलता मिल्ने योग बनिरहेको छ। आधामा छोड्ने बानीबाट टाढा रहनुहोला। कुनै ठूलो निर्णय लिनु परेमा मात्र तपाईंको सोचभन्दा अरू अनुभवी तथा शुभचिन्तक व्यक्तिहरूको राय पनि लिनु बुद्धिमानी हुनेछ।
सप्ताहको उत्तरार्धतिर कार्यक्षेत्रमा प्रतिष्ठा र जिम्मेवारी बढ्ने मौका मिल्नसक्छ । अग्रज वा वरिष्ठहरूले कुनै महत्त्वपूर्ण जिम्मेवारी सुम्पने सम्भावना छ, जसलाई कुशलतापूर्वक पूरा गर्न सक्नुभयो भने तपाईंको कद र प्रभाव दुवै बढ्नेछन्।
व्यवसायमा नयाँ सम्झौता वा लेन–देन गर्दा सावधानी आवश्यक छ।जोखिमपूर्ण निवेशबाट बच्नु लाभदायक हुने छ । कागजी प्रक्रिया र डकुमेन्ट समयमै पुरा गर्नुहोला, ढिलाइले समस्या दिन सक्छ।नयाँ कारोबार सुरु गर्ने अनुकूल समय देखिन्छ। विदेशी कम्पनी वा अन्तर्राष्ट्रिय क्षेत्र मा कार्यरत व्यक्तिहरूका लागि सप्ताह अत्यन्त लाभकारी देखिन्छ भने नयाँ निवेशले लाभ दिने, सामाजिक मान–प्रतिष्ठा बढ्ने योग छ ।
सप्ताहन्ततिर बेरोजगार जातकलाई नयाँ रोजगारीको अवसर प्राप्त हुने सम्भावना बलियो।सप्ताहको सुरुवात केही कमजोर रहने। अनावश्यक खर्च र मानसिक तनाव बढ्न सक्छ—सकारात्मक सोच कायम राख्नुहोस्। आँखामा जलन वा सानो स्वास्थ्य असुविधा देखिन सक्छ। कसैको बहकावमा परेर निर्णय नलिनुहोला।मध्य सप्ताहमा महत्त्वपूर्ण वस्तु हराउने संकेत, सावधान रहनुहोस्।बच्चाहरूमा बानी बिग्रन नदिने ध्यान दिन आवश्यक।
उपाय- शिवाष्टकंको नित्य पाठ गर्नुहोस्।
वृष राशि
यस हप्ता वृष राशि भएका व्यक्तिहरूले कुनै पनि काम आधा मनले वा लापरवाहीपूर्वक नगर्नु उचित हुनेछ । अल्छीपनाले गर्दा सुरु भइरहेको काम बीचमै बिग्रिन सक्छ, त्यसैले मनोबल र उत्साह दुवै मजबुत राख्नु आवश्यक छ। हप्ताको सुरुवात उत्साह र खुसीले भरिएको रहनेछ। प्रियजन वा आफन्त घर आउने सम्भावना छ जसले घर–परिवारमा खुसीको वातावरण बनाउनेछ।
सुरुका दिनहरूमा तपाईंले आफ्ना आवश्यकता वा इच्छा अनुसार कुनै महँगो सामान किन्ने अवसर मिल्न सक्छ, तर त्यसले आर्थिक पक्षमा केही असर पर्न सक्छ, त्यसैले खर्च सन्तुलित राख्नु राम्रो हुनेछ। हप्ताको मध्यतिर जागिर वा पेशामा कार्यभार बढ्न सक्छ र काममा दबाब महसुस हुन सक्नेछ। तर बुद्धि–विवेकको साथमा काम गरेमा समस्या समाधान गर्ने क्षमता तपाईँमा रहनेछ र समयमै काम पूरा गर्ने सम्भावना बलियो छ।
यस समय विपरित लिङ्गप्रति आकर्षण बढ्ने सम्भावना छ । हालसालै बनेको मित्रता प्रेम सम्बन्धमा परिणत हुनसक्छ भने पहिलेबाट चल्दै आएको सम्बन्ध अझ मजबुत बन्नेछ । दाम्पत्य जीवन सुखद रहनेछ र घर–परिवारमा आपसी समझदारी कायम रहनेछ। विद्यार्थीहरूले मन लगाएर अध्ययन गर्ने भएकाले पढाइमा राम्रो प्रगति हुनेछ।
उपाय- दैनिक रूपमा स्फटिकको शिवलिंगमा जल चढाई पूजा गर्दा तथा दुर्गा/शिव चालीसा पाठ गर्दा मनाेबल, निर्णय क्षमता र शुभ फल प्राप्त हुने मानिन्छ।
मिथुन राशि
