एमाले महाधिवेशनमा युवाहरूको वर्चस्व

एमाले महाधिवेशनमा युवाहरूको वर्चस्व

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा डेब्युको तयारीमा रहेका केही नेताहरूको सम्भावना बलियो बन्दै गएको छ। नेतृत्वको ‘राडार’मा परिसकेका यी अनुहारहरूलाई केन्द्रीय सदस्यका रूपमा अगाडि बढाइने संकेत देखिएको छ। हिजोसम्म संशयमा रहेका कतिपय नेताहरू महाधिवेशन प्रतिनिधिमा मनोनयन भएपछि थप उत्साहित भएका छन्।

केन्द्रीय कमिटीमा इन्ट्री गर्न लागेकामध्ये बागलुङ एमालेका अध्यक्ष हीराबहादुर केसी प्रमुख दाबेदारका रूपमा देखिएका छन्। दोस्रो कार्यकालसम्म जिल्लाको नेतृत्व सम्हालिरहेका केसीलाई यसपटक केन्द्रीय सदस्यमा अघि सारिने सम्भावना बलियो रहेको बताइन्छ। युवा संघ उपाध्यक्षको चुनावमा ‘म्यान अफ दि इलेक्सन’ घोषित केसीले पाको अनुभव र युवा जोशको संयोजनले पार्टीलाई थप सुदृढ बनाउने दाबी गर्दै आएका छन्।

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल पनि केन्द्रीय सदस्यको चर्चित अनुहार बनेकी छन्। स्पष्ट वक्ता र मोटिभेसन स्पिकरका रूपमा परिचित डंगोलले मेयर बालेन शाहसँगको सम्बन्धमा कहिले कडा त कहिले समन्वयात्मक भूमिका निर्वाह गर्दै पार्टीभित्र आफ्नो स्पेस बनाएकी छन्। महाधिवेशन प्रतिनिधिमा मनोनयन भएसँगै उनको केन्द्रीय कमिटी प्रवेशको बाटो खुलेको बताइन्छ।

यसैगरी ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्य पनि केन्द्रीय सदस्यमा दाबेदारी प्रस्तुत गर्दै सक्रिय लबिङमा जुटेकी छन्। उनी पनि मनोनयनपछि बलियो उम्मेदवारको सूचीमा परेकी छन्।

१०औँ महाधिवेशनबाट उपाध्यक्ष बनेका दिवंगत नेता सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ पनि केन्द्रीय कमिटीमा इन्ट्रीको तयारीमा रहेका अर्का चर्चित युवा नेता हुन्। इलाम–२ को संसदीय उपचुनावमा सानदार जित हासिल गरेपछि राजनीतिमा उदाएका सुहाङ महाधिवेशन स्थलमा प्रतिनिधिहरूको विशेष आकर्षणको केन्द्र बनेका छन्। धेरै प्रतिनिधिले उनलाई केन्द्रीय सदस्यमा देख्न चाहेको बताएका छन्।

यस्तै, पार्टीभित्र ‘सेलिब्रेटी’ छविका रूपमा चिनिएका अब्दुस मिया पनि केन्द्रीय सदस्यमा इन्ट्रीका लागि पल्ला भारी भएको नेतामध्ये पर्दछन्। २०७९ को निर्वाचनमा गोरखाबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चुनाव लडेका मियालाई पार्टीले महत्त्वपूर्ण भूमिकामा अघि सार्न सक्ने चर्चा छ।

एमालेमा यसपटक ९ जना जिल्लाका अध्यक्षहरू दोहोरिएका छन्। ती सबैलाई केन्द्रीय कमिटीमा समेट्ने सम्भावना बलियो रहेको पार्टी स्रोतले जनाएको छ।

Logo