काँग्रेस नेता अर्जुनप्रसाद जोशीले आज पत्रकार सम्मेलन गर्दै

काँग्रेस नेता अर्जुनप्रसाद जोशीले आज पत्रकार सम्मेलन गर्दै

केन्द्रबिन्दु
69
Shares

निर्मल पौडेल पर्वत । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले आज दिउँसो पर्वतको कुश्मामा पत्रकार सम्मेलन गर्ने भएका छन्। कांग्रेसले पौष महिनामा महाधिवेशनको कार्ययोजना सार्वजनिक गरेसँगै जोशीले आफ्नो धारणा सार्वजनिक गर्न गृह जिल्लामा पत्रकार सम्मेलन आयोजना गरेका हुन्।

प्रेस युनियनका केन्द्रिय सदस्य साजन परियारका अनुसार जोशीले पार्टीको आगामी राजनीतिक दिशानिर्देशन, महाधिवेशनका प्रमुख एजेण्डा तथा आफ्नो रणनीतिबारे महत्वपूर्ण विचार प्रस्तुति दिनेछन्।

कांग्रेसभित्र हाल देउवा, थापा र कोइराला गरी तीन धारका समूह सक्रिय छन्। जोशी कुन समूहतिर उभिने भन्ने विषय अझै स्पष्ट नभएको अवस्थामा आजको पत्रकार सम्मेलनले ठूलो चासो पाएको छ । पछिल्लो केन्द्रिय कमिटी बैठकमै जोशी थापा पक्षमा खुलेको दाबी भए पनि उनी देउवा समूहको पहलमा अर्ली महाधिवेशनका लागि सक्रिय देखिएका थिए।

जोशीले अघिल्लो १३औं महाधिवेशनअघि ‘गुट परिवर्तन’ गरी पौडेल समूहमै निकट मानिदै आइरहेका बेला देउवालाई समर्थन गरेका थिए। देउवा सभापति निर्वाचित भए पनि जोशी भने केन्द्रीय सदस्यमा पराजित भए । त्यसपछि लगातार तीन पटक विभिन्न पदमा पराजय भोग्दै आएका जोशीलाई २०७९ मा संघीय सांसदको उम्मेदवारमा पराजित भएपछि २०८० असोजमा देउवाले केन्द्रिय सदस्यमा मनोनयन गरेका थिए । उनी हाल केन्द्रिय कमिटिमा स्थानीय तह समन्वय प्रमुख छन्।

आगामी महाधिवेशनले कांग्रेसको नेतृत्व टुंग्याउने महत्त्वपूर्ण चरण भएकोले जोशीको पत्रकार सम्मेलनले कार्यकर्ताको ध्यान खिचेको छ । उनी आफूलाई ‘देउवा पुस्ताको सिनियर नेता’ का रूपमा प्रस्तुत गरिरहेका छन्, जसले उनलाई आगामी पदाधिकारीको दाबेदारका रूपमा देखाएको छ ।

आजै सार्वजनिक हुने धारणा अनुसार जोशी कुन समूहबाट केन्द्रीय सदस्यका लागि उमेदवार बन्ने भन्ने खुल्ने सम्भावना छ । साथै, आगामी माघमा हुने राष्ट्रिय सभा चुनावमा पनि जोशीले उम्मेदवारी इच्छा व्यक्त गर्ने अपेक्षा गरिएको छ । पत्रकार सम्मेलन दिउसो ३ बजे होटल बेञ्जुमा हुने पत्रकार साजन परियारले जानकारी दिएका छन् ।

Logo