यो हप्ता उतार–चढाव र सुधार दुवै लिएर आउनेछ । हप्ताको सुरुमा धेरै काम एकै पटक पूरा गर्नुपर्ने, दौडधूप बढ्ने र थकान महसुस हुने सम्भावना छ। योजना बनाएको काममा ढिलाइ हुन सक्छ, निर्णयमा द्वन्द्व देखिन सक्छ र केही मानिसको व्यवहार पनि मन नपर्ला। यस समय अनावश्यक बोलचाल, तर्क–वितर्क तथा गोप्य शत्रुबाट सावधान रहने राम्रो हुन्छ। जागिरेहरूले मन नपर्ने जिम्मेवारी पाउन सक्छन् वा सरुवा–स्थानान्तरण जस्तो विषय अगाडि आउन सक्छ। यस्तो बेला आफू कमजोर नबन्ने, आत्मविश्वास घट्न नदिने र परिस्थिति धैर्यले सम्हाल्ने क्षमता महत्वपूर्ण हुन्छ।
तर हप्ताको उत्तरार्धमा स्थिति क्रमशः अनुकूल बन्न थाल्नेछ। लगन, निरन्तरता र प्रयासको राम्रो फल मिल्ने छ। रोजगारीमा वरिष्ठ अधिकारीले कामको प्रशंसा गर्ने सम्भावना छ, प्रतिष्ठा बढ्ने संकेत छ र नयाँ अवसरहरूको ढोका खुल्न सक्छ। व्यापार–व्यवसायमा लाभ वृद्धि, नयाँ ग्राहक, विस्तार गर्ने योजना तथा रोकिएको काम अगाडि बढ्ने योग छ। साझेदारी व्यवसायमा पार्टनरको साथ–सहयोग राम्रो रहनेछ, संयुक्त निर्णयबाट फाइदा मिल्न सक्छ। कुनै प्रभावशाली व्यक्ति, मित्र वा परिवारको सहयोगले पुरानो अपूर्ण कार्य सजिलै पूरा हुने सम्भावना प्रबल छ।
सम्बन्ध र पारिवारिक पक्षबाट पनि यो हप्ता सकारात्मक छ। प्रेम सम्बन्धमा विश्वास, नजिकपन र मिठास बढ्नेछ। विवाहित दाम्पत्य जीवनमा हाँसो–खुशी साझा गर्न समय मिल्नेछ, दूरी वा तानाव भए मिल्ने सम्भावना छ। अविवाहितका लागि विवाह वा राम्रो प्रस्तावका संकेत देखिन्छ। परिवारमा मेलमिलाप, सुखद भेटघाट तथा पुराना मतभेद हट्ने संभावना छ।
धन–सम्बन्धी पक्ष दृष्टिले पनि यो हप्ता राम्रो रहन सक्छ। नयाँ व्यवसाय सुरु गर्ने वा पुरानो विस्तार गर्ने योजना सफल हुन सक्छ। जमिन–घर–गाडी किनबेचको अवसर भेटिन सक्छ, पितृ पक्षबाट लाभ वा सम्पत्ति प्राप्ति सम्भव छ।
उपाय- प्रतिदिन गणेशजीको पूजा गरी दुबो अर्पण गर्नु,गणेश चालीसा वा ‘ॐ गं गणपतये नमः’ मन्त्र जप गर्नु लाभदायक हुनेछ ।
कर्कट राशि
यो हप्ता मिश्रित नतिजा र अनुभव लिएर आउनेछ । हप्ताको सुरुआत केही चुनौतीपूर्ण देखिन्छ—कुनै महत्वपूर्ण काममा अचानक अवरोध आउन सक्छ, अपेक्षा अनुसार काम अघि नबढ्दा मन खिन्न बन्नसक्छ। व्यापार वा रोजगारीको क्षेत्रमा प्रतिस्पर्धा बढ्ने संकेत छ, प्रतिस्पर्धी वा विरोधीहरू सक्रिय भई दवाव सिर्जना गर्न सक्छन्।
व्यापारीले बजारमा सुस्ती वा माग घटेको महसुस गर्न सक्छन्, लाभ कम र खर्च बढी हुने सम्भावना पनि रहेको छ। आर्थिक निर्णय हतारमा नगरी सावधानीपूर्वक लिनु बुद्धिमानी हुनेछ।हप्ताको मध्य भाग विशेष संवेदनशील देखिन्छ।परिवारका सदस्य, साथीभाइ वा सहकर्मीको भावना बुझेर चल्नुपर्छ। सानो कुरामा झर्को वा तिक्तता बढे सम्बन्धमा दूरी आउन सक्छ।
