काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको बहुप्रतिक्षित फाइनल खेलमा सुदूरपश्चिम रोयल्स सस्तैमा समेटिएकाे छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सको घातक बलिङसामु १९.१ ओभरमा अलआउट हुँदै ८५ रन मात्र जाेड्न सक्याे ।
रोयल्सको इनिङ्समा कुनै पनि ब्याट्सम्यानले ठूलो साझेदारी गर्न सकेनन्, जसले गर्दा टोली निरन्तर दबाबमा रह्यो। सुदूरपश्चिमले ओपनर विनोद भण्डारीलाई शून्य रन र शेल्डन ज्याक्सनलाई १ रनमा गुमाएपछि दबाबमा परेकाे थियाे ।
टोलीको मध्यक्रम पूर्ण रूपमा धर्मराएको देखियो। १०.४ ओभरदेखि १०.६ ओभरको बीचमा लगातार तीन बलमा ३ विकेट गुमाउँदा रोयल्सको स्कोर ४४/६ को नाजुक अवस्थामा पुगेको थियो। याे ओभरमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरे ।
रोहितले ११औं ओभरको चौथो बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई रुबेन ट्रम्पलम्यानबाट क्याच गराए। दीपेन्द्रले २० बलमा १३ रन जोड्न सके। पाँचौ बलमा रोहितले दीपक बोहरालाई सन्दीप जोराबाट क्याच गराउँदै डकआउट गरे। छैटौं बलमा पुनित मेहरा रोहितको एलबिडब्लूको धरापमा परे। यो सिजनको दोस्रो ह्याट्रिक हो। यसअघि काठमाडाैं गोर्खाजका शाहब आलमले पनि ह्याट्रिक गरेका थिए।
टोलीका लागि ईशान पाण्डेले सबैभन्दा धेरै रन बनाए। उनले ५१ बल खेल्दै १ चौकाको मद्दतमा ३३ रन बनाए।
कप्तान दीपेन्द्र सिंह ऐरीले १३ रन र पुछारका स्कट कुगेलिजनले १० रन जोडे पनि त्यो ठूलो स्कोरका लागि पर्याप्त भएन।
युवा स्पिनर शेर मल्ल र कप्तान रोहित पौडेल ले ३-३ विकेट लिँदै रोयल्सको ब्याटिङलाई ध्वस्त पारे। तीव्र गतिका बलर रुबेन ट्रम्पलमेनले मात्र २ ओभरमा ३ रन खर्चेर महत्त्वपूर्ण २ विकेट लिए ।





























प्रतिक्रिया