एमालेमा पदाधिकारी संरचना फेरिँदै ,उपाध्यक्ष घटाइए, सचिव थपिए

एमालेमा पदाधिकारी संरचना फेरिँदै ,उपाध्यक्ष घटाइए, सचिव थपिए

केन्द्रबिन्दु
96
Shares

काठमाडौं । नेकपा एमालेले तीन महिनाअघि मात्रै पारित गरेको विधान फेरि संशोधन गर्ने निर्णय गरेको छ। एघारौँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले पदाधिकारी संरचनामा पुनः हेरफेर गर्ने निर्णय लिएको हो।

केन्द्रीय कमिटीबाट पारित निर्णय महाधिवेशनको बन्दसत्रमा प्रस्तावका रूपमा पेश गरिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्। संशोधित विधानअनुसार अब एमालेमा १९ सदस्यीय पदाधिकारी संरचना कायम रहनेछ।

नयाँ संरचनामा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहनेछन्। यसअघि भदौमा सम्पन्न विधान महाधिवेशनले पदाधिकारी संख्या घटाएर १५ बनाउने निर्णय गरे पनि अन्तिम अवस्थामा त्यो व्यवस्था लागू नहुने भएको हो।

विधान संशोधनसँगै वरिष्ठ उपाध्यक्ष पद भने पूर्ण रूपमा हटाइएको छ। महासचिव र उपमहासचिवको संख्या यथावत राखिएको छ। दशौँ महाधिवेशनमा पनि एमालेमा १ महासचिव र ३ उपमहासचिव रहने व्यवस्था थियो।

यसपटक उपाध्यक्षको संख्या भने घटाइएको छ। अघिल्लो संरचनामा ६ जना उपाध्यक्ष रहेकामा अब ५ जनामा सीमित गरिएको छ। विपरीत रूपमा सचिवको संख्या बढाएर ७ बाट ९ पुर्‍याइएको छ।

पार्टीभित्र पदाधिकारी र केन्द्रीय कमिटीको आकार घटाउने विषयमा यसअघि पोलिटब्यूरो बैठकमै छलफल चलेको थियो। तर नेतृत्वले अन्ततः संरचना नघटाउने निष्कर्ष निकालेको नेताहरू बताउँछन्।

आजको केन्द्रीय कमिटी बैठकमा पनि फ्लोर खुला भएपछि केही नेताहरूले विधान संशोधनको प्रस्ताव उठाएका थिए। प्रस्ताव पारित भएपछि भने इतर पक्षका नेताहरूले असहमति जनाउँदै विरोध गरेका छन्।

Skip This
Skip This
Logo