मनको तनाव स्वास्थ्यमा असर पुर्याउन सक्छ, त्यसैले चिन्ता जमाउनुभन्दा समस्या साझा गर्नु लाभदायक हुनेछ। दाम्पत्य जीवनमा जीवनसाथी नै सबैभन्दा ठूलो सहारा बन्न सक्छन्—उनको माया र सहयोगले मानसिक राहत मिल्ने संभावना छ।हप्ताको अन्त्यतिर समय बिस्तारै सहज र सहायक बन्दै जानेछ। ससुराली पक्षबाट समर्थन वा सहयोग प्राप्त हुन सक्छ। कुनै शुभचिन्तक–परिचित, गुरु वा प्रभावशाली व्यक्ति रोजगार, कामको अवसर वा रोकिएको कार्य पूरा गराउन मद्दतगार बन्न सक्छ।
तर एक कुरा अत्यन्त महत्वपूर्ण — आलस्य, ढिलाइ र अहंकारले आएको अवसर हत्तपत्त हातबाट छुटाउन सक्छ, त्यसैले कार्य जिम्मेवारीसहित समयमै पूरा गर्नु राम्रो हुनेछ। घरमा धार्मिकता, पूजा–पाठ वा कुनै मंगलकामको वातावरण बन्नसक्छ। हप्ताको अन्त्यमा तीर्थयात्रा, मन्दिर दर्शन वा आध्यात्मिक यात्राको योजना बन्ने सम्भावना बलियो देखिन्छ। हफ्ता सामान्य रहनेछ तर तनाव र क्रोध नियन्त्रणमा राख्नु उत्तम हुनेछ ।पेट, छाती वा निद्रा सम्बन्धी असहजता भए बेवास्ता नगर्नु राम्रो हुन्छ ।
उपाय- हरेक दिन शिव चालिसा पाठ गर्नु लाभदायी हुनेछ।
सिंह राशि
याे हप्ता मिश्रित तर फलदायी रहनेछ । कहिले गति लिएर जीवन तीव्र गतिमा अघि बढेको महसुस हुनेछ भने कहिले अचानक केही काम रोकिएझैँ गरी धैर्यको परीक्षा लिने परिस्थितिहरू पनि बन्न सक्छन्। यस हप्तामा व्यवसाय गर्नेहरूलाई बजारमा उतार–चढाव भेटिनसक्छ । प्रतिस्पर्धी बलियो बनेर अघि बढ्न सक्छन्, त्यसैले आफ्नो योजनालाई व्यवस्थित तरिकाले अघि बढाउने बुद्धिमानी हुनेछ। मार्केटमा साख कायम राख्न कडा मेहनत र रणनीति आवश्यक हुनेछ।
हप्ताको सुरुवातमा आर्थिक पक्ष तेर्सो देखिन सक्छ—धनप्रवाह कम तर खर्च बढ्ने सम्भावना छ । नयाँ लगानी वा सम्झौता गर्नुअघि विश्वासिला व्यक्तिसँग सल्लाह लिनु उपयोगी रहनेछ। मध्यम तथा उत्तरार्धमा परिस्थितिमा सुधार देखिनेछ, धनलाभका अवसर बन्नेछन्।
नोकरी वा पेशागत क्षेत्रमा मानप्रतिष्ठा बढ्ने योग छ। कामको प्रशंसा, अधिकारीहरूको सहयोग तथा पदोन्नतिको सम्भावना पनि रहेको देखिन्छ। प्रतियोगी परीक्षा, इन्टरभ्यू वा नयाँ अवसर खोजिरहेकाहरूलाई यस हप्ताले राम्रो ऊर्जा दिन सक्छ।हप्ताको मध्यदेखि अन्त्यसम्म ऊर्जा सकारात्मक मोडतिर जान्छ।
यदि तपाईंले लामो समयदेखि जमिन, भवन, सवारी साधन किन्न वा बेच्ने योजना बनाइरहनुभएको छ भने यस हप्ताले अनपेक्षित रूपमा त्यसलाई सहज बनाइदिन सक्छ । व्यापार विस्तार, नयाँ प्रोजेक्ट सुरु गर्ने वा लगानी गर्ने राम्रो समय पुष्टि हुन्छ । तर सल्लाह लिएपछि मात्र अघि बढ्नु बुद्धिमानी हुनेछ।परिवारसँग समय बिताउने मौका मिल्नेछ। घरमा हर्षमय वातावरण बन्न सक्छ । समाजमा प्रतिष्ठा र सम्मान बढ्नेछ।
तर हप्ताको प्रारम्भमा स्वास्थ्यमा असर, थकान वा मौसमी समस्याले मन कमजोर बन्न सक्छ—विशेष गरी चिसोबाट बच्नु, खानपानमा ध्यान दिनु र पर्याप्त विश्राम लिनु राम्रो।यस समयमा गुप्त शत्रु वा ईर्ष्या गर्ने व्यक्तिहरू सक्रिय हुन सक्छन्, त्यसैले आफ्नो योजना र गोप्य काम धेरैलाई खुलासा नगर्नु उचित हुनेछ।
उपाय- हरेक बिहान सूर्याष्टकको पाठ गर्नु वा सूर्य देवतालाई अर्घ्य दिनु राम्रो हुनेछ ।
