गोरखा
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गोरखाको लाप्राकका भूकम्पपीडितका लागि बनाएको एकीकृत नमुना बस्ती आगामी असोजमा हस्तान्तरण हुने भएको छ । धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा निर्माणाधीन बस्ती असोज सम्ममा स्थानीयलाई हस्तान्तरण गर्ने तयारी भइरहेको एनआरएनए अन्तर्गतको साइट म्यानेजर लक्ष्मण अर्यालले बताए । “अहिले मौसमले पनि साथ दिएको छ, निर्माण कार्यले पनि तिब्रता पाएको छ । असोज सम्ममा हामी बस्ती स्थानीयलाई हस्तान्तरण गर्ने तयारीमा छौं,” उनले भने ।
हालसम्म ७४ घरको छाना छाउने काम सकिएको अर्यालले जानकारी दिएका छन् । उनले भने, “छाना हालिएको घरको माथिल्लो तलामा एसी ब्लकको गारो लगाउन बाँकी छ । तल्लो तलाको काम भइसक्यो ।” १६ वटा क्लस्टर बनाएर काम भइरहेको अर्यालले बताए । एकीकृत बस्तीमा १ सय ४० घरका ढोका र ९६ घरका झ्याल सम्मको काम सकिएको छ । १ सय ३६ घरमा ईंटाको गारो लगाउने काम भइरहेको र ३३ घरका लागि ‘प्लटिङ’ गरिएको उनले बताए ।
गुप्सीपाखामा अहिले १५४ नेपाली सेना र एनआरएनएका ६ प्राविधिक सहित १ सय ५ जना बस्ती निर्माणमा खटिएका छन् । निर्माणाधिन बस्तीमा बन्ने घर कसकसको हुने टुंगो लागिसकेको साइट इन्चार्ज अर्यालले बताए । उनले भने, “यहाँ बन्दै गरेको कुन घर कसको भन्ने टुंगो लागिसक्यो । गोलाप्रथाबाट घरको टुंगो लगाइएको हो । तर गाउँले आफैं मिलेर घर साटेर पनि बस्न छुट दिएका छौं ।” एक घरका लागि १५.१ घनमिटर ढुंगा र १.२९ घनमिटर गिटी स्थानीयले उपलब्ध गराएका छन् । गुप्सीपाखाको १८.३२ हेक्टर क्षेत्रफलमा लाप्राक नमुना बस्ती गुरुयोजना अनुसार ५७३ घर बनाउनका लागि २०७३ माघबाट जग खन्न थालिएको थियो ।
नमुना बस्तीमा प्रत्येक घर ३ आना ३ पैसा क्षेत्रफलमा बन्नेछ । सबै एकै प्रकारका २ तले ४ कोठे घर बन्ने लाप्राक नमुना बस्ती गुरुयोजनामा उल्लेख छ । गुरुयोजना अनुसार पहिलो तला सिमेन्ट, इँटा र बालुवाको प्रयोगले बनाइनेछ भने दोस्रो तल्लामा एसी ब्लक प्रयोग गरिनेछ । ट्रस हालेर नीलो जस्ताको छानो लगाइनेछ । घर निर्माणका लागि आवश्यक इँटा बनाउने मेसिन गुप्सीपाखामा नै लगिएको छ ।
कारोबारबाट





























प्रतिक्रिया