बिहिबार राती उडानका क्रममा मलेसियाको मालिन्दो एयरको विमान चिप्लिएर घाँसे मैदानमा पुग्यो । बोइङ ७३७-९०० विमान उडानका क्रममा पाइलटले प्राबिधिक समस्या देखेपछि रोक्न खोजेका थिए तर पाइलटको प्रयास सफल हुन् सकेन र जहाज चिप्लिएर करिब १३५ फिट तल घाँसेतर्फ लाग्यो ।
घटना लगतै बिमानस्थलको सबै उडान र अवतरण बन्द गरियो । काठमाडौँ अवतरण गर्नुपर्ने ओमान एयरको विमान कोलकाता, फ्लाइ दुबईको दिल्ली, चाइना सदर्नको कोलकाता र मलेसियन एयरको विमान ढाका डाइभर्ट गरियो ।
घाँसे मैदानमा रहेको जहाज तान्न बिहिबार राती नै प्रयास थालिएको त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले बताएका छन् । बिहान विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता ठाकुरले राति दुई फिट तान्दा डोरी नै चुँडिएको जानकारी दिए । बिमानस्थल कार्यालयसँग पर्याप्त डोरी नभएपछि राती बिमान तान्ने काम रोकियो । शुक्रबार बिहान ८ बजे सेनाले ल्याएको डोरीमार्फत बिमान तान्न सुरु भयो ।
करिब ४० मिटरमा रहेको घाँसे मैदानमा भासिएको बिमान रन वेमा ल्याउन करिब १४ घण्टा लाग्यो । नेपाली सेनाका ७०, प्रहरीका ३०, नेपाल वायुसेवा निगमका ३० कर्मचारीले दुई वटा जेसिबी, दुई वटा क्रेन र दुई वटा टोबार प्रयोग गरी विमान तानेका थिए।
यो घटनापछि नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ घण्टादेखि अबरुद्ध छ । आन्तरिक उडान केही समय अघि मात्र सुचारु भएको छ भने यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय उडान सुचारु भएको छैन ।
बिमानस्थलमा यसरी बिमान चिप्लिएको यो नै पहिलो पटक भने होइन । यस अघि टर्किस एयरलाइन्सको विमान पनि एकाबिहानै दुर्घटनाग्रस्त भएको थियो । त्यतिबेला विमानस्थल चार दिन बन्द गरेर १३ भारतीय सैनिकसहित एयरक्राफ्ट रिमुभल किट ल्याइ बिमान हटाएको थियो ।































प्रतिक्रिया