कन्या राशि
यो हप्ता शुभ, सक्रिय र उपलब्धिमूलक रहने संकेत छ । केही समयदेखि रोकिएको काम अगाडि बढ्नेछ र अचानक आर्थिक लाभ प्राप्त हुने सम्भावना बलियो देखिन्छ। कुनै महत्वपूर्ण ऋण तिर्ने अवसर मिल्नेछ, जसले मन हलुका र आत्मविश्वास बढाउनेछ। स्थायी सम्पत्तिमा वृद्धि हुने योग छ—जमिन, घर–जग्गा वा सवारी साधन किन्न/बेच्ने योजना बनेको छ भने समय अनुकूल देखिन्छ। पारिवारिक सम्पत्ति सम्बन्धी विवादहरूसमेत समाधानतर्फ अघि बढ्न सक्छन्।
व्यवसाय संचालन गर्नेहरूका लागि बजार सहयोगी हुनेछ। व्यापार विस्तार वा नयाँ योजना सुरु गर्ने सोच छ भने जोखिमभन्दा अवसर बढी देखिन्छ । विशेषगरी विदेशसँग सम्बन्धित काम वा निर्यात–आयातमा संलग्न व्यक्तिहरूलाई लाभ अधिक मिल्ने छ।
नोकरीपेशा व्यक्तिले उच्च अधिकारीसँग राम्रो सम्बन्ध बनाएर अघि बढे राम्रो, किनकि पद–परिवर्तन, प्रमोशन वा नयाँ रोजगारीको प्रस्ताव आउने योग पनि छ। यदि तपाईं लामो समयदेखि जागिर परिवर्तन गर्न चाहिरहनुभएको छ भने यो हप्ता सोचेको दिशा खुल्न सक्छ।प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सोचिरहनुभएको छ भने परिवारजन सहमत हुने मौका छ । विवाहित जीवन मधुर रहनेछ, जीवनसाथीको साथ–समर्थनले मनोबल बढाउनेछ। घर परिवारमा धार्मिक वा शुभकार्यको वातावरण बन्न सक्छ, जसले सकारात्मक ऊर्जा थप्नेछ।
यो हप्ता शुभ भए पनि सावधानी हटी–दुर्घटना घटी भन्ने चेतावनी सम्झिरहनु बुद्धिमानी हुनेछ।काम योजनाबद्धरूपमा र समयमै पूरा गर्नुहोस्।कागजी काम, कर/नियम, कानुनी दस्तावेजमा लापरवाही नगर्नुहोस्। सवारी चलाउँदा विशेष सतर्कता, किनकि हप्ताको अन्त्यतिर अनपेक्षित खर्च वा क्षति हुने संकेत देखिन्छ।बजेट मिलाएर चल्नु राम्रो, किनकि आकस्मिक खर्च बढ्न सक्छ । संकट वा दवावका बेला मित्र, परिवार र शुभचिन्तक ठूलो सहारा बन्नेछन्।
उपाय- प्रत्येक दिन भगवान श्री गणेशलाई दुबो अर्पण गरेर ॐ गम गणपताय नम मन्त्रको १०८ जप गर्नु शुभ हुनेछ।
तुला राशि
यो हप्ता समग्रमा सुनौलो अवसर, प्रगति र लाभ दिने प्रकारको रहन सक्छ । तपाईंले पछिल्लो समयमा जुन–जुन क्षेत्रमा निरन्तर प्रयास गरिरहनुभएको थियो, त्यसको धेरैजसो फल यसै साताबाट प्राप्त हुन थाल्ने योग बलियो देखिन्छ। सरकारी वा प्रशासनिक काम काजमा अड्केका कुरा अघि बढ्ने, महत्वपूर्ण व्यक्तिहरूबाट सहयोग मिलने, र आफ्नो क्षमता चिनाउने मौका मिल्ने संकेत छ । करियरमा उचाइ बढ्ने, व्यापारमा विस्तार हुने, र नयाँ सम्भावनाहरू खुल्ने सम्भावना उच्च छ।
यदि तपाईं बेरोजगार हुनुहुन्छ भने मनचाहा रोजगार मिल्ने, इन्टरभ्यू वा अवसर आउने सम्भावना बलियो छ । पहिले नै जागिरमा हुनुहुन्छ भने उच्चाधिकारीले तपाईंको कामको प्रशंसा गर्ने, जिम्मेवारी बढ्ने, पद वा प्रतिष्ठा बढ्ने सम्भावना रहन्छ।
व्यवसायीहरूका लागि विशेष गरी सप्ताहको मध्य भाग अत्यन्त लाभदायक देखिन्छ। नयाँ डिल, साझेदारी, बाहिरबाट पुँजी जुटाउने प्रयास सफल हुन्छ । विदेश वा बाह्य बजारमा काम गर्नेहरूलाई पनि फाइदा, आदेश र अवसर प्राप्त हुनसक्छ।
