काठमाडौं । नेकपा एमालेको महाधिवेशनको दोस्रो दिन बन्दसत्र भृकुटीमण्डपमा जारी रहँदा देशभरिबाट आएका प्रतिनिधि तथा कार्यकर्ताहरूले यस महाधिवेशनलाई ‘महाकुम्भ’को संज्ञा दिँदै पार्टीभित्र उत्साह, एकता र भविष्यप्रतिको आशा झल्किएको बताएका छन् ।
महाधिवेशनमा सहभागीहरूले नेतृत्व चयन स्वच्छ प्रतिस्पर्धा वा सर्वसम्मत रूपमा हुनुपर्ने धारणा राखेका छन् । उनीहरूका अनुसार महाधिवेशनले पार्टीलाई अझ एकताबद्ध र सशक्त बनाउने सन्देश दिएको छ ।
पूर्व प्रेस चौतारी अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि गणेश बस्नेतले नेपाली माटो र देशको हितविरुद्ध जाने व्यक्ति एमालेको नेतृत्वमा आउन नसक्ने स्पष्ट पारे । यस्तै, सहभागी माया कुवरले आफू प्रतिनिधि नभए पनि महाधिवेशनमा सहभागी भएको बताउँदै पार्टी अध्यक्षमा केपी शर्मा ओली नै दोहोरिनुपर्ने धारणा व्यक्त गरिन् ।
विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूको मत भने विविध देखिएको छ । कतिपयले वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन जनाएका छन् भने केहीले ईश्वर पोखरेललाई उपयुक्त नेता मानेका छन् । पत्रकार तथा महाधिवेशन सहभागी रमित विकले एमालेले सबै वर्गलाई एकै ठाउँमा ल्याउन सफल भएको उल्लेख गर्दै पार्टी अब युवा–मैत्री बन्दै जाने विश्वास व्यक्त गरे। उनले एमाले अझ बलियो ढंगले अघि बढ्ने बताए ।
महाधिवेशन प्रतिनिधि कल्पना श्रेष्ठले आफूले केन्द्रीय कमिटीमा आकांक्षा नराखे पनि आउने नेतृत्वलाई समर्थन गर्नुपर्ने धारणा राखिन्। प्रतिनिधिहरूले ४० वर्षमुनिका युवा, दलित, अल्पसंख्यक तथा विभिन्न वर्गलाई समेट्दै पार्टी अघि बढेकोमा खुशी व्यक्त गरेका छन् ।
भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनपछि पार्टी झनै बलियो बनेको उनीहरूको भनाइ छ । सुर्खेत अध्यक्ष प्रमोद हमालले एउटै व्यक्ति धेरै पटक अध्यक्ष भइसक्यो भन्दैमा नेतृत्व गर्न नपाउने भन्ने भाष्य गलत भएको दाबी गरे ।
उनले नेकपा एमालेको नेतृत्व गरेर पार्टीलाई राम्रो दिशामा लैजान सक्ने एकमात्र पात्र केपी शर्मा ओली भएको बताए । साथै, उनले भुगोलका आधारमा कर्णाली प्रदेशलाई सचिव पद दिन आग्रह गरे ।
झापाबाट आएका प्रतिनिधि सूर्य उप्रेतीले महाधिवेशन सान्दर्भिक र सफल रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरे। यस्तै, कोशी प्रदेशका सामाजिक विकास मन्त्री पीके पाँचकर्ण राईले विषम परिस्थितिका बाबजुद महाधिवेशन भव्य रूपमा सम्पन्न भइरहेको र यसको माहोल अत्यन्त उत्साहजनक रहेको बताए । महाधिवेशनले पार्टीभित्र एकता, समावेशिता र सुदृढ नेतृत्वप्रतिको भरोसा अझ बलियो बनाएको सहभागीहरू बताउ छन् ।































प्रतिक्रिया