काठमाडौं । लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा आज भएको फाइनल खेलमा उत्कृष्ट प्रदर्शनसहित सुदूरपश्चिम रोयल्समाथि ६ विकेटको जित दर्ता गरेर उपाधि आफ्नो पोल्टामा पारेको हो । लुम्बिनीको यो पहिलो उपाधि हो ।
सुदूरपश्चिमले दिएको ८५ रनको झिनो लक्ष्य लुम्बिनीले ९ ओभरमा मात्र ४ विकेटको क्षतिमा पूरा गरेको हो ।
गत सिजन अंक तालिकाको पुछारमा रहेको लुम्बिनीले योपटक कमब्याकमा इतिहास रच्दै उपाधि जितेको हो ।
लुम्बिनी प्लेअफमा स्थान पक्का गर्ने क्रममा अंक तालिकाको चौथो स्थानमा थियो। पहिलो खेल जिते पनि लुम्बिनीले त्यसपछि लगातार तीन खेल गुमायो । तर लिगका पछिल्ला तीन खेल जितेर लुम्बिनी अंक तालिकामा चौथो बन्यो। त्यसपछि एलिमिनेटरमा लुम्बिनीले काठमान्डु गोर्खाज र दोस्रो क्वालिफायरमा विराटनगरलाई पराजित गर्दै लुम्बिनी फाइनलमा पुगेको थियो ।
तर यता सुदूरपश्चिम लगातार दोस्रोपटक उपविजेतामा सीमित बनेको छ । गत सिजन जनकपुर बोल्ट्सले उपाधि जित्दा सुदूरपश्चिम उपविजेता बनेको थियो । सुदूरपश्चिम यो लिगकै सबैभन्दा बलियो टोली थियो । उसले लिग चरणमा ६ खेल जितेर शीर्ष स्थान पक्का गरेको थियो। लिगचरणमा अन्तिम खेलमा भने विराटनगरसँग पराजित भए पनि सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई पराजित गरेर फाइनलमा स्थान पक्का गरेको थियो । तर आज उसको न ब्याट चल्यो न बलिङ ।
आजकाे फाइनल खेलमा ८६ रनको सानो लक्ष्य पछ्याएको लुम्बिनीका लागि ओपनर दिनेश अधिकारीले आक्रामक ब्याटिङ गर्दै जितको आधार तयार पारेका थिए । उनले १३ बलमा १ चौका र ५ छक्काको मद्दतले ४२ रनको विस्फोटक इनिङ्स खेले। उनले आउट हुनुअघि नै लुम्बिनीलाई जितको नजिक पुर्याइसकेका थिए ।
त्यसपछि क्रिजमा कप्तान रोहित पौडेलले १२ बलमा १ छक्का सहित १६ रन जोडे भने विकेटकिपर निरोशन डिक्वेलाले ११ रन बनाएर टोलीलाई लक्ष्यसम्म पुर्याएका थिए ।
लुम्बिनीका बलरमध्ये हेमन्त धामीले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिएका थिए भने अभिनस बोहरा र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिएका थिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सको घातक बलिङसामु १९.१ ओभरमा अलआउट हुँदै ८५ रन मात्र जाेड्न सक्याे । यो एक फाइनल खेलमा बनेको निकै कम स्कोर हो ।
रोयल्सको इनिङ्समा कुनै पनि ब्याट्सम्यानले ठूलो साझेदारी गर्न सकेनन्, जसले गर्दा टोली निरन्तर दबाबमा रह्यो। सुदूरपश्चिमले ओपनर विनोद भण्डारीलाई शून्य रन र शेल्डन ज्याक्सनलाई १ रनमा गुमाएपछि दबाबमा परेकाे थियाे ।
टोलीको मध्यक्रम पूर्ण रूपमा धर्मराएको देखियो। १०.४ ओभरदेखि १०.६ ओभरको बीचमा लगातार तीन बलमा ३ विकेट गुमाउँदा रोयल्सको स्कोर ४४/६ को नाजुक अवस्थामा पुगेको थियो। याे ओभरमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरे ।
रोहितले ११औं ओभरको चौथो बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई रुबेन ट्रम्पलम्यानबाट क्याच गराए। दीपेन्द्रले २० बलमा १३ रन जोड्न सके। पाँचौ बलमा रोहितले दीपक बोहरालाई सन्दीप जोराबाट क्याच गराउँदै डकआउट गरे। छैटौं बलमा पुनित मेहरा रोहितको एलबिडब्लूको धरापमा परे। यो सिजनको दोस्रो ह्याट्रिक हो। यसअघि काठमाडाैं गोर्खाजका शाहब आलमले पनि ह्याट्रिक गरेका थिए।
टोलीका लागि ईशान पाण्डेले सबैभन्दा धेरै रन बनाए। उनले ५१ बल खेल्दै १ चौकाको मद्दतमा ३३ रन बनाए। कप्तान दीपेन्द्र सिंह ऐरीले १३ रन र पुछारका स्कट कुगेलिजनले १० रन जोडे पनि त्यो ठूलो स्कोरका लागि पर्याप्त भएन।
सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनी लायन्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । लुम्बिनीका लागि शेर मल्ल, रुबेन ट्रम्पेलमान र कप्तान रोहित पौडेलले समान तीन/तीन विकेट हात पारे । यस्तै, टीका भन्डारीले एक विकेट लिए ।





























प्रतिक्रिया