संसदीय चुनावमा बालेनको रोजाइ काठमाडौं क्षेत्र नं. १

संसदीय चुनावमा बालेनको रोजाइ काठमाडौं क्षेत्र नं. १

केन्द्रबिन्दु
96
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भएको ७ बुँदे सहमतिअनुसार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अब संसदीय राजनीतितर्फ प्रवेश गर्ने भएका छन्।

आइतबार बिहान भएको सहमतिपत्रको बुँदा नम्बर ४ अनुसार रास्वपाको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुने उल्लेख गरिएको छ।

काठमाडौं महानगरको मेयर पदको कार्यकाल करिब १६ महिना बाँकी रहँदै बालेन शाहले राजीनामा दिएर संसदीय यात्रामा लाग्ने निर्णय गरेका छन्। त्यसअनुसार उनले माघ ६ गतेभित्र काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिनुपर्नेछ। प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न स्थानीय तह वा प्रदेश तहको जनप्रतिनिधिले उम्मेदवारी दर्ताअघि पदबाट राजीनामा दिनुपर्ने कानुनी प्रावधान रहेको छ।

बालेन शाह २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा ६१ हजार ७६७ मत प्राप्त गरी काठमाडौं महानगरकाको मेयरमा निर्वाचित भएका थिए।

केही दिनअघि उनले झापा क्षेत्र नं. ५ बाट नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्ने बताएका थिए। तर पछिल्लो समय भने उनले राजीनामा दिएर काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको बुझिएको छ।

मेयर शाह काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित तीनकुने, गैरीगाउँको अन्नपूर्ण केन्द्रका मतदाता हुन्। यद्यपि उनको मतदाता नामावली रहेको क्षेत्र काठमाडौं क्षेत्र नं. १ मा पर्दैन ।

बालेनले तयारी गरेको काठमाडौं क्षेत्र नं. १ अन्तर्गत काठमाडौं महानगरपालिकाका वडा नम्बर १०, ११, २९ र ३१ पर्दछन्। यस निर्वाचन क्षेत्रमा पुरानो बानेश्वर, नयाँ बानेश्वर, बुद्धनगर, शान्तिनगर, मीनभवन, शंखमूल, मैतीदेवी, अनामनगर, त्रिपुरेश्वर, डिल्लीबजार, थापाथली, माइतीघर, भोटेबहाललगायत क्षेत्र समेटिएका छन्।

हरेक निर्वाचनमा चर्चामा रहने यो क्षेत्र बालेनको पनि रोजाइमा परेको हो। २०४८ सालको निर्वाचनमा एमालेका मदन भण्डारीले नेपाली कांग्रेसका कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका थिए। मदन भण्डारीको निधनपछि विद्यादेवी भण्डारी पनि यही क्षेत्रबाट निर्वाचित भएकी थिइन्। २०६४ सालयता भने यस क्षेत्रबाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह लगातार निर्वाचित हुँदै आएका छन्।

काठमाडौं जिल्लाको सबैभन्दा सानो तर घना बस्ती रहेको क्षेत्र नं. १ मा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूको उल्लेख्य उपस्थिति रहँदै आएको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रमा १ सय ३२ जना उम्मेदवार थिए । सोही निर्वाचनको विवरणअनुसार कुल मतदाता संख्या ४५ हजार १८ रहेको थियो भने २२ मतदान स्थल र ५२ मतदान केन्द्र रहेका थिए। हाल केही मतदाता थप भएका छन्।

२०७९ सालको स्थानीय तह निर्वाचनमा बालेन शाहले वडा नम्बर १० (बानेश्वर) बाट २ हजार ७३३ मत प्राप्त गरेका थिए। वडा नम्बर ११ (त्रिपुरेश्वर) बाट १ हजार ११५ मत, वडा नम्बर २९ (डिल्लीबजार) बाट १ हजार ६६८ मत तथा वडा नम्बर ३१ (शान्तिनगर) बाट आफ्नो चुनाव चिन्ह ‘लौरो’मा ४ हजार १५८ मत प्राप्त गरेका थिए। यी सबै वडामा उनले प्रतिस्पर्धी उम्मेदवारभन्दा झन्डै दोब्बर मत प्राप्त गरेका थिए।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका प्रकाशमान सिंहले ७ हजार १४३ मत प्राप्त गरेका थिए भने राप्रपाका रविन्द्र मिश्रले ७ हजार १८ मत पाएका थिए। स्थानीय तह निर्वाचनमा भने बालेन शाहले यस क्षेत्रबाट कुल ९ हजार ६७४ मत प्राप्त गरेका थिए। त्यसकारण पनि यो उनको रोजाइमा परेको हो ।

Skip This
Skip This
Logo