वीरगन्ज
बलात्कारका घटना बढेपछि पर्सा प्रहरीले मङ्गलबार देखि जबरजस्ती करणी अपराध अनुसन्धान तथा नियन्त्रण नामक अभियान थालेको छ । पर्सामा चालु आर्थिक वर्षको साउन देखि चैत १५ गते सम्म बलात्कारका १८ घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार साउन देखि चैत १५ गते सम्म जिल्लामा जबरजस्ती करणीका ११ र जबरजस्ती करणी उद्योगका सात जाहेरी परेका छन् । आर्थिक वर्ष २०७३,०७४ मा पर्सामा जबरजस्ती करणीका १० र जबरजस्ती करणी उद्योगका ११ जाहेरी परेका छन् ।
वीरगन्जको घण्टाघर चोकमा मङगलबार जिल्ला प्रहरी कार्यालय पर्साले सचेतनामुलक कार्यक्रम गरेर थालेको अभियान पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले उद्घाटन गरे । कार्यक्रममा सहभागी वक्ताले पर्सामा अधिकांश बलात्कार सम्बन्धि घटना ग्रामिण भेगमा हुने गरेकाले पर्सा प्रहरीले थालेको अभियान ग्रामीण भेगमा केन्द्रित गर्नु पर्ने सुझाव दिए । बलात्कार जघन्य अपराध मात्र नभएर मनोरोग पनि भएकाले विद्यालय शिक्षामै बालिका र किशोरीलाई सबल र सक्षम बनाउने खालका पाठ्य सामाग्रीको व्यवस्था गर्नु पर्नेमा उनको जोड छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सिंहले सामाजलाई सुसूचित गराउन नसकेका कारण बलात्कारका घटनामा बढेको बताए ।
पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले नारीहरु समाजका गहना र इज्जत भएकाले समाजका हरेक व्यक्तिले सम्मान गर्नु पर्ने बताए । हिन्दु, मुस्लिम लगायत धर्ममा नारीलाई सम्मानित स्थान दिएको उल्लेख गर्दै उनले भने, ‘समाजले नारीलाई सम्मान गर्ने संस्कार विकसित गर्न सक्यो भने बलात्कारका घटनामा धेरै हद सम्म कमी आउँछ ।’
अन्नपूर्णबाट





























प्रतिक्रिया