यस हप्ता आर्थिक गति सहज रहने, पैसाको आवतजावत राम्रो हुने, पूँजी व्यवस्थापन सहज हुने देखिन्छ । पारिवारिक पक्षबाट, विशेष गरी पितृपक्षबाट सहयोग, स्रोत, आशिर्वाद वा सम्पर्क पाइने योग छ ।
यद्यपि हप्ताको अन्त्यतिर खर्च अचानक बढ्न सक्छ, त्यसैले योजनाबद्ध तरिकाले खर्च गर्नु बुद्धिमानी हुनेछ । घर–परिवारमा खुशीको वातावरण, पारिवारिक मेलमिलाप, उत्सव वा कार्यक्रममा सहभागी हुने मौका मिल्नेछ। पुराना साथी तथा आफन्तसँग भेटघाट हुँदा मन हलुका हुनेछ ।
वैवाहिक जीवनमा माया, साथ र समर्पण बढ्ने संकेत छन् । जीवनसाथीको सहयोगले तपाईंलाई काम–कारोबारमा पनि राम्रो बल मिल्नेछ। प्रेम सम्बन्धमा गहिराई बढ्नेछ र विवाहको कुरा अघि बढाउन चाहे सम्बन्धीहरू राजी हुने सम्भावना पनि राम्रो देखिन्छ ।
हप्ताको सुरूवात र मध्य सुस्तिलो भए पनि अन्त्यतिर शरीर अलि थाकेजस्तो, पुराना रोग सताउनसक्ने, मानसिक दवाव बढ्ने संकेत छन्। तपाईं हतारमा निर्णय नलिनुहोस्, अहंकार वा आवेगले बोल्नुहुँदैन, र अनावश्यक विवाद/हस्तक्षेपबाट टाढा बस्नु राम्रो हुन्छ । माता–पिताको अवज्ञा नगर्नुहोस, भावनात्मक रूपमा पनि उनीहरूको आदरले नै तपाईंलाई शुभफल दिन्छ।
उपाय- हरेक दिन भगवती दुर्गाको पूजा गर्दै दुर्गा चालीसाको पाठ गर्नु शुभ रहनेछ।
वृश्चिक राशि
यो हप्ता मिश्रित परिणाम दिने देखिन्छ । तपाईंले धन र समयको व्यवस्थापन विशेष ध्यान दिएर गर्नु पर्छ । कुनै पनि योजना वा कार्यका लागि खर्च गर्दा सोच–विचार गरेर निर्णय लिनु आवश्यक छ, नत्र आर्थिक पक्षमा असर पर्न सक्छ। यदि तपाईं भवन वा भूमि किन्न योजना गर्दै हुनुहुन्छ भने, कागजात राम्रोसँग जाँच्नुस र लेनदेनमा विशेष सतर्क रहनुहोस्, नत्र अनावश्यक झन्झट आउन सक्छ।
व्यवसायीहरूलाई यो हप्ता जोखिमपूर्ण लगानीबाट टाढा रहनु उपयुक्त हुनेछ। पैतृक सम्पत्ति वा व्यवसाय सम्बन्धी निर्णय गर्दा शुभचिन्तक वा अनुभवी व्यक्तिको राय लिनु फाइदाजनक रहन्छ।
नौकरी पेशा जातकका लागि हप्ताको पूर्वार्ध तुलनात्मक रूपमा सहज रहला भने उत्तरार्धमा केही समस्या वा तनावको सामना गर्नुपर्नेछ । कार्यालयमा कामकाजको दबाब बढ्न सक्छ, तर सहयोगी र उच्च अधिकारीको सहयोग पाइने संभावना छ।
यो हप्ता प्रेम सम्बन्धमा सावधानी अपनाउनुपर्ने देखिन्छ। देखावटी नगर्नुहोस् र कुनै वाचा गर्नअघि विचार पुर्याउनुहोस्, नत्र पछि पालन गर्न गाह्रो पर्न सक्छ। जीवनसाथीसँग घुमघाम वा यात्रा गर्ने अवसर मिल्नेछ। परिवारमा सानो–ठूलो मतभेद वा द्वन्द्व देखिन सक्छ, तर संयम र समझदारीले समस्या समाधान गर्न सकिन्छ।
आर्थिक पक्षमा सावधानीपूर्वक खर्च र लगानी गर्नु आवश्यक छ। व्यवसायमा फण्ड सम्बन्धी समस्या समाधान हुनेछ। कुनै ठूलो निर्णय लिनुअघि लाभ–हानी राम्ररी मूल्याङ्कन गर्नु उपयुक्त छ।
