५ ठाउँवाट चुनाव लडेका प्रचण्ड ९ जिल्लाबाट सिफारिस

५ ठाउँवाट चुनाव लडेका प्रचण्ड ९ जिल्लाबाट सिफारिस

केन्द्रबिन्दु
66
Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र बनेको छ । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम ९ जिल्लाका प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस भएका छन् । १० वर्ष जनयुद्द लडेर शान्ति प्रक्रियामा आएपछि ५ ठाउँबाट चुनाव लडेका प्रचण्ड यो पटक ९ जिल्लाका १० निर्वाचन क्षेत्रबाट सिफारिस भएका छन् ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा रोल्पा र काठमाडौं –१० बाट विजयी भएका उनी २०७० मा सिरहा र काठमाडौं–१० बाट चुनाव लडेका थिए । सिरहाबाट चुनाव जिते भने पनि काठमाडौंमा उनी तेस्रो भए । २०७४ सालमा नेकपा एमालेसँग एकता गरी चितवनबाट चुनाव लडे भने २०७९ को निर्वाचनमा गोरखा–२ बाट विजयी भएका थिए ।

२०६४ यता कुनै पनि निर्वाचन क्षेत्रमा दोहोर्याएर चुनाव नलडेका प्रचण्ड १० निर्वाचन क्षेत्रबाट सिफारिस भएका क्षेत्रमध्ये कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने निर्णय गरिसकेका छैनन् ।

नेपाली राजनीतिमा यतिका धेरै स्थानबाट सिफारिस हुने प्रचण्ड नै पहिलो व्यक्ति हुन् । भर्खरै मात्र नेकपा समाजवादीसँग पार्टी एकता गरेका प्रचण्डले पार्टीभित्र आफ्नो लोकप्रियता कायम रहेको सन्देश दिनका लागि पनि यस्तो गरेको हुनसक्ने राजनीतिक वृतमा र स्वयं उनकै पार्टीमा समेत चर्चा हुने गरेको छ । राजनीतिक विश्लेषकहरूका अनुसार यो अभ्यास नितान्त नौलो होइन । प्रचण्डको विगतको निर्वाचन इतिहास हेर्दा पनि त्यस्तै देखिन्छ ।

कहाँ-कहाँबाट भए सिफारिस ?

प्रचण्डको नाम रोल्पाबाट पहिलो नम्बरमा राखेर वर्षमान पुन, कुलप्रसाद केसी, जयपुरी घर्तीलगायतलाई सिफारिस गरिएको छ । यसैगरी मधेस प्रदेशको महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस भएको छ । प्रचण्डसहित मधेस प्रदेशको नेकपा माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेका भरतप्रसाद साहको नाम सिफारिस गरिएको छ ।

प्रचण्डको जन्मस्थान कास्की–३ बाट पनि उनको नाम सिफारिस भएको छ । उनीसँगै सोही क्षेत्रबाट उनकी बुहारी सिर्जना त्रिपाठीको नाम पनि सिफारिस भएको छ । सिर्जना प्रचण्डका छोरा स्वर्गिय प्रकाश दाहालकी जेठी श्रीमती हुन् । उनीसहित केन्द्रीय सदस्यहरू रामजी बराल ‘जीवन’ दुर्गा विक, एकीकृत समाजवादीका तत्कालीन प्रदेश संयोजक कृष्ण नेपाली, क्षेत्रीय संयोजक भीम क्षितिज, रत्नकुमारी गुरुङ, गोविन्दप्रसाद अधिकारी, भानुभक्त अधिकारी, भोजराज पौडेल, बलराम सुवेदी, प्रेम पौडेल र गणेश आचार्य पनि उम्मेदवार आकांक्षीका रूपमा सिफारिस भएका छन् ।

यस्तै, प्रचण्ड बागमती प्रदेशको नुवाकोट क्षेत्र नं. १ बाट पनि सिफारिस भएका छन् । सो क्षेत्रमा गत निर्वाचनमा माओवादी र कांग्रेसका साझा उम्मेदवार हितबहादुर तामाङले जितेका थिए ।

पूर्वप्रधानमन्त्री प्रचण्ड सिन्धुली निर्वाचन क्षेत्र नं. २ बाट पनि चुनाव लड्नको लागी सिफारिस भएका छन् । सो क्षेत्र माओवादीका राजन दाहालले चुनाव जितेको क्षेत्र हो ।

रामेछाप जिल्लाबाट पनि प्रचण्डलाई चुनाव लड्नका लागी सिफारिस गरिएको छ । गत सो क्षेत्रमा निर्वाचनमा मओवादी र कांग्रेस गठबन्धनबाट कान्छाराम तामाङले चुनाव जितेका थिए । त्यस्तै, गोरखा–१ र २ बाट पनि सिफारिस भएका छन । प्रचण्डले विगतमा आफ्नो क्षेत्र कहिल्यै सुरक्षित गर्न सकेका छैनन्। २०६४ सालदेखि अहिलेसम्म आइपुग्दा एक पटक चुनाव जितेको क्षेत्रमा उनी दोहोर्याएर गएका छैनन्। गोरखा २ उनले यसअघि नै चुनाव जितिसकेको क्षेत्र हो ।

सुदूरपश्चिमको कैलाली निर्वाचन क्षेत्र नं. ३ बाट पनि प्रचण्डको नाम सिफारिस गरिएको छ । यो क्षेत्र माओवादीको पकट क्षेत्र मानिए पनि अघिल्लो निार्वचनमा रेशम चौधरीको पार्टीले जितेको थियो । हाल रेशम र उनकी श्रीमती रञ्जिता श्रेष्ठ पार्टी विभाजन गरी चुनावी तालमेलका लागी रञ्जिता प्रचण्डसँगै सहकार्य गरिरहेकी छन् ।

यसैगरी प्रचण्डको नाम सुनसरी–४ बाट पनि सिफारिस भएको छ । उक्त क्षेत्र कांग्रेसका नेता ज्ञानेन्द्र कार्कीले जितेको क्षेत्र हो । १० स्थानबाट सिफारिस भएका प्रचण्डले भने यसपटक चुनाव कहाँबाट लड्ने भन्ने बारेमा कुनै निर्णय लिएका छैनन् । उनले यसबारेमा अहिले केही बताएका छैनन् ।

Skip This
Skip This
Logo