कर्णालीमा कम्युनिष्टको आत्मस्वीकारोक्ति : जनतामाझ माफी माग्दै फूके समाजवादको नयाँ बिगुल

कर्णालीमा कम्युनिष्टको आत्मस्वीकारोक्ति : जनतामाझ माफी माग्दै फूके समाजवादको नयाँ बिगुल

केन्द्रबिन्दु
33
Shares

सुर्खेत । नेपाली कम्युनिष्ट पार्टीका नेताहरुले कर्णाली पुगेर जनतासँग माफी मागेका छन् । कहिल्यै नथाक्ने क्रान्तिको नारा बोकेको कर्णालीमा यसपटक कम्युनिस्ट नेताहरू फरक मुहारमा देखिए । नाराभन्दा अघि आत्मालोचना, आरोपभन्दा अघि माफी र सत्ता–शक्तिभन्दा अगाडि ‘सच्चिने प्रतिबद्धता’ बोकेर उनीहरू जनतामाझ आएका उनीहरुले बताएका छन् ।

वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय सन्देश सभामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूले खुला स्वीकार गरेका हुन् । सत्तामा रहँदा जनताको सपना पूरा गर्न नसकेको भन्दै नेताहरुले त्यसको बदलामा माफी माग्दै जेन जी आन्दोलन पछी आँफुहरु सुध्रिएर अगाडी बढेको बताए । त्यस्तै उनीहरुले समाजवादको नयाँ सपना समेत बाँडे।

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भदौ २३ र २४ को जेनजी आन्दोलन लाई पुरानो राजनीतिको निर्णायक मोडका रूपमा व्याख्या गरे। युवा पुस्ताले दिएको दबाबकै कारण आफूहरू “सच्चिने कि सकिने” दोबाटोमा पुगेको र सच्चिने बाटो रोजेको बताए । “जेनजी युवाहरूले हामीलाई गम्भीर चुनौती दिए, हामीले त्यसलाई स्वीकार्यौँ, जेनजीको चेतनालाई आत्मसात गर्ने हामी नै पहिलो हौँ।” उनले भने ।

यस्तै प्रचण्डले जेन जी आन्दोलनकै दबाबका कारण माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १६ कम्युनिस्ट घटकबीच एकताको आधार बनेको भन्दै कर्णालीलाई विद्रोहको ऐतिहासिक आधार मात्र नभई अब आत्मालोचनाको मञ्चका रूपमा पनि व्याख्या गरे।

कर्णाली प्रचण्डका लागि नयाँ भूमि होइन । २०५२ फागुन १ बाट सुरु भएको १० वर्षे सशस्त्र विद्रोहको आधार यही प्रदेश थियो। न्याय, समानता र समृद्धिको सपनामा हजारौँ शहीद, घाइते र बेपत्ता भए । त्यही सपनाले माओवादीलाई सत्ताको शिखरसम्म पु¥यायो, तर निरन्तर सत्तामा रहँदा पार्टी जनताबाट टाढिँदै गयो।

नयाँ पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद बोकेर कर्णाली पुगेका उनले विगतका कमजोरी स्वीकार्दै १६ भन्दा बढी कम्युनिस्ट शक्तिलाई एउटै झन्डामुनि उभ्याउने सङ्कल्प सुनाए । “नेपालको इतिहासमा पहिलो पटक १६ वटा कम्युनिस्ट पार्टी एउटै पार्टीमा केन्द्रित भएका छन्,” उनले भने। एमालेभित्रका केही नेताहरू समेत एकताका लागि संवादमा रहेको दाबी उनले गरे।

सभामा सबैभन्दा अप्रत्याशित प्रहार भने नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङमाथि भयो। प्रायः एमाले अध्यक्ष केपी ओलीमाथि आक्रामक देखिने प्रचण्ड यसपटक कुलमानप्रति खनिए । लोडसेडिङ अन्त्यको जसमा आफूलाई बेवास्ता गरिएको भन्दै उनले घिसिङलाई ‘बैगुनी’ को संज्ञा दिए । “जुन थालमा खायो, त्यही थालमा प्वाल पार्ने काम नगरोस्,” भन्दै उनले लोडसेडिङमुक्त नेपालको निर्णय आफ्नै नेतृत्वमा भएको दाबी गरे र “बुद्धि फिरोस्” प्रचण्डले भने।

सहसंयोजक माधवकुमार नेपालले पनि सत्तामा रहँदा भएका कमजोरी स्वीकारे। भ्रष्टाचार र स्वार्थी प्रवृत्ति अन्त्य नगरी देश समृद्ध नबन्ने भन्दै उनले इमानदार ढङ्गले अघि बढ्ने प्रतिबद्धता जनाए ।

वामदेव गौतम अझ कडा रूपमा प्रस्तुत भए । पटक–पटक सत्ता सम्हाल्दा पनि देश बदल्न नसकेको स्वीकार गर्दै उनले समाजवाद निर्माण गर्न नसके जेल जानसमेत तयार रहेको उद्घोष गरे।
“तीन पटक उपप्रधानमन्त्री भएँ, तर देश बदल्न सकेनौँ,” उनले भने, “६४ लाख घरधुरीमा गएर जनतासँग माफी माग्नुपर्छ।”

भीम रावल भने पुरानै राष्ट्रवादी तेवरमा देखिए। अपर कर्णाली जलविद्युत आयोजना भारतीय कम्पनी जीएमआरलाई सुम्पिएको भन्दै उनले कडा विरोध जनाए। एमाले अध्यक्ष केपी ओलीमाथि उनको आक्रमण झनै तीखो थियो। “आन्दोलन चर्किँदा हेलिकप्टर चढेर भाग्नेले अझै आफू नेता हुँ भन्नु लाजमर्दो हो,” भन्दै उनले जेनजी आन्दोलन दमन गरिएको आरोप लगाए ।

कर्णालीमा भएको यो सभा केवल राजनीतिक सन्देशका लागि मात्र थिएन। माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्माको पार्टी परित्यागपछि कर्णालीमा शक्ति प्रदर्शन गर्नु नेकपा नेतृत्वका लागि प्रतिष्ठाको विषय बनेको थियो। त्यसैले वरपरका क्षेत्रबाट बसमा सर्वसाधारण ल्याइयो, सभा करिब पाँच घण्टा तानियो। तर शीर्ष नेताहरूले शर्माको नाम उच्चारण गर्नसमेत चाहेनन्।

सभाको अन्तिम निष्कर्ष एउटै थियो— अबको बाटो समाजवाद। झलनाथ खनालदेखि वामदेव गौतमसम्म सबै नेताहरूले नेपाली विशेषताको समाजवाद, पूँजीवाद र भ्रष्टाचारको अन्त्य, शिक्षा र स्वास्थ्यमा आम पहुँचलाई पार्टीको नयाँ राजनीतिक दिशा बताए। नेता प्रकाश ज्वालाले आगामी निर्वाचनमा कर्णालीलाई नेकपाको ‘लालकिल्ला’ बनाउने घोषणा गरे।

Logo