कीर्तिपुर । जारी दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल)को २५औं खेलमा जनकपुर बोल्ट्सले टस जितेर ब्याटिङ गर्ने निर्णय गरे पनि उसको सुरुवात निकै खराब भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनी लायन्सका बलरहरूले कसिलो बलिङ गर्दै जनकपुरलाई दबाबमा राखेका हुन्। हाल जनकपुर बोल्ट्सले पावर प्लेमा ३ विकेट गुमाएर मात्र ३६ रन बनाएको छ।
जनकपुरका लागि ओपनर आसिफ शेखले २० रन बनाए पनि उनले क्रिजमा लामो समय टिक्न सकेनन् । उनलाई शेर मल्लाले क्याच आउट गराए। टोलीका अन्य ब्याट्सम्यान माज सदाकत ६ रन र अनिल साह ७ रन बनाएर आउट भएका छन्।
लुम्बिनी लायन्सका बलरहरूले पहिलो पावरप्ले भित्र नै जनकपुरका महत्त्वपूर्ण ३ विकेट झार्न सफल भएका छन्। जेजे स्मिथ र रुबेन ट्रम्पेलमानले १-१ विकेट लिएका छन् भने शेर मल्लाले पनि १ विकेट लिएका छन्।
प्लेअफको होडमा अगाडि बढ्नका लागि दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण रहेकोले खेल अझ रोमाञ्चक मोडमा जाने देखिएको छ।































प्रतिक्रिया