विराटनगरमा प्रहरीको ‘मिडनाइट अपरेसन’  दुई क्यासिनोबाट २० जना पक्राउ

विराटनगरमा प्रहरीको ‘मिडनाइट अपरेसन’  दुई क्यासिनोबाट २० जना पक्राउ

केन्द्रबिन्दु
42
Shares

विराटनगर । नेपाली नागरिकलाई प्रवेश निषेध भए पनि विराटनगरका दुई क्यासिनोमा जुवा खेलाइँदै आएको पाइएको छ । मोरङ प्रहरीले आइतबार मध्यरातमा चलाएको ‘मिडनाइट अपरेसन’ अन्तर्गत दुई क्यासिनोका उच्च पदस्थ कर्मचारीसहित २० जना नेपालीलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटुवालको नेतृत्वमा खटिएको टोलीले ‘बिग होटल’ भित्रको च्याम्पियन जोन क्यासिनो र ‘रत्ना होटल’ भित्रको गोल्डेन क्यासिनोमा एकैसाथ छापा मारेको हो।

पक्राउ परेका मध्ये गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्र बहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतम पनि छन्। साथै, रत्ना होटलबाट १४ र बिग होटलबाट ६ जना नेपाली जुवाडे पक्राउ परेका छन्।

नेपालको कानुनले नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा पूर्ण प्रतिबन्ध लगाएको छ। तर, यी क्यासिनोहरूले कानुनको उल्लङ्घन गर्दै लाखौँ रुपैयाँको जुवा खेलाउने गरेको पाइएको छ। एसपी कटुवालका अनुसार, “छापा मार्दा क्यासिनोभित्र नेपाली नागरिकहरू खेलिरहेका थिए । कानुन उल्लङ्घन गर्ने सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको छ ।”

प्रहरीले पक्राउ परेका सबैलाई हिरासतमा राखेको छ र उनीहरूविरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप कानुनी प्रक्रिया अघि बढाउने तयारीमा छ।

Skip This
Skip This
Logo