काठमाडौँ
मुलुकको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एउटै गिरोहले पाँच वर्ष भित्र तीन हजार सात सय ९९ किलो भन्दा बढी सुन तस्करी गरेको रहस्योद्घाटन भएको छ । ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न गठित समितिले विमानस्थलबाट हुने सुन तस्करीको जालोबारे सोधखोज गर्दा पाँच वर्षमा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय ३१ रुपैयाँ बराबरको सुन अवैध रूपमा ओसारपसार भएको तथ्य सार्वजनिक गरेको हो ।
जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत मोरङलाई बुझाएको अभियोगपत्रमा सुनका मालिक गोरे भनिने चूडामणि उप्रेती र उनका सहयोगीले पाँच वर्षमा चार सय २१ पटक सुन तस्करी गरेको उल्लेख छ । आरोपपत्र अनुसार पाँच वर्षमा तीन हजार सात सय ९९ किलो ५ पाँच सय ५९ ग्राम सुन (नेपाली मूल्य १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय ३१ रुपैयाँ) तस्करीका लागि विमानस्थल प्रयोग भएको छ ।
गोरे नेतृत्वमा प्रहरीका पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, एसपी विकास खनाल, डीएसपी सञ्जय राउत, प्रहरी जवान विष्णुबहादुर खड्का, होटल व्यवसायी तथा राप्रपा नेता भुजुङ गुरुङ, टेकराज मल्ल, मोहन काफ्ले, मोहम्मद उस्तम मियाँ, लाक्पा शेर्पा, छिरिङ वाङ्गेल घले, कपिलराज पुरी लगायत ६० जनाले तस्करीलाई पूर्णता दिएको समितिको दाबी छ ।
गोरेले सुन पास गराउन प्रहरी अधिकारीहरूलाई दुई करोड २० लाख ७७ हजार बाँडेको तथ्य समेत फेला परेको छ । गोरेले हिसाब गरेको रेकर्ड फाइलमा हाल थुनामा रहेका पूर्वडीआईजी निरौलालाई १७ लाख, एसएसपी खत्रीलाई एक करोड १२ लाख ९२ हजार, एसपी खनाललाई पाँच लाख, डीएसपी राउतलाई १५ लाख, जवान खड्कालाई १९ लाख र अन्य प्रहरी कर्मचारीलाई ६४ लाख ७० हजार रुपैयाँ बाँडेको उल्लेख छ । छानबिन समितिले लिएको बयानमा आरोपीहरूले यो तथ्य स्विकारेका छन् ।
अन्नपूर्णपोस्टबाट































प्रतिक्रिया