काठमाडौं
आकाशेपानीका भरमा गरिने रोपाइँ र अन्य खेतीपातीका लागि आगामी मनसुन फलदायी बन्ने भएको छ । यस वर्षको मनसुनमा मुलुकभर औसत वर्षा हुने प्रक्षेपण गरिएको छ । दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ले हालै नेपाल सहित समग्र दक्षिण एसियाको मनसुन विश्लेषण गर्दा नेपालको वर्षा औसतका हाराहारीमा रहने ठहर गरेको हो । सरदर वर्षाको ९० देखि १ सय १० प्रतिशत सम्मलाई औसत वर्षा मानिन्छ । सो भन्दा कम र बढी वर्षा भएमा मौसमविद्हरू न्यून वा अधिक वर्षाका रूपमा बुझ्ने गर्छन् ।
विश्व मौसम संगठनको अगुवाइमा सास्कोपले हरेक वर्ष मनसुन शुरु हुनु भन्दा एक महिना अगावै दक्षिण एसियाली क्षेत्रको मनसुन सम्बन्धी दृष्टिकोण तयार गर्दै आएको छ । डेढ साता अघि भारतको पुर्णेमा भएको सास्कोप जमघटले मुलुकको आगामी मनसुन औसत रहने ठहर गरेको मौसमविद शान्ति कँडेलले बताउनुभयो ।
‘सास्कोपले हरेक वर्ष मनसुन र हिउँदे वर्षा विश्लेषण गर्दै आएको छ, नेपालको सन्दर्भमा भूगोल र स्थान विशेषका आधारमा औसत वर्षाको मात्रा फरक पर्छ ।’ –उहाँले भन्नुभयो। मनसुन अवधिमा मुलुकभरको औसत वर्षाको मात्रा १४ सय ९६ दशमलव ७ मिलिमिटर हो भने काठमाडौंको वार्षिक औसत वर्षा १४ सय ५४ दशमलव ८ मिलिमिटर हो । गत वर्ष पूर्वी र मध्य भेगमा अधिक र औसत वर्षा नाघे पनि मध्यपश्चिम र सुदूरपश्चिमका धेरै भेगमा औसत वर्षा ननाघेको जल तथा मौसम पूर्वानुमान महाशाखाको तथ्यांक छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया