एनपीएलमा जनकपुर बोल्ट्सको पहिलो जित, अनिल र सदाकतको अर्धशतक

एनपीएलमा जनकपुर बोल्ट्सको पहिलो जित, अनिल र सदाकतको अर्धशतक

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेता जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ । आज त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा जनकपुरले चितवन राइनोजमाथि ६ विकेटको रवाफिलो जित दर्ता गरेको हो । यसअघि खेलेका ४ वटै खेलमा हार व्यहोर्दा जनकपुरको प्लेअफ खेल्ने सम्भावना झिनो छ ।

अब बाँकी दुवै खेल जिते पनि शीर्ष चारमा रहेर प्लेअफमा पुग्नका लागि जनकपुरलाई सहज हुनेछैन । किनभने प्लेअफमा पुग्न चितवन र लुम्बिनी लायन्सले बाँकी सबै खेल हार्नुपर्छ ।

चितवनले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। जनकपुरकाे पहिलाे जितमा माअज सदाकत र अनिल साहकाे अर्धशतक महत्वपूर्ण रह्याे । ‌ओपनर माअज सदाकतले ३० बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ६३ रन बनाए। उनको याे योगदानले टोलीको लक्ष्य सहज बन्यो।

आसिफ शेख १८ बलमा १८ रन जोडेर आउट हुँदा अनिलकुमार साहले ३६ बलमा ६१ रन बनाए। अनिलले ४ चौका र ३ छक्का प्रहार गरे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएकाे थियाे । चितवनको ब्याटिङमा दुई खेलाडीले अर्धशतक प्रहार गर्दै इनिङ्सलाई बलियो बनाए।

डेभिड मलानले शानदार ब्याटिङ गर्दै मात्र ५४ बलमा ८० रन बनाए। उनले ४ चौका र ५ छक्का प्रहार गरे। यसैगरी ओपनर अर्जुन साउदले पनि उत्कृष्ट प्रदर्शन गर्दै ३९ बलमा ५२ रन बनाए। साउदको पारीमा ४ चौका र ३ छक्का सामेल थिए। कुशल मल्ल ३० रनमा अविजित रहे।

जनकपुरका बलरमध्ये माअज सदाकत, अनिल शाह र जान निकोल लोफ्टी-ईटनले समान १ विकेट लिएका थिए ।

Logo