काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा पनि साविक विजेता जनकपुर बोल्ट्स पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको एक मात्र खेलमा जनकपुर कर्णाली याक्ससँग ३ रनले स्तब्ध भएको हो ।
दुवै टोली प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेकाे छ ।
कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याउने क्रममा जनकपुर निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२६ रनमै समेटियो ।
आज जनकपुरका लागि ब्याट्सम्यान सञ्जय कृष्णमूर्तिले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक प्रहार गरे पनि टोलीलाई जिततर्फ लैजान सकेनन्।
टिमको ब्याटिङ धरमराएको अवस्थामा ब्याटिङ गर्न आएका सञ्जय कृष्णमूर्तिले ३९ बलमा ५१ रनको महत्त्वपूर्ण योगदान दिए। उनले इनिङ्सलाई एकतर्फी सम्हालेका थिए। यद्यपि, अर्का ब्याट्सम्यान सङ्गीत कुरायले ३२ बलमा २५ रन जोडेर उनलाई साथ दिए पनि बलियो र लामो साझेदारी बन्न नसक्दा टोली १२६ रनमै सीमित हुन पुग्यो।
जनकपुरले सुरुवाती चरणमा ५ रनमै १ विकेट र २९ रनमै ४ विकेट गुमाएर ठूलो दबाबमा आएको थियो। सञ्जय र सङ्गीतबीचको साझेदारीले टोलीलाई १०० रनको आँकडा कटाउन मद्दत गरे पनि, ११६ रनमा सञ्जयको विकेट पतन भएसँगै ठूलो स्कोर बनाउने सम्भावना समाप्त भयो।
जनकपुरका लागि अन्त्यमा ब्याटिङ गर्न आएका जान निकोल लोफ्टी-ईटनले ९ बलमा १३ रन जोड्दै स्कोरलाई केही माथि पुर्याए।
जनकपुरको इनिङ्सलाई सानो स्कोरमा रोक्न विपक्षी बलरहरूले कसिलो प्रदर्शन गरे। विलियम बोसिस्टोले २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले बलिङ गर्ने जनकपुर बोल्ट्सको निर्णयपछि ब्याटिङमा उत्रेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रनको मध्यम स्कोर बनाएको थियाे । कर्णाली याक्सका लागि इमरान शेखले सर्वाधिक ३३ रन बनाए। उनले ३२ बलको सामना गर्दै ३ चौका र १ छक्का प्रहार गरे। यस्तै, तल्लो क्रममा कप्तान साेमपाल कामीले मात्र ११ बलमा १८ रनको आक्रामक योगदान दिँदै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोऱ्याए ।
टोलीका अन्य महत्त्वपूर्ण ब्याटरहरूमध्ये प्रियंक पञ्चालले १६ रन र गुल्सन झाले १९ रनको योगदान दिए।
कर्णालीलाई सानो स्कोरमा रोक्न जनकपुर बोल्ट्सका बलरहरू सफल रहे। खासगरी, ललित राजवंशीले उत्कृष्ट बलिङ गर्दै आफ्नो ३ ओभरमा १६ रन खर्चेर २ महत्त्वपूर्ण विकेट लिए। आदित्य महराले पनि एक ओभरमा ९ रन खर्चिएर २ विकेट लिए । सङ्गीत कुँवरी सबैभन्दा किफायती बलर रहे। उनले ४ ओभरमा मात्र १२ रन दिएर १ विकेट हात पारे ।





























प्रतिक्रिया