तोकिएको जरिवाना नतिरेपछि ६ दलको दर्ता खारेज, अब आयोगमा दर्ता दलको संख्या कति ?

तोकिएको जरिवाना नतिरेपछि ६ दलको दर्ता खारेज, अब आयोगमा दर्ता दलको संख्या कति ?

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । निर्वाचन आयोगले गरेको जरिवाना नतिरेपछि ६ वटा दलको दर्ता खारेज भएको छ ।

आयोगको मंगलबार बसेको बैठकले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा ४ बमोजिम तोकिएको जरिवान नबुझाउने ६ दलको दर्ता खारेज गरेको हो । “लगातार लेखापरीक्षण नबुझाएबापत आयोगले जरिवाना गरेको थियो । जरिवाना नबुझाएको हुनाले राजनीतिक दलसम्बन्धी ऐन, ०७३ बमोजिम खारेज गरिएको हो,” आयोगका राजनीतिक दल महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले भने ।

खारेज हुने दलमा २०७३ सालमा दर्ता भएको अशोककुमार यादव अध्यक्ष रहेको आम आदमी पार्टी नेपाल, दोर्जे लामा रहेको नेपाल राष्ट्रबादी पार्टी र कृष्णगोपाल बञ्जारा अध्यक्ष रहेको आधुनिक नेपाल समाजवादी पार्टी रहेका छन् । यस्तै २०७६ सालमा दर्ता भएको रामबहादुर गुरुग अध्यक्ष रहेको माओवादी जनमुक्ति पार्टी नेपाल, २०७८ मा दर्ता भएको सुदिप रुवाली अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (लोकतान्त्रिक) र भविश्वर पराजुली अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (गौरबशाली) रहेका छन् ।

आज दर्ता खारेज भएका ६ दल र शिव सेना नेपाललाई समेत अन्तिम पटक जरिवाना नतिरेको विषयमा आयोगले स्पष्टीकरण सोधेकोमा शिव सेना नेपालले स्पष्टिकरणसहित जरिवाना तिरेकोले उक्त दलको दर्ता कायमै रहेको र बाँकी ६ दलको दर्ता खारेज गरिएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार ६ दलको दर्ता खारेज भएसँगै अब आयोगमा १३७ दलको दर्ता कायम रहेको छ । जेनजी आन्दोलनपछि २५ वटा नयाँ दल दर्ता भएपछि आयोगमा दर्ता हुने दलको संख्या १४३ पुगेको थियो ।

Logo