सरकारलाई डा. केसीको जवाफ- ‘मेरो उपचार आफै गर्छु, जनताप्रतिको कर्तव्य पूरा गर्नु’

सरकारलाई डा. केसीको जवाफ- ‘मेरो उपचार आफै गर्छु, जनताप्रतिको कर्तव्य पूरा गर्नु’

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। डा. गोविन्द केसीले आफ्नो उपचार खर्च आफैँ व्यहाेर्ने भन्दै सरकारलाई नागरिकप्रतिको कर्तव्य पूरा गर्न आग्रह गरेका छन्।शनिबार दिउँसो एक विज्ञप्ति प्रकाशित गर्दै डा. केसीले आफ्नो स्वास्थ्य लाभको कामना गरेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै आफ्नो उपचार खर्च आफैँ व्यहोर्न जवाफ दिएका हुन्।

‘म कोभिड–१९ बाट संक्रमित भएपछि प्रम केपी शर्मा ओलीले दिनुभएको स्वास्थलाभको शुभकामना सन्देशको लागि हार्दिक धन्यवाद दिन चाहन्छु’, केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारले मेरो उपचार खर्च व्यहाेर्छु भनेको सन्दर्भमा भने मेरो उपचार खर्च म आफैँ व्यहाेर्छु बरु सरकारले आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गरोस्।’

डा. केसीले कोरोना संक्रमित दूर दराजका नागरिकलाई निःशुल्क उपचार आवश्यक रहेको भन्दै सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नुभन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्ने बताए।

‘कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक जसलाई निःशुल्क उपचार आवश्यक छ उनीहरुले अहिलेसम्म उपचार पाउन सकेका छैनन्’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसो हुनाले अझै पनि सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नुभन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ।’

डा. केसीले आफूहरुसँग भएका सम्झौता कार्यन्वयन भएको भए देशका दूरदराजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल, मेडिकल कलेज बन्ने र नागरिकले कोरोना साथसाथै सम्पूर्ण रोगहरुको गुणस्तरीय, निःशुल्क, सर्वसुलभ स्वास्थ सेवा पाउने अस्वथा हुने समेत बताएका छन्।

शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका थिए।

उनी अहिले शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा भर्ना भई उपचार गराइरहेका छन्। रुघाखोकी तथा ज्वरो आएपछि बिहीबार गरिएकाे पीसीआर परीक्षणबाट डा. केसीलाई काेराेना संक्रमण पुष्टि भएकाे थियाे।

Logo