६ करोड ३६ लाखको लगानीमा पुनर्निर्माण हुँदै कमलपोखरी : ४५ प्रतिशत काम सम्पन्न

६ करोड ३६ लाखको लगानीमा पुनर्निर्माण हुँदै कमलपोखरी : ४५ प्रतिशत काम सम्पन्न

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माणको सन्तोषजनक नभएको भन्दै काममा ढिलासुस्ती नगर्न ठकेदार कम्पनीलाई निर्देशन दिएका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर–१ मा पुर्ननिर्माण भैरहेको कमलपोखरीको अनुगमनका लागि शुक्रबार त्यहाँ पुगेका प्रमुख शाक्यले यस्तो निर्देशन दिएका हुन् । ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको उक्त पोखरी निर्धारित समयभित्रै सम्पन्न गर्ने गरी कामलाई द्रुतरुपमा अघि बढाउन प्रमुख शाक्यले निर्देशन दिए ।

‘काममा ढिलासुस्ती भयो भन्ने गुनासो आएपछि म आफैँ स्थलगत अनुगमनका लागि आएको हुँ,’ शाक्यले भने, ‘काठमाडौँ महानगरपालिकाले आर्थिक अभाव हुन दिदैन । तपाईँहरुले यो वा त्यो बहानामा काम रोक्न पाउनु हुन्न ।’

स्थलगत अनुगमनमा पुगेका प्रमुख शाक्यले करीब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमल पोखरीको स्वरुप अब फेरिने दाबी समेत गरे । ‘कमल पोखरीको अस्तित्व जोगाउँदै पुर्ननिर्माणको काम अघि बढाएका छौँ,’ शाक्यले भने, ‘महानगरपालिकाको केन्द्रभागमा रहेको यो पोखरी पुर्ननिर्माणपछि काठमाडौँवासीका लागि आकर्षकस्थल बन्नेछ ।’

उनले छठको बेलामा व्रतालुहरुलाई बस्न र छठ मनाउनका लागि समेत सहज हुने गरी पोखरी निर्माण भैरहेको पनि जानकारी दिए । पोखरी कला र संस्कृतिलाई जोड्ने खालको होस भन्ने चाहना रहको पनि उनले बताए।

सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले कमलपोखरी वास्तुशास्त्रमा आधारित भएर निर्माण हुने जानकारी दिए । आयोगका अनुसार पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइने छ भने पोखरी निर्माणमा नेपाली ईंट्टा र दर्शन ढुंगा प्रयोग गरिनेछ । पोखरी आसपासमा नेपालीपन झल्काउन झिँगटीका छाना रहने छन् । त्यसैगरी विभिन्न ठाउँमा चैत्य राख्ने र पाँचवटा मकरधार निर्माण पनि आयोगले जानकारी दिएको छ ।

काठमाडौं महानगरपालिका सहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाले अब बन्ने कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिकस्थल रहने जानकारी दिए ।

उनले अहिले अनधिकृत संरचना हटाउने लगायतका काम भैरहेको भन्दै मंसिर मसान्तसम्म काम सम्पन्न गर्ने गरी सम्झौता भएको भन्दै आवश्यकता र औचित्यका आधारमा केही समय म्याद गर्न सकिने बताए । तर, विभिन्न वाहनामा काम रोक्ने र समयमा काम सम्पन्न नगरे कारवाही गर्ने समेत चेतावनी थापाले दिनुभयो ।

इन्जिनियर प्रेम श्रेष्ठले बृद्धबृद्धालाई समेत ध्यानमा राखेर निर्माणको ढाँचा तयार पारिएको भन्दै सो पोखरीमा रात्रीकालिन वत्तीको समेत व्यवस्था गरिएको जानकारी दिए। निर्माण व्यवसायी अर्जुन कँडेल र इन्द्र सिटौलाले ४५ प्रतिशत काम सम्पन्न भएको भन्दै अनुगमनमा पुगेका प्रमुख शाक्य, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अघिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्ष भरतलाल श्रेष्ठ लगायतका सामू फागुन मसान्तसम्ममा काम सम्पन्न गरी महानगरपालिकालाई हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Skip This
Skip This
Logo