काठमाडौं । सन् २०२६ को फिफा विश्वकप फुटबलको नयाँ अध्याय लेख्न आतुर छ । ३ शक्ति राष्ट्र अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त आयोजनामा हुने यो महाकुम्भमा पहिलोपटक ४८ राष्ट्रहरूले प्रतिस्पर्धा गर्दैछन् । ६ वटा राष्ट्रहरु प्लेअफबाट आउन बाँकी नै रहेकै बेला फिफाले खेलको तालिका, समय र कुन रंगशालामा हुने भनेर सूची नै सार्वजनिक गरिसकेको छ ।
फिफाको तालिका अनुसार यस विश्वकपको उद्दघाटन खेल मेक्सिको र दक्षिण अफ्रिकाबिच जुलाई १२ मा राती पौने १ बजे मेक्सिको सिटीको कोयोआकानमा अवस्थित एस्टाडियो एज्टेका रंगशालामा ८३ हजार दर्शकअघि सुरु हुनेछ भने समूहको अन्तिम खेल जोर्डन र अर्जेन्टिनाबिच बिहानको पौने ८ बजे अमेरिकाको टेक्सासमा रहेको एटी एण्ड टी रंगशालामा ८० हजार दर्शकअघि हुनेछ ।
पहिलो पटक ४८ राष्ट्र सम्मेलित हुने यस प्रतियोगितामा हालसम्म ४२ वटा राष्ट्रहरुले पहिले नै टिकट काटिसकेका छन् । जसमध्ये अधिकांश राष्ट्रहरु पुराना, दिंग्गज र उपाधिका दाबेदारका रुपमा हेरिएका राष्ट्रहरु छन् । यस्तोमा यस पटक भने चार नयाँ राष्ट्रहरू केप भर्डे, कुराकाओ, जोर्डन र उज्बेकिस्तानले फिफा विश्वकप इतिहासमै पहिलो पटक डेब्यु गर्दैछन् । यी टिमहरूले पहिलो पटक विश्वकपमा डेब्यु गरेर इतिहास मात्र रचेका छैनन्, बरु विश्वकपको विविधतालाई पनि समृद्ध बनाएका छन् । अझ केप भर्डे र कुराकाओ जस्ता सानो जनसंख्या भएको द्वीप राष्ट्रहरूले त झन के साबित गरेका छन् भने फुटबलमा देशको आकारभन्दा पनि सपना ठूलो हुन्छ ।
यस भिडियोमा हामी नयाँ टिमहरूको यात्रा, प्रमुख खेलाडीहरू र उनीहरुलाई यहाँसम्म पुर्याउन मद्दत गर्ने कोचहरूका बारेमा भन्नेछौँ । साथै, अन्तरमहादेशीय प्लेअफमार्फत विश्वकपमा प्रवेश गर्ने सम्भावना बोकेका सुरिनाम र न्यू क्यालेडोनियाको बारेमा पनि चर्चा गर्नेछौं ।
केप भर्डे
अफ्रिकाको पश्चिमी तटमा अवस्थित केप भर्डेको जनसंख्या जम्मा ६ लाख मात्र रहेको छ । फिफा विश्वकप इतिहासमै दोस्रो सानो देशको रूपमा केप भर्डेले स्थान बनाएको हो ।
सन् १९९० देखि विश्वकप छनोटमा सहभागी यो टिमले ३६ वर्षको अथक प्रयासपछि यो सफलता हासिल गरेको हो । गत अक्टोबरमा इस्वाटिनीलाई ३–० गोलले हराएर केप भर्डेले अफ्रिका छनोटको तेस्रो चरणमा स्थान पक्का गरेपछि उनीहरू स्वतः विश्वकपमा प्रवेश गरेका थिए ।
टिमको प्रशिक्षण पहिलेका कप्तान तथा पूर्व डिफेन्डर बुभिस्टाले सन् २०२० देखि केप भर्डेलाई नेतृत्व गर्दै आएका छन् । त्यस्तै टोलीमा नेदरल्यान्ड्समा जन्मेका ६ जना डच खेलाडीहरू छन् । सन् २०१३ को अफ्रिका कप अफ नेशन्समा उनीहरूले पहिलो पटक सहभागिता जनाएका थिए र २०२४ मा त झन क्वार्टरफाइनलसम्म नै पुगेका थिए । यस्तोमा पहिलोपटक फिफा विश्वकपमा डेब्यु गरेको केप भर्डेले समूह ‘एच’ मा स्पेन, उरुग्वे र साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ । केप भर्डेको पहिलो खेल युरोकप च्याम्पियन स्पेनसँग जुन १५ तारिखको राती पौने ११ बजे हुनेछ ।
