कोलम्बो । भारत सरकारले श्रीलङ्कालाई हालै आएको चक्रवात दितवाहबाट भएको व्यापक क्षतिबाट पुनःउत्थान गर्न ४५ करोड अमेरिकी डलर बराबरको मानवीय तथा पुनर्निर्माण सहयोग प्रदान गर्ने घोषणा गरेको छ । भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले मङ्गलबार श्रीलङ्काको भ्रमणका क्रममा उक्त सहयोगको जानकारी दिएका हुन् ।
गत महिना दक्षिण एसियाली टापु राष्ट्र श्रीलङ्कामा आएको चक्रवात दितवाहका कारण ६४० भन्दा बढी मानिसको ज्यान गएको थियो । आँधीसँगै आएको भीषण वर्षाले बाढी र भूस्खलन निम्त्याउँदा ठूलो जनधनको क्षति भएको थियो । विश्व बैंकका अनुसार यस प्रकोपले करिब चार अर्ब डलर बराबरको आर्थिक क्षति पुर्याएको छ, जुन देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब चार प्रतिशत बराबर हो ।
श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार दिसानायकले उक्त चक्रवातबाट २० लाखभन्दा बढी मानिस प्रभावित भएको बताउँदै यसलाई टापुको इतिहासमै सबैभन्दा चुनौतीपूर्ण प्राकृतिक विपद् भएको रूपमा वर्णन गरेका छन् ।
दुई दिने आधिकारिक भ्रमणमा रहेकाे विदेशमन्त्री जयशङ्करले कोलम्बोमा आयोजित पत्रकार सम्मेलनमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पत्र राष्ट्रपति दिसानायकलाई हस्तान्तरण गरेकाे, जसमा ४५ करोड मिलियन डलरको पुनर्निर्माण प्याकेज उपलब्ध गराउने प्रतिबद्धता उल्लेख रहेको जानकारी दिए । उनका अनुसार उक्त सहयोगमध्ये ३५ करोड डलर सहुलियतपूर्ण ‘लाइन अफ क्रेडिट’ का रूपमा उपलब्ध गराइनेछ भने बाँकी १० करोड डलर अनुदानका रूपमा प्रदान गरिनेछ ।
जयशङ्करले चक्रवातपछि भारतले तत्काल रूपमा श्रीलङ्कालाई औषधि, अत्यावश्यक उपकरणसहित एक हजार १०० टन राहत सामग्री पठाएको कुरा पनि स्मरण गराए । “क्षतिको परिमाण अत्यन्त ठूलो भएकाले यातायात तथा सम्पर्क पुनःस्थापना तत्काल प्राथमिकता थियो”, उनले भने । यसका लागि भारतीय सेनाले पोर्टेबल पुल उपलब्ध गराएर सहयोग गरेको विवरण पनि उनले प्रस्तुत गरे ।
उनले भारतले श्रीलङ्कामा भारतीय पर्यटन प्रवर्द्धन गर्ने, लगानी विस्तार गर्ने र अन्य माध्यमबाट आर्थिक क्षति न्यूनीकरणमा सहयोग गर्ने उपायहरू पनि अघि बढाइरहेको जानकारी दिए । “भारतबाट प्रत्यक्ष विदेशी लगानीमा भएको वृद्धिले यो कठिन समयमा श्रीलङ्काको अर्थतन्त्रलाई थप ऊर्जा दिन सक्छ”, उनले भने ।
चक्रवात आएको समयमा श्रीलङ्का सन् २०२२ मा भोगेको गम्भीर आर्थिक सङ्कटबाट क्रमशः बाहिर निस्कँदै थियो । खाद्यान्न, इन्धन र औषधि जस्ता अत्यावश्यक वस्तु आयात गर्न विदेशी मुद्रा भण्डार अत्यधिक खपत भएपछि देश गहिरो सङ्कटमा परेको थियो । सन् २०२३ को सुरुमा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट दुई अर्ब ९० करोड डलरको राहत प्याकेज स्वीकृत भएपछि अर्थतन्त्र केही हदसम्म स्थिर हुँदै आएको छ ।
भारतको पछिल्लो सहयोगले प्राकृतिक विपद् र आर्थिक चुनौती दुवैसँग जुधिरहेको श्रीलङ्कालाई पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणतर्फ अघि बढ्न महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।





























प्रतिक्रिया