काठमाडौं ।
सत्तारूढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको विवाद पत्रमार्फत आरोप÷प्रत्यारोपमा पुगेको छ । प्रधानमन्त्री ओली र दाहाल एकअर्काले गुटबन्दी गरेको आरोपदेखि अध्यक्षद्वयबीच भएको छलफलमा एकले अर्कोलाई दोषी देखाउँदै कृत्रिम कुरा गरेको आरोपसम्म लगाएका छन् । नेकपामा पछिल्लो पटक उत्पन्न विवादका बीच दुई अध्यक्षबीच भएका पत्राचारको शृंखला यहाँ प्रस्तुत गरिएको छ।
२२ कात्तिकः प्रधानमन्त्रीलाई सचिवालयका ५ नेताको पत्र
कार्यकारी अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले कात्तिक २२ मा ‘केन्द्रीय सचिवालयको बैठक बोलाउनेबारे’ भन्दै नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई पत्र बुझाए । उक्त पत्रमा प्रधानमन्त्री ओलीमा व्यक्तिवाद हावी भएको, स्थायी कमिटीका निर्णयलाई निरन्तर उल्लंघन गरेको, प्रधानमन्त्रीकै कारण कर्णाली प्रदेशमा समस्या उत्पन्न भएको, कोभिड–१९ महामारी नियन्त्रण गर्न नसकेको, पर्सामा पार्टी कार्यकर्ता हत्या हुँदा गुटगत संरक्षण गरेको लगायत आरोप समेटिएको थियो।
पाँच नेताले हस्ताक्षर गरी ओलीलाई बुझाइएको पत्रमा प्रधानमन्त्री ओलीमाथि यस्तो आरोप छ
‘सचिवालय बैठक बोलाउन कार्यकारी अध्यक्ष प्रचण्डले बालुवाटार पुगेर अनुरोध गर्दा प्रधानमन्त्रीले एकाएक पार्टी एकता समाप्त भयो, आआफ्ना पार्टी चलाउन लागौं भनेर ठाडो जवाफ दिनुभयो। फेरि पनि उत्तेजनामा नआउन अनुरोध गर्दै जेजे भन्नुपर्ने हो, सचिवालयको बैठकमा छलफल गरेर टुंगो लगाऔं भन्दा सचिवालय तपाईंको गुट हो, स्थायी कमिटी हुल्लडबाज कमिटी हो र केन्द्रीय कमिटी सडकछाप कमिटी हो। यिनीहरूको बैठकको के आवश्यकता भन्दै पार्टीका यी सर्वोच्च निकायलाई अपमान गर्न थाल्नुभयो। त्यत्ति मात्रै होइन, यी सबै कमिटीमा तपाईंको बहुमत छ, मैले यी कमिटीहरूको बहुमतलाई मान्दै मान्दिनँ पनि भन्नुभयो।
कार्यकारी अध्यक्षको हैसियतले बैठक वोलाउँछु र छलफल चलाई समस्या समाधान गर्न पहल गर्छु भन्दा त्यसो गरेकै दिन पार्टी फुट्यो भनेर आफूले लिने बताउनुहँुदै बैठक बस्न असहमति जनाउनुभयो। कार्यकारी अध्यक्ष नमान्ने भावको अभिव्यक्ति दिनुभयो।’
२७ कात्तिकः दाहाललाई प्रधानमन्त्रीको जवाफ (अन्य सचिवालय सदस्यलाई पनि बोधार्थ पठाइएको)
प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई लिखित रूपमा १० पृष्ठको पत्र लेखे । २२ कात्तिकमा दाहाल लगायत नेताहरूले लगाएको आरोपमा प्रतिउत्तर दिँदै ओलीले सामूहिक रूपमा नेताहरूले दिएको पत्रमा उठाइएका विषयले आफूलाई अत्यन्त गम्भीर र संवेदनशील बनाएको बताएका छन्।
दाहालसहितका नेताले पत्रमा लगाइएको आरोपमा ओलीले मूलतस् तीनवटा कुरा प्रस्ट पार्दै दाहाललाई जवाफ दिएका छन्। स्थायी समिति बैठकको निर्णय मैले अक्षरशः पालना गरेको छु भन्दै प्रधानमन्त्रीले आफू र अर्का अध्यक्ष दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा भएका छलफलका बारेमा फेहरिस्त लेखेका छन्।
२०७७ भदौ २६ पछि सचिवालय बैठक अघि र पछि भएका अध्यक्ष प्रचण्ड र मेराबीचका दर्जनौं भेट यही निर्देशन कार्यान्वयनका लागि भएका थिए। सचिवालयका बैठकहरूमा सरकार सञ्चालन तथा पुनर्गठन र केही संवैधानिक राजनीतिक नियुक्तिबारे भएका छलफल पनि कमरेडहरूलाई स्पष्ट नै छ। बैठकमा मेरो जिम्मामा रहेका कामका आधार तयार गरी दुई अध्यक्षले आपसी परामर्शमा तत्काल सरकार पुनर्गठन गर्ने विषय टुंग्याउने सहमति भएको ओलीले लेखेका छन्।