शारीरिक स्वास्थ्यमा ध्यान दिनुहोस्। पेटको गर्मी वा अस्वस्थता हुन नदिन प्रर्याप्त पानी पिउनु र खानपानमा सतर्क रहनुहोस्।सन्तानको प्रगति देखेर खुशी मिल्नेछ।कानूनी वा प्रशासनिक मामलामा विजय सम्भावना छ।सहकर्मीको सहयोगले कार्य सफल हुने संभावना छ।शनि सप्तम भावमा भएकाले कार्यक्षेत्रमा प्रशंसा पाउनुहुनेछ।
उपाय- प्रतिदिन हनुमानजीको पूजा गर्दै चालीसा पाठ गर्नु लाभकारी हुनेछ।
धनु राशि
यो हप्ता आफ्नो गोल्डेन समयको पूर्ण लाभ उठाउन तयार हुनुपर्नेछ । लामो समयदेखि तपाईंले जस अवसरको पर्खाइ गर्नु भएको थियो, त्यो यस हप्तामा प्राप्त हुन सक्छ। साथीभाइ र नजिकका व्यक्तिहरूको सहयोग तपाईंका लागि धेरै लाभदायक रहला।रोजगार वा व्यवसाय सम्बन्धी यात्रा सुखद र लाभप्रद रहनेछ। बेरोजगार जातकलाई रोजगारी प्राप्त हुने संभावना छ । यस समयमा तपाईंको सकारात्मक सोच र मेहनतले तपाईंका योजनाहरूलाई गति दिनेछ।
धन–धान्य र अचल सम्पत्ति प्राप्त हुने योग बनिरहेको छ। यदि तपाईंलाई सम्पत्ति सम्बन्धी परिवारसँग कुनै विवाद थियो भने, आपसी समझदारी र सहमतिबाट समाधान निकालिनेछ। यस समयमा तपाईंको मान–प्रतिष्ठा बढ्नेछ । घरमा सन्तानको उपलब्धीले खुशीको वातावरण सिर्जना गर्नेछ ।
भाग्यको सहयोगका कारण सबै कार्यहरू अपेक्षित सफलता प्राप्त हुनेछन्। स्वास्थ्य सामान्य रहनेछ । हप्ताको सुरुवातमा परिवारसँग सम्बन्धित केही समस्याले तपाईंको मनमा चिन्ता उत्पन्न गर्न सक्छ। साना–साना काम पूरा गर्न तपाईंलाई अधिक मेहनत र समय खर्च गर्नुपर्ने हुनसक्छ । परिवार वा कार्यक्षेत्रमा तपाईंको कुरा नसुन्नु वा अधिकारमा कमी देखिनुले मन खिन्न हुन सक्छ।
सप्ताहको पूर्वार्धमा मानसिक अशान्ति रहला, तर उत्तरार्धमा इष्ट मित्र र शुभचिन्तकको सहयोगले समस्याहरू समाधान हुने सम्भावना छ । व्यवसाय वा आय–व्ययको हिसाबले यो हप्ता मिश्रित फलदायी रहनेछ। तपाईंले आय त पाउनुहुनेछ, तर खर्च बढी हुनसक्छ । यस हप्तामा सुख–सुविधा वा आवश्यकता भन्दा बढी खर्च गर्न सक्ने जोखिम छ ।
सप्ताहको उत्तरार्धमा स्वास्थ्य र सम्बन्धमा सावधानी आवश्यक छ । पेट सम्बन्धी समस्या देखिन सक्ने हुँदा खानपानमा विशेष ध्यान दिनुहोस्। प्रेम जीवनमा साथी वा जीवनसाथीसँग सानो विवाद हुन सक्छ, यसलाई संवाद र समझदारीबाट समाधान गर्नु बुद्धिमानी हुनेछ।
उपाय- प्रतिदिन पूजा गर्दा श्री विष्णु सहस्त्रनामको पाठ गर्नु लाभदायक हुनेछ।
मकर राशि
यो हप्ता अत्यन्त शुभ, सफल र अवसरपूर्ण रहनेछ । यस हप्तामा तपाईंको जीवनमा धेरै महत्वपूर्ण अवसरहरू आइपर्ने छन्, जसले तपाईंको करियर, व्यापार, आर्थिक स्थिति र व्यक्तिगत जीवनमा सकारात्मक प्रभाव पार्नेछ।
सप्ताहको सुरुवातमा तपाईंको परिवारसँग लामो दूरीको यात्रा वा धार्मिक–मांगलिक कार्यमा समय बित्नेछ । यस क्रममा तपाईंले परिवारसँगको सम्बन्ध अझ बलियो बनाउने अवसर पाउनुहुनेछ । हप्ताको यो समय तपाईंको सामाजिक र पारिवारिक जिम्मेवारी पूरा गर्न महत्वपूर्ण रहनेछ ।
