काठमाडौं । लुम्बिनी लायन्सले जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा स्थान पक्का गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको एक मात्र खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी अन्तिम चारमा पुगेको हो ।
योसँगै प्लेअफका चार टोलीको टुंगो लागेको छ । सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र विराटनगर किङ्सले यसअघि नै प्लेअफ टिकट काटिसकेका छन् । लुम्बिनीको यो हारले पोखरा एभेञ्जर्स र चितवन राइनोज पनि बाहिरिएका छन् । कर्णाली याक्स भने यसअघि नै प्लेअफको दौडबाट बाहिर गइसकेको छ ।
१३३ रनकाे लक्ष्य लुम्बिनीले निर्धारित १९.१ ओभरमा ६ विकेट गुमाउँदै योगफल तयार पारेको हाे । टोलीका लागि कप्तान रोहित पौडेलले ३२ बलमा सर्वाधिक ३४ रन बनाए।अर्का ओपनर डी’आर्सी सर्टले २४ बलमा ३० रन जोडेर टोलीलाई राम्रो सुरुवात दिएका थिए। लुम्बिनी लायन्सले नियमित अन्तरालमा विकेट गुमाएको थियो। टोलीको पहिलो विकेट १ रनमा खसेको थियो भने त्यसपछि ६१ र ८४ रनको स्कोरमा पनि लगातार विकेट गुमेका थिए।
यता जनकपुरका सङ्गीत कूरयले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २५ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन जोडेको थियाे । जनकपुर बोल्ट्सको सुरुवात निकै खराब रह्यो। सुरुवाती १३.३ ओभरमा मात्र ८३ रन जोड्दा टोलीले महत्वपूर्ण ६ विकेट गुमाइसकेको थियो। लुम्बिनीका कप्तान रोहित पौडेलले एकै ओभरमा दुई महत्त्वपूर्ण विकेट लिएर जनकपुरलाई ठूलो दबाबमा ल्याएका थिए।
यसपछि, सातौँ विकेटका लागि सङ्गीत कूर्रे र मायन यादवले उत्कृष्ट साझेदारी गर्दै टोलीको सम्मानजनक स्कोर बनाए। सङ्गीतले मात्र ३८ बलमा ४५ रनको नटआउट इनिङ्स खेल्दै टोलीको स्कोर उकासे। मायन यादवले २३ बलमा २७ रन बनाएर कूर्रेलाई राम्रो साथ दिए। साथै टोलीका लागि आसिफ शेखले २० रनको योगदान दिए।
लुम्बिनी लायन्सका बलरहरूले जनकपुरका ब्याटरलाई खुलेर खेल्ने मौका दिएनन्।
कप्तान रोहित पौडेल र शेर मल्लले समान २/२ विकेट लिए। साथै रुबेन ट्रम्पेल्म्यान र जे.जे. स्मिथले १-१ विकेट हात पारेका थिए ।































प्रतिक्रिया