मन्त्रिमण्डल पुनर्गठनमा दाहालसँग तीन विकल्प (पहिलो, सबैलाई राजीनामा गराएर केही पुरानासहित नयाँ नियुक्ति) दोस्रो, एक अवधि पूरा गरेकालाई बिदा गरेर नयाँ मन्त्री नियुक्त गर्ने र तेस्रो, खाली रहेका मन्त्रालयमा नियुक्त गरेर दसैं र तिहारपछि विस्तारित रूपमा पुनर्गठन मा छलफल भएको र त्यसमा कुरा मिल्न नसकेको पनि ओलीले पत्रमा लेखेका छन्।
आफूसँगको छलफलमा एउटा कुरा र अन्य नेताहरूसँग फरक फरक कुराको ब्रिफिङ दाहालले गरेको ओलीको आरोप छ।
दाहालले सचिवालय सदस्यहरू ईश्वर पोखरेल र रामबहादुर थापालाई हटाउने भन्नुभयो। एउटै कमिटीका सहयोद्धालाई मैले कसरी हटाउन सक्छु र भनें मैले एउटै कमिटीका लाई । त्यसपछि कुरा मिलेन, अन्तिममा तीन जना थप गर्ने कुरा भयो। अन्तिममा विष्णु पौडेललाई मात्र गर्नुस्, अरू नगर्नुस् भन्नुभयो। मैले राष्ट्रपतिकहाँ नाम पठाउने तयारी गरिसकेको थिएँ।
राजनीतिक नियुक्तिमा दुई जना राजदूत (बेलायत र अमेरिका) सल्लाहले नै हो। अर्को राजदूत समावेशी वनाउन थपिएको हो। यसमा अक्षरशः कार्यान्वयन गर्न तयार छु म मेरो तर्फबाट। कहीँकतै कमी भएको भए खुला छलफल गरेर सच्याउन तयार छु। स्थायी समितिले यो मात्र नभई अर्को निर्णय पनि गरेको छ, पार्टी कामको १५ दिनभित्र टुंग्याउने भन्ने निर्णय पनि छ। त्यो विषयमा कार्यकारी अध्यक्षले मसँग कहाँ राय लिनुभयो रु मेरो असहमति कहाँ रह्यो ? मैले कहाँ असहयोग गरेँ ? केही भएको छैन।
प्रधानमन्त्री ओलीले सबै गडबडीको जिम्मेवार आफूलाई करार गरिरहेका नेताहरूले निरन्तर २, ४ जनाको समूहबन्दी, अझ गुटबन्दी किन जारी राख्नुभयो भन्दै प्रश्न पनि गरेका छन्। मसँग भेट गर्नुअघि बैठक बसी गुटगत एजेन्डा तय गर्ने, त्यसको आधारमा अड्को थाप्ने, अनि भेटपछि ब्रिफिङ गर्दै अर्को अड्को थपाइको निरन्तर शृंखला किन जारी छ ? ओलीले प्रश्न गरेका छन्। ओलीले पत्रमा दाहाललाई खुमलटार निवासलाई गुटको हेडक्वार्टर नबनाउन पनि आग्रह गरेका छन्।
ओलीले महाधिवेशनबाट आफू अध्यक्षमा नउठ्ने र आगामी चुनावबाट प्रधानमन्त्रीको उम्मेदवार पनि नबन्ने भन्दै छिटोभन्दा छिटो महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न चाहेको पनि पत्रमा स्पष्ट पारेका छन्। तर, यसमा किन हतारिनु पर्यो भन्दै उनले स्थायी समितिमा निर्णयअनुसार पार्टी प्रचण्ड र सरकार आफूले चलाउने सहमतिमा आफू प्रतिबद्ध रहेको बताएका छन्।
नेताहरू किन यसरी हतारिनु भयो भन्दै ओलीले पटक–पटक प्रधानमन्त्री, मन्त्री र पार्टी नेतृत्व गरिसकेका नेताहरू युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार हुनुहुन्छ, त्यसका लागि म तयार छु भन्ने सन्देश पनि पत्रमार्फत दिएका छन्।
विचारमा पनि कोही हिजो जनयुद्धमा लागे, कोही जनताको बहुदलीय जनवाद भन्नेतिर लागे। त्यसमा पनि अब ठोस गरेर जानुपर्ने ओलीले बताएका छन् । उनले प्रचण्डलाई प्रश्न गर्दै भनेका छन्, केही दिनको कचपच, एकखाले सहमति, त्यसको २, ४ दिनपछि फेरि उही कचपचको शृंखलामा हामी कहिलेदेखि छौं र कहिलेसम्म रहने ? कमरेडहरू यो तमसाबाट अझै आजित हुनुभएको छैन ? देश, जनता र समग्र पार्टी पंक्तिले हामीबाट गरेको अपेक्षा यही हो ? कमरेड प्रचण्ड मलाई बेला–बेला भन्ने गर्नुहुन्छ-मलाई फकाउनुहोस् न, म फकिने मान्छे, फकिन्छु नि । कसरी र के भन्दा कमरेड फकिनुहुन्छ ? भन्नुस् न त। मुलुकको समृद्धिका लागि जनताको खुसियालीका लागि, नेपाली कम्युनिस्ट आन्दोलनको अग्रगतिका लागि पार्टीलाई थप सुढृढ गर्नका लागि हुन्छ। म तपाईंलाई फकाउन तयार छु। ल मैले फेरि फकाएँ, आउनुहोस् गुटबन्दी र दाउपेच छाडौं, पार्टीलाई एकजुट बनाऔं।’ अन्नपूर्णबाट































प्रतिक्रिया