व्यवसाय वा करियरसँग सम्बन्धित जातकहरूका लागि यो हप्ता निकै अनुकूल रहनेछ। तपाईंले आफ्नो व्यवसाय वा कार्यालय कार्यहरूमा पूर्ण मेहनत र लगन देखाउनु हुनेछ। वरिष्ठ अधिकारीहरू र सहकर्मीहरू दुवैको सहयोग प्राप्त हुनेछ, जसले तपाईंको काममा सहजता र सफलता ल्याउनेछ। आर्थिक दृष्टिले यो हप्ता धनलाभ, लगानीमा वृद्धि र संचित पूँजीको वृद्धि लिएर आउनेछ। यदि तपाईंले भूमि, भवन वा सम्पत्तिको किनबेच वा विवादमा कुनै समस्या भोग्दै आउनु भएको छ भने, यस हप्तामा विशेष व्यक्तिको सहयोगले संवाद र समझदारीमार्फत समस्या समाधान हुने संभावना छ।
यदि तपाईं विदेशमा करियर वा व्यापारको योजना बनाइरहनु भएको छ भने, यस हप्तामा तपाईंले सकारात्मक परिणाम र सफलता प्राप्त गर्ने अवसर पाउनु हुनेछ। तपाईंको योजना र मेहनतले यहाँ राम्रो फल दिनेछ।मकर राशीका जातकका लागि यो हप्ता व्यापार, करियर, धनलाभ र प्रेम सम्बन्धमा सफलता दिनेछ। परिवार र मित्रहरूको सहयोगले तपाईंको कार्यहरू सहज बनाउनेछन्। सबै कार्य सोचविचारसहित गर्नुहोस् र आफ्नो निर्णयमा समझदारी अपनाउनुहोस्।
प्रेम जीवनमा तपाईं र तपाईंको लव पार्टनरबीच सामंजस्य, समझदारी र राम्रो तालमेल रहनेछ। वैवाहिक जीवन सुखमय रहनेछ र दांपत्य जीवनमा प्रेम, सद्भाव र सहयोगका अवसरहरू बढ्नेछन्। परिवारसँगको सम्बन्धमा पनि प्रेम र सहकार्य बढ्नेछ।
उपाय- प्रतिदिन शिव भगवानको पूजा गर्दै रुद्राष्टकंको पाठ गर्नु लाभदायक हुनेछ। यसले तपाईंको जीवनमा शान्ति, सफलता, आर्थिक लाभ र स्वास्थ्य लाभ ल्याउनेछ।
कुम्भ राशि
यो हप्ता जीवनमा नयाँ अवसर र सकारात्मक परिवर्तन ल्याउने रहनेछ । तपाईंले लामो समयदेखि जुन अधूरो काम वा कठिनाइको सामना गर्दै आउनु भएको थियो, त्यसलाई यस हप्तामा इष्टमित्र र शुभचिन्तकको सहयोगले पूरा गर्न सकिनेछ। व्यापार वा व्यवसायमा केही समयदेखि स्थिरता नपाएको काममा अचानक गति आउनेछ र बजारमा तपाईंको प्रतिष्ठा पुनः स्थापित हुने सम्भावना छ। तर सावधानी अत्यन्तै जरुरी छ । जोशमा आएर हल्ला नगर्नुहोस् र जोखिमपूर्ण लगानीबाट टाढा रहनुहोस्। सोच–विचार र योजनाबद्ध कदम चाल्नाले मात्रै यस हप्तामा सफलता मिल्नेछ।
विद्यार्थी वर्गको ध्यान पढाइबाट अलिकति हट्न सक्छ। युवाहरूको समय अधिकांश मौज–मस्ती र मनोरञ्जनमा बित्न सक्छ । यदि तपाईंको कुनै मामला अदालत वा कानूनी प्रक्रियामा छ भने, यो हप्ता सुलह–सम्झौताबाट समाधान प्राप्त हुने सम्भावना छ।
कुम्भ राशि भएका जातकले कार्यक्षेत्रमा पूर्ण मनोयोगका साथ काम गर्नु हुनेछ। वरिष्ठ अधिकारीहरूले तपाईंको कामको प्रशंसा गर्नेछन् भने कनिष्ठ सहयोगीहरूले सहयोग र समर्थन दिनेछन्। व्यापार वा साझेदारी व्यवसायमा यो हप्ता उत्तम लाभका अवसरहरू बन्नेछन्। हप्ताको मध्यमा तपाईंको रुचि धार्मिक, सामाजिक वा मानवीय कार्यमा बढ्न सक्छ र तपाईंलाई कुनै कार्य विशेषको लागि सम्मानित पनि गरिन सक्छ।
