प्राधिकरणले पायो थप ३५ मेगावाट विद्युत भारत निर्यात गर्न अनुमति

प्राधिकरणले पायो थप ३५ मेगावाट विद्युत भारत निर्यात गर्न अनुमति

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले थप ३४.९५ मेगावाट विद्युत भारत निर्यात गर्ने अनुमति पाएको छ । प्राधिकरणले सेतीनदी जलविद्युत आयोजनाको २४.२५ मेगावाट र माथिल्लो तादीखोला जलविद्युत आयोजनाको १०.७० मेगावाट विद्युत भारतको प्रतिष्पर्धी बजार भारतीय उर्जा एक्सचेन्जमा निर्यात अनुमति पाएको हो ।

भारतको डेजीग्नेटेड अथोरिटी, सेन्ट्रल इलेक्ट्रीसिटि अथोरिटीले मङ्सिर १६ गते निर्यात अनुमति प्रदान गरेको हो । यससँगै प्राधिकरणले विभिन्न माध्यमबाट (मध्यकालिन द्विपक्षीय सम्झौता) निर्यात गर्न पाउने विद्युतको परिमाण १२ सय मेगावाट पुगेको छ । यसअघि प्राधिकरणले ३३ आयोजनाका ११ सय ६५ मेगावाट विद्युत निर्यात गर्न अनुमति पाएको थियो।

प्राधिकरणले २ आयोजनाको ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्दै आएको छ भने हालै बंगलादेशमा सम्पन्न द्विपक्षीय वार्तामा थप २० मेगावाट विद्युत बंगलादेश निर्यात गर्ने समझदारी बनेको छ ।

यस्तै भारतले प्राधिकरणलाई २०४.५८ मेगावाट विद्युत निर्यात गर्न पाउने अवधि थप गरिदिएको छ। यसअघि १५ जुन देखि ३१ अक्टोबर सम्म मध्यकालीन द्विपक्षीय सम्झौता मार्फत निर्यात अनुमति प्रदान गरेका १२ आयोजनाबाट उत्पादित २०४.५८ मेगावाट विद्युत वर्षको बाँकी अवधिको लागि प्रतिष्पर्धी बजारमा निर्यात गर्न पाउने गरी निर्यात अनुमति नविकरण गरेको हो।
.
प्राधिकरणले वर्षायाममा नेपालमा खपत भई बढी भएको विद्युत भारतको प्रतिष्पर्धी बजार भारतीय उर्जा एक्सचेन्जको डे अहेड तथा रियल टाईम बजारमा प्रतिष्पर्धी दरमा द्विपक्षीय मध्यकालीन सम्झौता मार्फत हरियाणा र बिहारमा तथा भारतीय प्रशारण लाईन प्रयोग गर्दै बंगलादेशमा निर्यात गर्दै आएको छ भने सुख्खायाम नेपालमा अपुग उर्जा भारतबाट द्विपक्षीय सम्झौतामार्फत आयात गर्ने गरेको छ ।

Logo