पोखराद्वारा एनपीएलको सुखद् अन्त्य, चितवन ८ विकेटले स्तब्ध

पोखराद्वारा एनपीएलको सुखद् अन्त्य, चितवन ८ विकेटले स्तब्ध

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । पोखरा एभेन्जर्सले जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को सुखद् अन्त्य गरेको छ । प्लेअफको होडबाटै बाहिरिसकेको पोखराले आज आफ्नो अन्तिम खेलमा चितवन राइनोजमाथि ८ विकेटको जित दर्ता गरेको हो ।

चितवनले दिएको १२१ रनको विजयी लक्ष्य पोखराले १९.४ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गर्यो । अर्जुन कुमाल र एडम रोसिङटनको संयमित ब्याटिङले पोखरालाई जितको नजिक पुर्‍याएको थियो। रोसिङटनले आक्रामक ब्याटिङ गर्दै मात्र ४८ बलमा ४ चौका र ५ छक्काको मद्दतले ६५ रनको शानदार इनिङ्स खेले। यद्यपि उनी टोलीको स्कोर १०० रन हुँदा कुशल मल्लको हातबाट धकालको बलमा आउट भए।

रोसिङटनलाई युवा ब्याटर अर्जुन कुमालले उत्कृष्ट साथ दिए। उनले ५१ बलको सामना गर्दै २ चौका र १ छक्कासहित नट-आउट ४२ रन बनाएर टोलीलाई जितसम्म पुर्‍याए। कप्तान कुशल भुर्तेल ४ रनमै आउट भएका थिए।

बलिङमा चितवनका सैफ जैब र रिजान ढकालले १-१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि चितवनले ब्याटिङको निम्तो पाएको थियो। निर्धारित २० ओभरमा ६ विकेटकाे क्षतिमा १२० रन मात्र बनाउन सक्यो।

चितवनले पावरप्ले भित्रै आफ्ना महत्त्वपूर्ण तीन ब्याट्सम्यानलाई सस्तोमा गुमाएपछि टोली दबाबमा आएको थियो। ओपनर देव खनालले एक छेउ सम्हाल्दै ४१ बलमा ३५ रनको संयमित पारी खेले। मध्यक्रममा कप्तान कुशल मल्लले २३ बलमा २३ रन जोड्दै स्कोर अगाडि बढाए।

तर, इनिङ्सको अन्त्यमा विदेशी खेलाडी अल्पेश रमजानीले २२ बलमा ३३ रनको महत्त्वपूर्ण योगदान दिएपछि चितवनको स्कोर सम्मानजनक १२१ रनको लक्ष्यसम्म पुगेको थियाे ।

पोखरा एभेन्जर्सका बलरहरू चितवनको इनिङ्समा हावी देखिए । विशेषगरी बलिङतर्फ पोखराका धनञ्जय लक्ष्मनले किफायती बलिङ गर्दै ३.४ ओभरमा २० रन खर्चेर तीन विकेट लिए। उनलाई विपिन खत्री, रोहित चन्द, र किरण ठगुन्नाले एक-एक विकेट लिएर साथ दिएका थिए।

Logo