कुराकाओ
क्यारिबियनको यो सानो द्वीपको जनसंख्या १ दशमलब ५ लाख मात्र रहेको छ । कुराकाओ विश्वकप इतिहासकै सबैभन्दा सानो देशको रूपमा डेब्यू गर्दैछ । नेदरल्यान्ड्स एन्टिल्सको पूर्व भाग भएको यो राष्ट्रले कन्काकाफ छनोटको तेस्रो चरणमा समूह बी जितेर यो स्थान पक्का गरेको हो । नोभेम्बरमा जमैकालाई २–१ गोलले हराएर कुराकाओले यो इतिहास रचेको थियो । ७८ वर्षीय डच लेजेन्ड डिक एड्भोकाटको प्रशिक्षणमा विश्वकपको टिकट काट्न सफल कुराकाओका कोच यस विश्वककै सर्वाधिक वयोवृद्ध कोच पनि हुन् ।
जोर्डन
मध्यपूर्वको यो राष्ट्रले ४० वर्षको संघर्षपछि विश्वकपमा छनौट हुने सपना पूरा गरेको छ । सन् १९८६ देखि छनोटमा सहभागी जोर्डनले एएफसी छनोटको तेस्रो चरणमा समूह ‘बी’ मा साउथ कोरियालाई पछि पार्दै दोस्रो स्थान हासिल गरेको थियो । यस्तै जुनमा ओमान माथी ३–० गोलले हराउँदै जोर्डनले विश्वकपको टिकट पक्का गरेको थियो । मोरक्कोका पूर्व खेलाडी जमाल सेलामीको प्रशिक्षणमा एशियन कपको फाइनलसम्म पुगेको जोर्डनले अब विश्वकपअन्तर्गत समूह ‘जे’ मा अर्जेन्टिना, अस्ट्रिया र अल्जेरियासँग भिड्नेछ ।
उज्बेकिस्तान
एशियाबाट जोर्डनपछि विश्वकपमा डेब्यु गर्ने दोस्रो नयाँ राष्ट्र उज्बेकिस्तान हो । एएफसी छनोटको तेस्रो चरणमा उनीहरूले विश्वकपका लागि स्थान पक्का गरेका हुन् । गत अक्टोबरमा ५२ वर्षे विश्वकप विजेता इटालियन लेजेन्ड फाबियो क्यानाभारोलाई प्रशिक्षकका रुपमा नियुक्त गरेको उज्बेकिस्तानले फिफा विश्वकपअन्तर्गत समूह ‘के’मा पोर्चुगल, कोलम्बिया र प्लेअफबाट आउने टोलीसँग खेल्नेछ ।
यस विश्वकपमा केप भर्डे, कुराकाओ, उज्बेकिस्तान र जोर्डन मात्र होइन, मार्च २०२६ मा मेक्सिकोमा हुने अन्तरमहादेशीय प्लेअफले दुई थप राष्ट्रका लागि स्थान सुनिश्चित गर्नेछन् । जसमा कन्काकाफबाट सुरिनाम र ओसियनिया फुटबल कन्फेडरेसनबाट न्यू क्यालेडोनियाले विश्वकपमा पहिलो पटक डेब्यु गर्ने सपना बोकेका छन् ।
सुरिनामले कन्काकाफ छनोटमा राम्रो प्रदर्शन गरेता पनि ग्वाटेमालासँगको हारले प्लेअफतर्फ धकेलेको थियो । पाथ २ मा उनीहरूले अब २६ मार्चका दिन बोलिभियासँग सेमिफाइनल खेल्नेछन्, यदि यो खेल जितेको खण्डमा इराकसँग ३१ मार्चका दिन फाइनल खेल्नेछ । यदि यो फाइनल खेलमा सुरिनाम सफल भए, विश्वकपअन्तर्गत समूह ‘आई’ मा फ्रान्स, सेनेगल र नर्वेसँग भिड्नेछन् ।
त्यसैगरी न्यू क्यालेडोनियाले ओसिनियाबाट न्यूजिल्यान्डसँग फाइनल हारेपनि प्लेअफमा छनोट भयो । पाथ १ अन्तर्गत जमैकासँग २६ मार्चका दिन सेमिफाइनल खेल्न लागेको न्यू क्यालेडोनियाले यदि उक्त खेल जितेमा डीआर कङ्गोसँग फाइनल खेल खेल्नेछ । फिफा ¥याङ्किङ १४९ औं स्थानमा रहेको न्यू क्यालेडोनियाले यदि त्यो फाइनल खेल पनि जित्यो भने फिफा विश्वकपमा डेब्यु गर्ने मौका पाउने छ ।





























प्रतिक्रिया