पूर्वार्धको तुलनामा उत्तरार्ध अधिक शुभ र सफल रहनेछ। यस समयमा तपाईंले बहुप्रतीक्षित शुभ समाचार पाउनु हुनेछ । संतानको उपलब्धिले तपाईंको मानसम्मानमा वृद्धिको संकेत छ। विवाह योग्य युवक युवतीको विवाह तय हुन सक्छ। यदि घर–परिवारमा कुनै मनमुटाव थियो भने, यस हप्तामा गलतफहमीहरू हट्नेछन् र सम्बन्ध सामान्य बन्नेछ।
प्रेम सम्बन्धमा प्रगाढता रहनेछ । जीवनसाथीसँग सामञ्जस्यपूर्ण समय बित्नेछ। साझेदारीमा व्यवसाय गर्नेहरूले उत्कृष्ट लाभ र सहयोग प्राप्त गर्नेछन्। व्यवसाय, वित्त र व्यक्तिगत निर्णयमा सोच–विचारपूर्वक कदम चाल्नुहोस्। कुनै पनि कामलाई अधूरो नछोड्नुहोस् र निर्णय लिनुअघि अनुभवी व्यक्तिको सुझाव लिनु लाभदायक हुनेछ।
उपाय- प्रतिदिन हनुमान जीको पूजा गर्दै श्री सुन्दरकांडको पाठ गर्नु लाभदायक हुनेछ। यसले जीवनमा सफलता, समृद्धि, सम्मान, प्रेम सम्बन्ध र व्यवसायमा लाभ ल्याउनेछ।
मीन राशि
यो हप्ता उतार–चढाव र मिश्रित परिणाम लिएर आउनेछ । जीवनमा कतिपटक कामहरू छिटो अघि बढ्नेछन् भने कतिपटक अड्किनेछन्। हप्ताको सुरुवातमा घरायसी समस्या वा पारिवारिक झमेलाले तपाईंको मनमा तनाव ल्याउन सक्छ।
परीक्षा-प्रतियोगिता तयारी गरिरहेका विद्यार्थीहरूका लागि यस हप्तामा ध्यान भंग हुन सक्नेछ। मनचाहेको परिणाम प्राप्त गर्न सामान्य भन्दा बढी मेहनत र प्रयास आवश्यक हुनेछ। आर्थिक दृष्टिले हप्ताको पूर्वार्ध केही चुनौतीपूर्ण रहन सक्छ। यस समयमा खुल्ला हातले खर्च गर्नबाट बच्नुहोस्, नत्र कर्जा लिनुपर्ने स्थिति आउन सक्छ।
नाेकरी पेशा जातकका लागि हप्ताको उत्तरार्ध सामान्य फलदायी रहनेछ । कार्यक्षेत्रमा सीनियर वा शुभचिन्तकबाट अपेक्षित सहयोग नपाउन सक्ने सम्भावना छ । यसकारण अरूको भरमा काम नगर्नु राम्रो हुनेछ। हप्ताभर कामलाई समयमै र जिम्मेवारीपूर्वक पूरा गर्न प्रयास गर्नु आवश्यक छ।
हप्ताको उत्तरार्धमा व्यवसाय वा करियर सम्बन्धी गतिविधिमा अधिक भागदौड हुन सक्छ । तपाईंले पैतृक सम्पत्ति, भूमि–भवन वा अन्य ठूलो निर्णय लिनुपर्ने अवसर पाउनु हुनेछ। व्यापारिक लगानी वा नयाँ अवसरको मूल्याङ्कन सोचविचारसहित गर्नु लाभदायक रहनेछ।
सप्ताहको सुरुवातमा धार्मिक वा मांगलिक कार्यक्रममा सहभागिता हुने सम्भावना छ। यसले तपाईंको प्रभावशाली व्यक्तिहरूसँगको सम्बन्धलाई मजबुत पार्नेछ र समाजमा तपाईंको मान–सम्मान र प्रतिष्ठा बढाउनेछ।प्रेम सम्बन्धमा समझदारी र धैर्य आवश्यक छ। उतावलेपन वा झुठा वाचा नगर्नुहोस्। दांपत्य जीवन मधुर रहन सक्नेछ
स्वास्थ्य सामान्य रहनेछ तर खानपानमा ध्यान दिनुहोस्। तनाव र मानसिक दबाबबाट बच्न योग वा ध्यान उपयोगी हुनेछ ।
हप्ताको उत्तरार्धले सकारात्मक परिणाम र अवसरहरू प्रदान गर्नेछ। आफ्ना इष्टमित्र र शुभचिन्तकको सहयोगले धेरै काम सजिलै पूरा हुनेछन्।
उपाय- प्रतिदिन श्री विष्णु सहस्त्रनामको पाठ गर्नु लाभदायक हुनेछ। यसले जीवनमा सफलता, समृद्धि, पारिवारिक सन्तोष र प्रेम सम्बन्धमा स्थिरता ल्याउनेछ।































प्रतिक्रिया