सबै नागरिकलाई सामाजिक सुरक्षामा जोड्न सचेतना बढाउनुपर्नेमा जोड

सबै नागरिकलाई सामाजिक सुरक्षामा जोड्न सचेतना बढाउनुपर्नेमा जोड

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । सामाजिक सुरक्षा कार्यक्रममा सबै नागरिकलाई जोड्न सचेतना बढाउनुपर्ने सरोकारवालाले जोड दिएका छन् ।

राष्ट्रिय सामाजिक सुरक्षा सप्ताह, २०८२ को अवसरमा इन्सपायर नेपाल, सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल र होमनेट नेपालले आयोजना गरेको ‘सबैका लागि सामाजिक सुरक्षा: आधारभूत मानवअधिकार’ विषयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाले त्यस्तो बताएका हुन् ।

त्यस अवसरमा सरोकारवालाले सामाजिक सुरक्षा कोषमा आबद्धता वृद्धि गर्न नागरिकलाई सचेतना जरुरी रहेको कुरामा पनि जोड दिए । कार्यक्रममा बोल्दै सामाजिक सुरक्षा कोषका सहायक निर्देशक चिरञ्जीवी न्यौपानेले योगदानमा आधारित सामाजिक सुरक्षामा श्रमिकलाई आबद्ध गराइएको भएपनि कार्यविधिको जटिलताले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई समेट्न कठिन भएको कुरा बताए । सामाजिक सुरक्षा सबैका लागू गर्नका लागि काम गरिरहेको भन्दै उनले अनौपचारिक क्षेत्रलाई पनि जोड्न काम लागिरहेको बताए । उनले कतिपय कार्यविधिका कारणले पनि समस्या भएको बताए ।

यसैगरी श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अधिकृत रामसुन्दर थापाले विभागले श्रमिकको लेखाजोखा गर्नेदेखि सामाजिक सुरक्षा कोषमा आबद्ध भएको र नभएको विषयमा बेला बखत अनुगमन गर्ने गरेको जानकारी दिए । त्यस अवसरमा प्रस्तुति दिँदै संविधानसभा सदस्य पेम्बा लामाले सामाजिक सुरक्षामा श्रमिकको उपस्थिति अवस्थाबारे कार्यपत्र प्रस्तुत गरे । जसमा उनले अधिकांश महिला श्रमिक सुरक्षा कोषबाट वञ्चित भएको बताउँदै लैङ्गिकमैत्री बनाउन सरकारले विशेष कार्य योजना ल्याउनुपर्नेमा जोड दिए ।

यसैगरी बुढानीलकण्ठ नगरपालिकाका रोजगार संयोजक राजीव गौतमले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा जोड्न बजेट नै छुट्टाएर काम गरिरहेको बताए ।

सामाजिक सुरक्षा नागरिक समाज सञ्जालका अध्यक्ष डोल्मा तामाङले सन् २०१२ देखि सुरु भएको सामाजिक सुरक्षा योजनाले अझै श्रमिकको पहुँचसम्म पुग्न नसकेको बताइन् । यसका लागि जनचेतनालाई नागरिक स्तरसम्म पुर्‍याउने अभियानमा जोड दिनुपर्ने उनको धारणा थियो । यस्तै सञ्जालका राजेन्द्र चौलागाईँले सामाजिक सुरक्षा कार्यक्रम सबैका लागि लागू गर्न राज्य र निजी क्षेत्रले कसरी सहयोग गर्छ भन्ने कुरा पनि महत्त्वपूर्ण हुने बताए ।

त्यस अवसरमा अनौपचारिक श्रमिक क्षेत्रको प्रतिनिधि तारानिधि पन्त, गृह श्रमिक प्रतिनिधि मञ्जु राई, शान्ता थपलिया, मानवअधिकार एलायन्सका अध्यक्ष विदुर सुवेदीलगायतले कतिपय नीति निर्माणमा समस्या हुँदा सामाजिक सुरक्षा कार्यक्रम लागू भएको लामो समय भइसक्दा पनि सबैका लागि बन्न नसकेको बताएका थिए । सामाजिक सुरक्षा कार्यक्रम सबैका लागि हुनुपर्ने उनीहरूको भनाई थियो ।

त्यस अवसरमा राष्ट्रिय सामाजिक सुरक्षा सप्ताहको सन्दर्भमा आयोजना गरिएको क्रियटिभ राइटिङ प्रतियोगितामा प्रथम हुने आरिफ खान, द्वितीय हुने रञ्जना कार्की, तृतीय हुने एञ्जल कार्कीलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो । त्यस्तै सप्ताहव्यापी रूपमा क्‍वीज प्रतियोगितामा पहिलो दिन उत्कृष्ट हुने आर्यन थापा क्षेत्री, दोस्रो दिन उत्कृष्ट हुने रञ्जना कार्की, तेस्रो दिन उत्कृष्ट हुने मोहम्मद आयन मियाँ, चौथो दिन उत्कृष्ट हुने शिवशरण खड्का, पाँचौँ दिन उत्कृष्ट हुने मुकेश अधिकारी, छैटौँ दिन उत्कृष्ट हुने सोनी उप्रेती र सातौँ दिन उत्कृष्ट हुने दिवस खड्कालाई प्रमाणपत्र वितरण गरिएको थियो ।

Logo